झापा, १२ चैत । कोभिड–१९ को महामारीपछि उत्पन्न आर्थिक संकटका कारण बन्द रहेको शिवसताक्षी–११ झिलझिलेस्थित पर्यटकीय स्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।
स्थानीय उद्यमी राजकुमार संग्रौलाको रु. ५० करोडभन्दा बढीको एकल लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो । पार्कमा मनोरञ्जनका लागि जिपलाइन, वेभ पुल, स्विमिङ पूल, एड्भेन्चर स्लाइड, किड्स पुल, वाटर एक्टिभिटी स्टेशन, कृत्रिम गुफा र आकर्षक मूर्तिकलाका संरचनाहरू रहेका छन् ।
“अहिले ती सबै संरचनाहरु पुनः सञ्चालनमा ल्याएका छौं,” पार्कका सञ्चालक संग्रौला भन्नुहुन्छ– “पर्यटकीय विकासको सम्भावना देखेर ठूलो लगानी गरेका थियौं । कोरोना महामारीपछिको अवस्थाले बन्द भएको थियो । फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौं ।”
तीन बिगाहा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सातवटा भूकम्प प्रतिरोधात्मक भवन, दुईवटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा डिलक्स आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चारवटा सभा हल छन् ।
कोरोना महामारीपछि मुलुकका धेरै व्यवसाय पलायन भए तापनि आफूहरु हार नमानी पुनरुत्थानमा लागेको संग्रौला बताउनुहुन्छ । पार्कमा परिवारसहित आउनु भएको इलाम निवासी सुमन धितालले पार्कको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तब्य रहेको बताउनुभयो । यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उहाँले बताउनुभयो ।
स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीको कोशी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनु खुशीको विषय भएको बताउनुभयो । पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने र रोजगारी सिर्जना हुने उहाँको भनाई छ ।
सञ्चालक संग्रौलाले आगामी २०८३ वैशाख महिनासम्ममा रु. तीन करोडको कारोबार गर्ने लक्ष्य राखिएको बताउनुभयो । पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटक र भारतको विभिन्न स्थानबाट समेत बाह्य पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो ।