१ मंसिर २०८३, सोमवार

हात्ती प्रभावित क्षेत्रको धान काट्न खेतमै पुगे सुरक्षाकर्मी र जनप्रतिनिधि

१ मंसिर २०८३, सोमवार
Image

झापा, ३० कात्तिक । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीस्थित आफ्नो धानखेतमा आइतवार सुरक्षाकर्मीको ताँती देख्दा स्थानीय लक्ष्मी घिमिरेलाई सुरुमा कुनै अनौठो लागेन । किनकि यस क्षेत्रमा जंगली हात्ती धपाउन सुरक्षाकर्मीको उपस्थिति सामान्य भइसकेको थियो । 

तर, जब सुरक्षाकर्मीले हातको बन्दुक बिसाएर हँसिया समाउँदै खेतका गरामा धान काट्न थाले, तब उनी आश्चर्यमा परे । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली यसपटक हात्ती धपाउन मात्र होइन, पाकेको धान भित्र्याउन खेतमा उत्रिएको थियो ।

वर्षभरिको छाक टार्ने अन्नबाली भित्र्याउने बेला हुलका हुल जंगली हात्तीले बाली सखाप पार्ने हो कि भनेर पिरोलिएका स्थानीय किसानलाई धान काट्न सुरक्षाकर्मी आउँदा ठूलो राहत भएको छ ।

“रातैपिच्छे जंगली हात्ती बस्तीमा छिरेका छन्,” घिमिरेले राहतको सास फेरेको बताउँदै भन्नुभयो– “मुखमा आएको धान रातभरमै नष्ट गरिदिने हो कि भन्ने ठूलो चिन्ता थियो । आज सुरक्षाकर्मी र जनप्रतिनिधि नै खेतमा आएर सघाएपछि ठूलो राहत मिलेको छ ।”

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार अहिले किसानलाई धान थन्काउने चटारोसँगै खोजेको बेला ज्यालादारी श्रमिक पाउन मुस्किल छ । त्यसमाथि चाडपर्वको बेला र हात्तीको निरन्तर त्रासले किसान चिन्तामा थिए ।

“अहिले धान छिटो थन्क्याउन सकिएन भने जंगली हात्तीले खेतमै खाएर र कुल्चिएर ठूलो क्षति पुर्याउँछ,” वडाध्यक्ष कार्कीले भन्नुभयो– “यस्तो असहज परिस्थितिमा सुरक्षाकर्मीको साथले किसानलाई नसोचेको खुशी दिलाएको छ ।”

आइतवार मात्रै नेपाल प्रहरीको बाहुनडाँगी चौकी र सशस्त्र प्रहरी बलको बाहुनडाँगी बीओपीबाट खटिएका १८ जना सुरक्षाकर्मीले किसानको खेतमा श्रमदान गरेका छन् । धान काट्ने यस अभियानमा वडाध्यक्ष कार्की र मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीसमेत प्रत्यक्ष सहभागी थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले किसानले धानबाली पूर्ण रूपमा नथन्काउञ्जेल भारतबाट हात्तीको प्रवेश रोक्न विशेष सुरक्षा रणनीति अपनाइएको जानकारी दिनु भएको छ । प्रशासनकै निर्देशनमा सुरक्षाकर्मीहरूले किसानलाई धान काट्न सघाउन थालेको उहाँको भनाइ छ ।

प्रजिअ पोखरेलको नेतृत्वमा नेपाली सेनाको अरिदमन गण, सशस्त्र प्रहरी बलको २ नं. गण तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखसहितको उच्च सुरक्षा अधिकारीको टोलीले गत शुक्रवार मात्रै हात्ती प्रवेश गर्ने बाहुनडाँगी क्षेत्रका मुख्य नाका तथा गौडाहरूको स्थलगत निरीक्षण गरेको थियो ।

धान भित्र्याउने समयसम्म हात्ती नियन्त्रण र किसानको सहयोगार्थ सुरक्षाकर्मी, जनप्रतिनिधि, युवाहरूको स्वयम्सेवी समूह (आरआरटी) तथा मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिको सहकार्यमा यो अभियान आवश्यकता अनुसार निरन्तर जारी रहने वडाध्यक्ष कार्कीले बताउनु भएको छ ।