मेचीनगर, २६ माघ । प्रतिनिधिसभा सदस्य पदको झापा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार खान्द्रुक करुवाले नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार अशेष घिमिरेलाई समर्थन जनाउँदै आफ्नो उम्मेद्वार फिर्ता लिएको घोषणा गर्नु भएको छ ।
मेचीनगर वडा नं. ७ निवासी करुवाले आज साँझ पत्रकारहरुको उपस्थितिमा उक्त घोषणा गर्नु भएको हो ।
घोषणा लगत्तै पत्रकारहरुलाई उपलब्ध विज्ञप्तिमा उहाँले नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार इन्जिनियर अशेष घिमिरेलाई समर्थन जनाएको र आफ्ना समर्थक एवम् शुभेच्छुकहरुलाई तारा चुनाव चिह्नमा मतदान गर्न अपिल गर्नु भएको छ ।
उक्त कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नं. १ चुनाव परिचालन कमिटीका संयोजक श्यामवीर लिम्बुले श्रमजीवी जनताको समर्थनमा उभिएको पार्टीका उम्मेद्वारलाई समर्थन जनाउँदै करुवाले आफ्नो स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनु भएकोमा धन्यवाद दिनु भएको थियो ।
सो अवसरमा पार्टीका उम्मेद्वार घिमिरेले आफुलाई समर्थन जनाउने करुवालाई पार्टीको चुनाव चिह्न अंकित पिनब्याच लगाइदिनु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका सहसंयोजक वीपी भट्टराई, राजु दाहाल, कृष्णकौशल सिटौला लगायतको उपस्थिति रहेको थियो ।
उम्मेद्वारी फिर्ता लिने करुवा चिया श्रमिक हुनुहुन्छ ।
