२१ माघ २०७९, शनिवार

हात्ती छेक्न घेराबेरा

बाहुनडाँगी र जलथलमा ६० किमि बन्यो, चारआलीमा धमाधम

२५ पुष २०७९, सोमवार
Image

झापा, २ पुस  जंगली हात्तीको आक्रमण रोक्न झापामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबेरा सम्पन्न भइसकेको छ । थप ५७ किलोमिटर घेराबेराको योजना अघि बढेको छ ।

भारतको पश्चिम बंगालबाट सयौंको बथानमा आउने र स्थानीय जंगलमा बस्ने दर्जनौं रैथाने हात्तीका कारण झापामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबेराको उपाय प्रयोगमा ल्याइएको हो । 

एक दशक अघि सबैभन्दा पहिला तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिको भारतसँग सीमा जोडिएको मेची नदीको किनारमा १८ किलोमिटर लामो सौर्य विद्युतीय घेराबेरा बनाइएको थियो ।

“उतिबेला निर्माण गरिएको विद्युतीय घेरोबेरालाई आवश्यक मर्मत सम्भार गर्दै अहिलेसम्म प्रयोग भइरहेको छ,” मेचीनगर वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्की घेराबेराको उपयोगिता बताउँदै भन्नुहुन्छ–“ब्याट्री डाउन भएको र तारहरु बिग्रिएको रहेछ भने नाघेर आउँछ, नत्र करेन्ट लाग्ने डरले गर्दा हात्ती गाउँतिर पस्दैन ।”

सीमा जोडिएको कारण भारतबाट आउने हात्तीको बथानले पहिला बाहुनडाँगीमै पस्ने प्रयास गर्छ । सबैभन्दा बढी जंगली हात्तीले जनधनको क्षति पुर्याएको क्षेत्र पनि बाहुनडाँगी नै हो । मेचीनगर वडा नं. १ को तिरिङदेखि वडा नं. ६ को नकलबन्दासम्मको १८ किलोमिटर लामो पहिलो चरणको विद्युतीय घेराबेराका कारण भारतबाट हात्ती पस्ने क्रम रोकिदा बाहुनडाँगीबासीले राहत महसुस गरेका छन् । 

झापामा मानव–हात्ती द्वन्द्व न्यूनीकरण र जनधनको क्षति रोक्न दोस्रो चरणमा दक्षिणी कचनकबल, हल्दिबारी र भद्रपुरमा ४२ किलोमिटर घेराबेरा सम्पन्न भइसकेको छ । अब तेस्रो चरणमा ५७ किलोमिटर घेराबेराको परियोजना कार्यान्वयनमा आएको छ । 

दक्षिणी झापाको जलथल र निचाझोडा जंगलबाट निस्कने हात्तीले कचनकबल, भद्रपुर र हल्दिबारीको मानव वस्तीमा क्षति पुर्याउँदै आएका छन् । दुई वर्षअघि त्यहाँ तारबार गरिएपछि क्षति न्यूनीकरण भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । 

“अब तेस्रो चरणमा ५७ किलोमिटर सौर्य विद्युतीय घेराबेराको काम सुरु गरेका छौं,” कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले बताउनुभयो । तेस्रो चरणको कार्यक्रमका लागि नेपाल सरकारले बन मन्त्रालयमार्फत रु. तीन करोड बजेट बिनियोजन गरेको छ ।

जंगली हात्तीको आक्रमणबाट मानव वस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा सौर्य विद्युतीय घेराबेरा मानिएको उल्लेख गर्दै उहाँले झापामा जंगल क्षेत्र धेरै भएको कारण घेराबेरालाई क्रमिक रुपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।  

अहिलेको बजेटबाट भद्रपुर र मेचीनगर नगरपालिकाको सीमा क्षेत्रको हातेमालो सामुदायिक बनमा दुई किलोमिटर काम सम्पन्न भइसकेको छ । नेपाली सेनाको चारआलीस्थित व्यारेक क्षेत्र र मेचीनगरको प्रगति, कालिका, बाँसबारी, मागुरमाडी लगायतका सामुदायिक बन क्षेत्रमा घेराबेराको निर्माण कार्य धमाधम अघि बढाइएको कोषका अधिकृत गौतमले जानकारी दिनुभयो । 

उहाँले चारआली जंगलको मेचीनगर वडा नं. १४ को सीमादेखि वडा नं. १३ मा रहेको सैनिक व्यारेक फन्को मार्दा छ किलोमिटर घेराबेरा हुने र बाँकी नौ किलोमिटर पूर्वपश्चिम राजमार्गको उत्तरी भागको वडा नं. ९, ११ र १२ मा रहेका सामुदायिक बनहरुमा काम हुने बताउनुभयो ।

क्रमागत रुपमा वर्षेनी बजेट आउने भएकाले ५७ किलोमिटरमध्ये अर्को बजेटमा बाँकी ४२ किलोमिटर घेराबेरा हुँदै जाने योजना छ । झापामा चारआली (निचाझोडा) र जलथल नामका दुई ठूला प्राकृतिक जंगल छन् भने दर्जनौंको संख्यामा सामुदायिक बन रहेका छन् ।

जंगलको बाहिरी भागमा पर्यटकीय स्थल, मानव वस्ती, सैनिक व्यारेक आदिलाई जोगाउने उद्देश्यले घेराबेरा कार्य भइरहेको छ । परियोजनालाई स्थानीय पालिकाहरुले भरपुर सहयोग पुर्याएका छन् ।

अहिलेको १५ किलोमिटरको घेराबेरा कार्य मेचीनगर क्षेत्रमा गर्ने भनी सरकारी निकायबाटै निर्देशन आएको बताइएको छ । अरु पालिकामा समेत हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम बढेका कारण जिल्लाको सबै क्षेत्रमा सौर्य विद्युतीय घेराबेराको माग हुँदै आएको छ ।

घेराबेराका लागि १५ किलोमिटरमा रु. २० लाख खर्च हुने अनुमान गरिएको कोषले जनाएको छ । भद्रपुर नगरपालिकाको वडा नं. ९ मा करीव चार किलोमिटर क्षेत्रमा स्थानीय चन्द्रगढी सामुदायिक बन उपभोक्ता समिति आफैले विद्युतीय घेराबेरा गरेको छ ।

“घेराबाराले मानववस्तीसँगै अन्नबाली समेत जोगाउने भएकाले यो प्रोेजेक्टमा सरकारले लगानी बढाउन जरुरी छ”, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती भन्नुहुन्छ, “हात्ती आफ्नो बाटो हिँडोस्, जंगलभित्रै डुलफिर गरोस्, तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनाश गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय घेराबेराका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौं ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी