२१ माघ २०७९, शनिवार

आसामभित्रको नेपाल

हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुर्ख्यौली संस्कृति

२५ पुष २०७९, सोमवार
Image

झापा, २२ पुस । साठी वर्ष अघि बर्माबाट बुवासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल रेडिको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिदै गरेको भेटिनुभयो ।

“बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री जाडो हटाउन चाहिँ यो तामुल नचपाई हुँदैन,” भारतको आसाम प्रान्तको नेपालीभाषी बहुल उदालगुढीको नेपालपाडास्थित दाहाल निवासमा पुग्दा उहाँले सुनाउनुभयो–“बर्मादेखि आसामसम्म सयौं गाईगोठ पालेर गाखिर (दुध) बेच्दै जीवन बिताइयो, अब बुढेसकालमा यही आँगन परदेश भो ।”

जीजुबाजेहरु नेपालको तेह्रथुमबाट मुग्लान भासिने क्रममा बर्मा र आसामतिर पुगेको सुनाउँदै उहाँले अहिले नेपालतिर आफन्तहरु भए तापनि आफ्नो चाहिँ देश भनेकै आसाम भएको बताउनुभयो ।

भूटान र अरुणाचलको नजिक दूरीमा रहेको आसामको उदालगुढी भीम दाहाल जस्तै लाखौं नेपालीको सघन बसोबास भएको जिल्ला हो । त्यहाँको नेपालपाडा, रौता लगायतका क्षेत्रहरुमा ठूला ठूला नेपाली बस्ती छन् । नेपालीभाषीको हजारौं घरहरु भएको नेपालपाडाको बाक्लो बस्ती पुग्दा जोकोहीलाई ‘आसामभित्रको नेपाल’ अनुभूति हुन्छ ।

नेपालपाडा पनि पूर्व, पश्चिम, दक्षिण र उत्तर गरेर बिभिन्न बस्तीमा बाँडिएको छ । यहाँका पन्चान्ब्बे प्रतिशत बासिन्दा नेपालीमूलका छन् । पुराना बासिन्दामध्येका दाहाल भन्नुहुन्छ–“सबै जातिका नेपाली मिलीजुली बसेका छौं । तर, सबैभन्दा धेरै चाहिँ क्षेत्री नै छौं ।” त्यहाँका नेपालीले आफुलाई गोर्खा वा रैथाने आसामी जातिको रुपमा चिनाउँछन् । उनीहरु नेपाललाई पुर्ख्यौली थलोको रुपमा माया गर्न रुचाउँछन् ।

नेपालीबाहेक त्यहाँ आदिबासी बोडो (मेचे), कछाडे (आसामी), बंगाली (मुस्लिम), आदिबासी सन्थाल लगायतका जातिको बसोबास छ । नेपाली बस्तीको बीच बीचमा अरु जातिको थोरै घरबास भएको हुँदा उनीहरु पनि नेपाली भाषा र रहनसहनमा घुलमिल भइसकेका छन् ।

पश्चिम नेपालपाडामा ५७ वर्ष अघि जन्मिएको बताउने गणेश न्यौपानेले १२ वर्षसम्म अरुणाचल प्रान्तको एउटा जिल्ला अदालतमा जागिरे जीवन बिताउनुभयो । जागिरबाट अवकाश भएपछि उहाँ पूर्व नेपालपाडामा आरामको जीवन बिताइरहनु भएको छ ।

“दुईवटा छोरा बैङ्गलोरमा कम्प्युटर चलाउने चाकरी (जागिर) गर्छन्, बुहारी हामीसँगै घरमा छिन्,” थलामा लहिनो गाई र बाछी स्याहार्दै गरेको अवस्थामा भेटिनुभएको न्यौपानेले सुनाउनुभयो–“जिन्दगी अच्छासँग चलिरहेको छ । छुट्टिमा छोराहरु आएको बेला नेपाल गएर पशुपतिनाथको दर्शन गर्ने इच्छा छ ।”

