२३ माघ २०८२, बिहिवार

झापा क्षेत्र नं. १ ः मतदाता फकाउँदै दलहरु

२३ माघ २०८२, बिहिवार
Image

झापा, २२ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढेको छ । यहाँका प्रमुख राजनीतिक दलहरू यतिबेला भुइँतहसम्म संगठन चलायमान तुल्याउँदै मतदाता फकाउने अभियानमा केन्द्रित देखिएका छन् ।

यस क्षेत्रमा यसपटक १३ वटा राजनीतिक दल र दुई जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिनु भएको छ । नेपाली कांग्रेसले यसपटक जिल्ला उपसभापति केशवराज पाण्डेलाई चुनावी मैदानमा उतारेको छ । कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आगामी फागुन ४ गतेबाट मात्रै औपचारिक प्रचारप्रसारका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । अहिले पार्टीको आन्तरिक संगठनलाई चुस्त र व्यवस्थित बनाउँदै वडा तहसम्म प्रचार कार्यालय खोल्ने तयारीमा जुटिरहेको उल्लेख गर्दै उहाँले बदलिदो राजनीतिक परिस्थितिमा पार्टीसँगै देश बदल्ने धारणा र योजना बोकेको कारण पार्टीप्रति मतदाताकोे आकर्षण बढिरहेको बताउनुभयो ।

नेपाल कम्यूनिस्ट पार्टी (एमाले) ले स्थानीय बौद्धिक व्यक्तित्व रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीका अनुसार पार्टीले अहिले वडास्तरीय अगुवा कार्यकर्ता भेला र निर्वाचन परिचालन समिति निर्माणलाई तीव्रता दिएको छ । गाउँ वस्तीमा विकास र समृद्धिको अभियानमा एमाले नै चाहिन्छ भन्ने जनताको बुझाइ रहेको उहाँले दावी गर्नुभयो । कार्कीले युवा, विद्यार्थी, महिला र मजदुरका सुझावका आधारमा चुनावी अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मेचीनगर अध्यक्ष राजन चिमरियाले अहिलेको चुनावलाई जनतामाथि थपिएको ऋणको भारको रूपमा मतदाताले व्याख्या गर्ने गरेको बताउनुभयो । उहाँले सुशासन कायम गर्ने प्रतिबद्धतासहित पार्टीले युवा उम्मेद्वार अशेष घिमिरेलाई चुनावमा उम्मेद्वार बनाएको बताउनुभयो । हाल जनताका समस्या बुझ्ने र राजनीतिक परिस्थितिबारे बुझाउने काममा पार्टीका नेता–कार्यकर्ता व्यस्त रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसक्षेत्रमा पूर्व सांसद निशा डाँगीलाई उम्मेदवार बनाएको छ । रास्वपा नेता ऋषि तिम्सिनाका अनुसार पार्टीले अहिले वडा–वडाबाट सुझाव संकलन गरी ‘वाचा पत्र’ तयार पार्ने काम गरिरहेको जानकारी दिनुभयो । 

मतदाताले पुराना दलहरूबाट भ्रष्टाचार नियन्त्रण हुन नसकेको गुनासो गरिरहेकाले भ्रष्टाचार उन्मूलन र सुशासनलाई नै रास्वपाले मुख्य चुनावी एजेन्डा बनाएको उहाँको भनाई छ ।

अरु दलभन्दा फरक बताउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र स्थापना र संघीयता खारेजीको मुद्दा बोकेर घरदैलो सुरु गरेको जनाएको छ । 

राप्रपा केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले ठूला दलप्रति जनताको वितृष्णा बढ्दो रहेकाले राप्रपालाई जनताले विकल्पका रूपमा हेरेको दाबी गर्नुभयो ।

निर्वाचन कार्यालय झापाका अनुसार यस क्षेत्रमा कूल एक लाख ३१ हजार ६७ मतदाता रहेका छन् । जसमा ६५ हजार ८५८ पुरुष र ६५ हजार २९ महिला छन् । यसपटक थपिएका १० हजार ६९२ नयाँ मतदातालाई सबै दलले निर्णायक शक्तिका रूपमा हेरेका छन् । 

झापा निर्वाचन क्षेत्र नं. १ मा मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नं. गरी चार वटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० गरी दुई वटा वडा समेटिएको छ । जहाँ ४३ मतदानस्थल र १४५ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उम्मेद्वारहरुले औपचारिक रूपमा भोट माग्नका लागि निर्वाचन आयोगले तोकिदिएको समय आउन अझै केही दिन बाँकी छ । तथापि दल तथा उम्मेद्वारहरु भित्री रूपमा मतदाता रिझाउने र संगठन बलियो बनाउने काममा व्यस्त देखिन्छन् ।

यसअघिको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कानुन मन्त्री अग्नी खरेललाई पराजित गर्नुभएको थियो ।