झापा, ९ चैत । चराविद् देबेन्द्र कुमार खरेल नेतृत्वको टोलीले मेची अञ्चलका पाँचथर र ताप्लेजुङ जिल्लामा चरा पर्यटनको सम्भावनालाई खोज अध्ययन सम्पन्न गरेको छ ।
खोज र अनुसन्धानको पाटोबाट चरा पर्यटनको सम्भावनालाई थप परिणाममुखी वनाउन पर्यटन कार्यालय कार्यालय काँकरभिट्टासँग सहकार्य गरी चराविद तथा क्यामरापर्सनको टोलीले ती दुई जिल्लामा खोज अभियान सञ्चालन गरेको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र कुमार खरेलले बताउनुभयो ।
उहाँले अभियानमा चरा पर्यटन तथा प्रवर्धनको हिसावले महत्वपूर्ण चराहरु अभिलेख भएको जानकारी दिनुभएको छ । उहाँले विभिन्न श्रोतबाट अभिलेख भएका साथै अधिकांश चराहरुको तस्विरहरु अत्याधुनिक मिररलेस क्यामरा सहितको सहायताले पनि लिइएकाले अन्तिम चराहरुको नामको सूची बनाउने कार्य भइरहेको जानकारी दिनुभयो ।
खोज अध्ययनकै क्रममा यो टिमले गत चैत्र ५ गते विहिवार विहान सबेरै पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–३, क्षेत्रका एकै स्थानमा, तोरिगाँडा परिवारका, पूर्वी नेपालका निम्ति दुर्लभ चराहरु फुस्रोकोखे तोरिगाँडा र कैलोकण्ठे तोरिगाँडा फेला पारेर रेकर्डका निम्ति तस्विर समेत खिच्न भ्याएको खरेलले बताउनु थियो ।
टोलीका नेतृत्वकर्ता खरेलका अनुसार यी दुर्लभ चराहरु मेची अञ्चलमै तस्विरका साथ रेकर्ड हुनु एक विशेष उपलब्धि हो र रेकर्ड मेची अञ्चलकै पहिलो हुनसक्छ ।
यो रेकर्ड गर्ने टोलीमा देवेन्द्रकुमार खरेल, कोशी टप्पुबाट वरिष्ठ चराका गाइड अनिश तिम्सिना, चरामा अनुसन्धान गरिरहेका इलामका फोटोग्राफर प्रज्ज्वल खवास रहनु भए पनि सो समयमा टिमका अन्य सदस्यहरु पाँचथरका जीवन राई र मोरङका सूर्य सुवेदी भने काम विशेषले फिदिममा रहनुभएको थियो ।
अनुसन्धान यात्राबाट प्राप्त भएका निकै महत्वपूर्ण रेकर्डहरु अभिलेख भएको र पर्यटन कार्यालयलाई बुझाइने उहाँले बताउनुभयो ।