पाँच बिगाहा माटो (जग्गा) र एउटा मारुती कार भएको बताउँदै उहाँले बारीभरि तामुल (सुपारी)का बोट हुर्किरहेको र त्यसबाट मनग्ये आम्दानी हुने गरेको जानकारी दिनुभयो । गोठमा गाई, गोरु र बाच्छाबाच्छी धेरै पालिएका थिए । जागिरबाट अवकाश हुँदा पाएको एकमुष्ठ पैसा र छोराहरुले बैङ्गलोरबाट महिनैपिच्छे पठाउने पैसाले घर व्यवहार सुखैसँग चलिरहेको उहाँको भनाई छ । 

खेतीकिसानी गर्दै आउनुभएको पूर्व नेपालपाडाका हिरा क्षेत्रीले खाली ठाउँ मासिदै गएको कारण गाईबस्तु पाल्न कठिनाई हुँदै गएको गुनासो सुनाउनुभयो । नेपालपाडाका हरेक नेपालीका गोठमा बँधुवा गाईबस्तु देखिन्थे । “खोला किनार र जंगल छेउछाउ पहिला पहिला खाली जग्गा धेरै हुन्थ्यो, तर अहिले सबैतिर मानिसको बसोबासले भरिभराउ भइसक्यो,” क्षेत्रीले भन्नुभयो–“अब आफ्नै ग्वाली र आँगनमा गाईबस्तु बाँधेर प्वाली (धानको पराल) र घाँस दिनुको बिकल्प छैन ।”

आसाममा बस्ने अधिकांश नेपालीको घर सानो र भुइँतलाको हुन्छ । नेपालमा जस्तै उनीहरु संयुक्त परिवारमा बाजेबज्यैदेखि नातिनातिनासम्म मिलेर बस्छन् ।

इतिहासको कुनै कालखण्डमा नेपालदेखि डुल्दैफिदै आसाम पुगेका नेपालीहरु अहिले पनि पुर्खाले जस्तै गाईबस्तु पाल्छन् र खेती किसानी गर्छन् । परम्परागत पेशा नछाडेका उनीहरुमध्ये थोरै नेपालीले मात्र व्यापार र जागिरे जीवन रोजेका छन् ।


नेपालीहरु यसरी भए रैथाने 

इतिहासकारहरुका अनुसार ब्रह्मापुत्र र धनसिरी नदीको उर्वर र फराकिलो किनारमा अठारौं शताब्दीको सुरुवाततिर नै गाईपालन गर्न नेपालीहरु आसाम पुगेका थिए । त्यसबेलाको खोरिया (जंगल) फडानी गरेर नेपालीहरुले आसामलाई गुल्जार र उर्वर खेतीयोग्य बनाएको मानिन्छ । अंग्रेजको शासनबाट स्वतन्त्र हुनुभन्दा धेरै अघिदेखि नै बसोबास गरेका कारण आसामे नेपालीहरु आफुलाई प्रवासी नभएर रैथाने भूमिपुत्र ठान्दछन् ।

सन् १८२४ देखि १८२६ सम्म बर्मासँग भएको भीषण युद्धमा परिचालन गर्न अंग्रेजहरु (इस्ट इन्डिया कम्पनी)ले गोर्खा सैनिकको ठूलो संख्यालाई आसाम पुर्याएका थिए । उसबेला बर्मेली मूलका शासक रहेको अलग राज्य आसाम अंग्रेजसँगको युद्धमा बर्मा पराजित भएपछि अंग्रेज अधिनस्थ भयो । युद्धपश्चात गोर्खा सैनिकको रुपमा रहेका नेपालीहरु आसाममै बसोबास गरेको इतिहासमा उल्लेख छ ।

सन् १८५३ मा आसाममा चियाखेती प्रारम्भ हुँदा र सन् १८८९ तिर डिगबोईमा तेलखानी फेला परेपछि कामदारको रुपमा हजारौ नेपालीलाई अंग्रेजहरुले लगेका थिए । ती नेपाली पनि आसाममै पसिना बगाउँदै रैथाने भएको मानिन्छ । कोइलाखानी र अरु काम गर्न बर्मा (म्यानमार), भोटाङ (भूटान), अरुणाचल, मेघालय लगायतका स्थानमा पुगेका नेपालीहरु समेत ब्रह्मपुत्र र धनसिरी नदीको मनमोहक किनारमा बस्ती बसाउँदै रमाउन पुगे ।

