२६ माघ २०८२, आइतवार

इस्ट होराइजनको ‘करियर उत्सव’मा विद्यार्थी र अभिभावकको आकर्षण

२६ माघ २०८२, आइतवार
Image

मेचीनगर, २५ माघ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयले अभिभावक तथा विद्यार्थीका लागि एक दिवसीय ‘करियर उत्सव’ सम्पन्न गरेको छ ।

एसइइ तहपछि विद्यार्थीले के कस्ता विषयहरु अध्ययन गर्न सक्छन् भन्ने जानकारी गराउने उद्देश्यले नेपालमै विद्यालयको तर्फबाट पहिलोपल्ट आयोजित उक्त ‘करियर उत्सव’मा १३ विभिन्न बिधाका स्टलहरु राखिएका थिए ।

विद्यालय परिसरमा राखिएको हरेक स्टलमा करियर काउन्सिलिङका लागि विषयविज्ञको टोली सहभागी रहेका थिए । मेचीनगर, विर्तामोड लगायत झापाका विभिन्न विद्यालयमा अध्ययनरत् लगभग पाँच सय विद्यार्थी तथा अभिभावकले उत्सवमा राखिएका स्टल अवलोकन गरेर करियरका बारेमा जानकारी लिएका थिए ।

विद्यालयका प्रिन्सिपल सञ्जिव राईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन नेपाल पत्रकार महासंघका पूर्व महासचिव एवम् अग्रज पत्रकार चन्द्र भण्डारीले गर्नु भएको थियो ।

उहाँले ‘करियर उत्सव’ आम विद्यार्थी र अभिभावकका लागि भविष्य रोज्न सघाउने अभूतपूर्व अवसर भएको धारणा व्यक्त गर्नु भएको थियो । विद्यार्थीलाई असल शिक्षा प्रदान गर्नुका साथै उच्च शिक्षाका लागि विषय र करियर रोज्न इस्ट होराइजनले गरिरहेको लगानी र मिहेनत अरु विद्यालयका लागि अनुकरणीय रहेको समेत उहाँले बताउनुभयो ।

उत्सवमा पत्रकारिता, कानून, फार्मेसी, इन्जिनियरिङ, व्यवसाय, चिकित्सा, खेलकुद, चित्रकला, बैंकिङ लगायतका करियर बारे जानकारी दिने अलगअलग स्टल राखिएका थिए । ती क्षेत्रमा ख्यातिप्राप्त गरेका सफल व्यक्तिहरुले विज्ञको रुपमा स्टलमा आउने अभिभावक तथा विद्यार्थीलाई करियरका बारेमा जानकारी दिएका थिए ।

कानून सम्बन्धी स्टलमा कानून विषयको पढाई र त्यसबाट प्राप्त हुने फाइदाका बारेमा बुझ्न विद्यार्थीले अधिक चासो राखेको र आफुले जानकारी गराएको वरिष्ठ अधिवक्ता अशोक पोखरेलले बताउनुभयो ।

पत्रकारिता विषयको स्टलमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिकी विशेष समाचारदाता अम्बिका भण्डारी र लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीले विषयविज्ञको रुपमा विद्यार्थी एवम् अभिभावकहरुलाई परामर्श प्रदान गर्नु भएको थियो ।