मेचीनगर, २३ फागुन । मेचीनगर लेडी जेसीजले राससकी विशेष समाचारदाता अम्बिका भण्डारी लगायत विभिन्न क्षेत्रका १५ जना महिलाहरुलाई आज उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ ।
अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर जेसीज सचिवालयमा उक्त सम्मान कार्यक्रम गरिएको थियो ।
सम्मानित हुनेहरुमा बम्हाकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी मुख्य सञ्चालिका अनिसा दिदी, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, अधिवक्ता लक्ष्मी खनाल, पत्रकार अम्बिका भण्डारी र महिला अधिकारकर्मी राधा प्रधान कार्की रहनु भएको छ ।
स्काउटकर्मी भुवन सुब्बा, नाट्यकर्मी कविता नेपाल, उद्यमी पुनम प्रधान राई, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य रिया शर्मा र सेवा निबृत्त शिक्षक हरिमाया लिम्बुलाई समेत सम्मान गरिएको छ ।
धुलाबारी जेसीजकी पूर्व अध्यक्ष लक्ष्मी राई, मेचीनगर नगरपालिकाका कर्मचारीद्वय पवित्रा सुब्बा, पवित्रा बस्नेत, मेचीनगर लेडी जेसीजका लागि जग्गा दान गर्नु हुने जगतकुमारी खनाल र लेडी जेसीजको दीर्घकालीन परियोजनामा समन्वय गरी सहयोग गर्नु हुने गंगा परियार समेत सम्मानित हुनु भएको छ ।
मेचीनगर लेडी जेसीजकी अध्यक्ष रीता श्रेष्ठ प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, प्रमुख अतिथि उपप्रमुख उप्रेती, सम्मानित सुभद्रा भट्टराई र पत्रकार ज्ञानेन्द्र निरौलाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मेचीनगर लेडी जेसीजकी कार्यकारीणी उपाध्याक्ष नविना डाँगीले स्वागत मन्तव्य गरेको कार्यक्रम महासचिव कल्पना उप्रेती प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।