आसामे धरतीलाई उर्वर बनाउने नेपालीहरु अंग्रेज शासनमा फौजी, चियाखेती, खानी, कृषि र पशुपालनमा मात्र सीमित रहेनन् । अंग्रेजविरुद्ध सञ्चालन भएको आजाद आन्दोलन (स्वतन्त्रता संग्राम)मा नेपालीहरु प्रत्यक्ष रुपमा सामेल भए । छविलाल उपाध्याय आसामका पहिलो भारतीय स्वतन्त्रता सेनानी मानिनुहुन्छ ।

अधिकांश युवा काम खोज्दै सहरतिर

आसामको राजनीतिक, सामाजिक र आर्थिक विकासमा सम्मानित एवम् उल्लेख्य योगदान पुर्याएका आसामेली नेपालीहरु शताब्दियौंदेखि कृषि र पशुपालन पेशाकै वरिपरि रुमल्लिरहेका छन् । केहीले सहरमा सुरक्षा गार्ड र विभिन्न किसिमका जागिर गरे तापनि कृषिमै अल्झिरहनुमा नेपाली समुदायमा शिक्षा र चेतनाको कमी नै मुख्य कारण हो ।

“पढेर जागिर पाउन गाह्रो छ, त्यही भएर अहिलेका युवाहरु हाइस्कुलको पढाई सिध्याएपछि सहरतिर चाकरी खोज्नतिर जान थालेका छन्,” उदालगुढीको धनसिरीघाटमा छोटाहात्ती (सानो गाडी)को चालक इन्द्र बस्नेत भन्नुहुन्छ–“नेपालको जस्तो अरब र यूरोपतिर काम गर्न जाने चलन आसामतिर छैन । उही गाईबस्तु पाल्नुपर्यो, कि त खेतीपाती छँदैछ ।”

बस्नेतले खेतीपाती छाडेर गाडी किनेको र त्यसकै चालक आफै बनेर जीविका चलाइरहेको जानकारी दिनुभयो । उहाँ नेपालीहरुलाई कुनै समस्या पर्दा सहयोग गर्ने सामाजिक काममा पनि समय दिनुहुँदोरहेछ ।

आसामका नेपाली युवाका लागि दक्षिण भारतको बैङ्गलोर पहिलो रोजगारीको गन्तब्य भएको र त्यसपछि गुवाहाटी र अरु सहर जाने गरेको बस्नेतले बताउनुभयो । सहरमा गएर उनीहरु सुरक्षा गार्ड, होटलको कुक, वेटर, पसल र गोठको कामदार काममा लाग्ने गरेका छन् ।

नेपालपाडाका चन्द्र दाहाल आसामको राजधानी गुवाहाटीस्थित स्प्रिङ भ्याली नामक स्टार होटलको सुरक्षा गार्डमा कार्यरत हुनुहुन्छ । उहाँका अनुसार गुवाहाटीका धेरै गाईगोठ, डेरी र होटलमा नेपालीमूलका कामदारको बाहुल्य छ । “धेरै पढ्न लेख्न नजान्नेहरु डेरी, होटल र पसलमा काम गर्नुहुन्छ, अलिक जान्ने र पढेकाहरुले अझ राम्रो काम पनि पाउनुभएको छ”–दाहालले भन्नुभयो ।

परम्परागत निर्वाहमुखी खेतीले परिवार पाल्न धौं धौं पर्ने भएकाले अधिकांश युवा बैकल्पिक रोजगारीको खोजीमा गाउँबाट पलायन हुन थालेको आसामकै दराङ जिल्लाको मंगलदोयका ५५ वर्षीय प्रेमबहादुर गेलाल बताउनुहुन्छ ।

मंगलदोय बजारमा गाखिर (दुध)को व्यवसाय सञ्चालन गर्दै आउनु भएको उहाँले गाउँका सबै साथीहरु बैङ्गलोर, दिल्ली, मुम्बुई र गुवाहाटीमा रोजगारी खोज्न गए तापनि आफुले गाउँमै बसेर दुधजन्य व्यापार चलाउँदै जीविका धान्दै आएको बताउनुभयो ।

पशुपालन र कृषि पेशा नाफामूलक नहुनु र जीविका चलाउन गाह्रो पर्दै जानुले गाउँबाट युवाहरु पलायन हुन बाध्य भएको मंगलदोय लावण्यचोककी लीला बुढाथोकीको धारणा छ । “धेरै पढाइ गर्न सक्यो भने जागिर पाइन्छ, तर हाम्रा नेपालीहरु हाइस्कुल पढेपछि काम खोज्न सहरतिर जाने बानी लागेकाले पढाई छाड्छन्,” शिक्षाको महत्व नबुझ्दा नेपालीले दुःख पाएको बताउँदै बुढाथोकी भन्नुहुन्छ–“मेरो एउटा छोरा र एउटी छोरी छन् । दुबैलाई राम्रो शिक्षा दिलाएर सरकारी जागिरमा लगाउने सपना छ ।”

आसामका नेपालीहरुको ग्रामीण क्षेत्रमा बसोबास भएकाले विकासका पूर्वाधारहरु भर्खर मात्र पुग्न थालेका छन् । गाउँमा आसामी र अंग्रेजीमा पठनपाठन हुने विद्यालयहरु छन् । नेपालीमूलका विद्यार्थीहरु नेपाली भाषा घरमा मात्र बोल्छन् । विद्यालयमा उनीहरु आसामी भाषा नै प्रयोग गर्छन् ।

आसाममा नेपालीहरु धान, मकै, तोरी, आलु, गहँु लगायतका अन्न तथा तरकारी खेती गर्छन् । खेत खनजोतमा थोरैले मात्र ट्याक्टर प्रयोग गर्छन् भने अधिकांशले गोरु नै जोत्छन् । उनीहरुको आम्दानीको अर्को महत्वपूर्ण स्रोत सुपारी खेती हो । सुपारीलाई आसामेहरु तामुल भन्छन् । तामुलको टुक्रा र पानको पातले पाहुनालाई स्वागत गर्ने चलन आसामको सबै जातिमा रहेको छ ।

जोगाएकै छन् मौलिक संस्कार र संस्कृति

आर्थिक क्षेत्रमा कमजोर रहे तापनि आसामका नेपालीहरु आफ्नो सांस्कृतिक पहिचान संरक्षणका विषयमा भने सचेत छन् । आँगनमा तुलसीको मोठ नभएको नेपालीको घर नै हुँदैन । विहान बेलुका घरहरुमा पूजापाठको घण्टी बजेको सुनिन्छ भने साप्ताहिक रुपमा घरैपिच्छे सामूहिक भजन कीर्तन गाउने चलन छ । 

“दसैं तिहार आउँदा आँगनभरि सयपत्री फुलाउँछौ, टिका लगाउँछौं, देउसीभैली खेल्छौं,” मंगलदोय हाइस्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी प्रिया क्षेत्री भन्नुहुन्छ । विवाह, ब्रतबन्ध, माघे संक्रान्ति, चैते दसैं जस्ता चाडपर्वमा सबै नेपाली छरछिमेकी र आफन्त भेला हुँदा रमाइलो लाग्ने क्षेत्रीको अनुभव छ । चाडपर्व र पूजाहरुमा नेपाली मौलिक पोशाक लगाएर नेपाली गीतमा नाचगान हुने गरेको समेत उहाँले जानकारी दिनुभयो । गाउँका पाकाहरु ढाका टोपी लगाउन रुचाउँछन् भने विवाहित महिलाहरु सिउँदोमा सिन्दुर र गलामा पोते लगाउन बिर्सदैनन् ।  

गरीवी, असुरक्षा र विरानोपनमा न्यास्रिएर शताब्दियौंदेखि आसामको माटोमा पसिना सिञ्चित गरिरहेका नेपालीमूलका बहुसंख्यक बासिन्दाको आर्थिक पाटो सुखद् छैन । उनीहरुको शैक्षिक, राजनीतिक र सामाजिक हैसियत पनि सन्तोषजनक छैन । तथापि आसामका १२ लाखभन्दा बढी नेपालीभाषीहरु नुनिलो आँशुको ढिक्का पिएरै भए तापनि पुर्ख्यौली नेपाली भाषा, संस्कृति, संस्कार र परम्परालाई भने जोगाउन सफल छन् ।–––

(आसामबाट फर्केर)

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी