१६ चैत २०८०, शुक्रवार

जताततै तोरीखेती, बढ्यो कृषकको आकर्षण

२८ पुष २०७९, बिहिवार
Image

झापा, २८ पुस । बारीमा लट्टो परेर फलेको तोरी देखेर दंग छन् मेचीनगर नगरपालिका–१४ दुहागढीका किसान बिजय नेपाल । विदेश जानुको साटो स्वदेशमै व्यावसायिक कृषिमा लाग्ने उहाँको सोचमा फस्टाएको तोरी खेतीले उत्साह बढाइदिएको छ । 

चितवनपछि झापामा तोरी खेती प्रमुख तेहलन बालीको रुपमा विस्तार भइरहेको छ । मेचीनगरको दुहागढीमा बिगत तीन वर्षदेखि किसानहरु व्यावसायिक तोरी खेतीमा लागेको हुँदा स्थानीय तहले समेत उहाँहरुलाई मल, बीउ, उपकरण र सिञ्चाईका लागि सहयोग पुर्याउन थालेको छ । 

युवा कृषक नेपालले छ बिगाहा जग्गा भाडामा लिएर कृषि तथा पशुपालन फार्म सञ्चालन गरेको आधा दशक भइसक्यो । गतवर्ष केही विगाहामा लगाएको तोरीले मनग्ये लाभ दिएपछि यसपाली चार विगाहा जमिनमा खेती विस्तार गरेको उहाँले बताउनुभयो । तोरी नपाक्दै किन्न आउनेको धुइरो लागेको उहाँको भनाई छ । 

“करिब पाँच हजार केजी फल्छ होला,” उहाँले भन्नुभयो, “एक हजार केजी तरहराको सरकारी बीउ बिजन केन्द्रले बीउ विस्तारका लागि लैजाने भएको छ । पैतीस सय केजी जति अर्डर आइसक्यो, अब नयाँ अर्डर लिन बन्द गरेको छु ।”

वडाध्यक्ष बाबुलाल सुब्बाले दुहागढीको सिंगो वडा तोरी खेतीको पकेट क्षेत्र बनेको बताउनुभयो । यहाँका हरेक कृषक परिवारले हिउँदको सिजनमा खेतमा तोरी फलाउने गरेका छन् । “बीसदेखि पचास मनसम्म तोरी नफलाउने कुनै घर नै छैन हाम्रो वडामा”–उहाँले भन्नुभयो ।  

सोही वडाका लाल मोहम्मद, गोपाल तिम्सिना, मन्सुर मिया र दुर्गा गुरुङले जनही चारदेखि आठ बिगाहासम्म तोरी खेती लगाउनु भएको छ । यसपाली मौसमी अनुकूलताले गर्दा तोरी बाली रोगकीरामुक्त रहेको जनाउँदै वडाध्यक्ष सुब्बाले गत वर्षको तुलनामा डेढाका दरले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताउनुभयो । 

तोरी खेतीका लागि सुहाउँदो माटो र उर्वरा शक्ति राम्रो भएका कारण सुनसरीको तरहरास्थित प्रदेश कृषि अनुसन्धान केन्द्रले बीउका लागि एक हजार केजी तोरी दुहागढीबाट खरिद गर्ने पूर्व सम्झौता गरिसकेको कृषक नेपालले जानकारी दिनुभयो ।

उहाँलाई केन्द्रले बीज विस्तारका निम्ति तोरीको बीउ र प्राविधिक सल्लाह प्रदान गरेको थियो । अन्य किसानले स्थानीय मिल, सहकारी संस्था, व्यापारी र सर्वसाधारण उपभोक्ताहरुलाई तोरी विक्री गर्दै आएका छन् । दुहागढीमा दुई वटा तोरी पेल्ने मिल सञ्चालनमा छन् ।

वडाध्यक्ष सुब्बाका अनुसार मेचीनगर–१४ मा एक हजार विगाहा भन्दा बढी जमिनमा किसानले तोरीको व्यावसायिक खेती गरेका छन् । हँडिया रेगुलेटर परियोजनाबाट पर्याप्त सिञ्चाईको व्यवस्था भएकाले तोरी बाली फस्टाएको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार प्रति विगाहा सामान्यतया ८०० केजीका दरले तोरी उत्पादन हुन्छ । यसपाली उत्पादकत्व बढ्ने उहाँको अनुमान छ । 

कोरोनाकालमा अग्र्यानिक उत्पादनले बजार पाएको र रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै खानेतेलको मूल्य बृद्धि भएपछि नेपाली किसानहरुले तोरीको भाउ सोचेभन्दा बढी नै पाइरहेका छन् । बिगत दुई वर्षमा बजारमा तोरीको तेलको भाउ दोब्बरले बढेको छ ।

पहिला पहिला जस्तो खेत बाँझो राख्ने चलन हराउँदै गएको छ भने बिदेशबाट फर्केका र व्यावसायिक कृषि जीवन अपनाइरहेकाहरु धमाधम ठूलो मात्रामा तोरी खेतीतर्फ आकर्षित भएको देखिन्छ ।

कृषि ज्ञान केन्द्रका शिवाकोटीले तोरी खेतीमा लगानी र जनशक्ति कम लाग्ने उल्लेख गर्दै आम्दानी बढी हुने थाहा पाएपछि किसानहरु आफ्नो जग्गा नभए भाडामा लिएर तोरी खेतीमा लागेको बताउनुभयो ।

तोरी छरेको तीन महिनाभित्रमै पाक्ने र झापाको माटो धान, मकै, सुपारीजस्तै तोरीका लागि अति उर्वरभूमि रहेको उहाँले बताउनुभयो । 

झापामा आर्थिक बर्ष २०७६/७७ मा ३११ हेक्टरमा तोरी खेती भएको थियो भने २०७८/७९ मा बढेर ३२० हेक्टर जमिनमा तोरीको व्यावसायिक खेती भएको थियो । चालू आवमा तोरी खेती भएको क्षेत्रफल झापामा पाँच सय पुग्ने आँकलन गरिएको छ । 

अर्जुनधारामा पनि लहलह तोरीखेती

अर्जुनधारा नगरपालिकाले नगर सहकारीमार्फत तोरी खेतीलाई प्रवद्र्धन गरिरहेको जनाएको छ ।

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रत्युस रानाले तोरी खेतीका लागि यसबर्ष २७० केजी उन्नत जातको बीउ वितरण गरेको बताउनुभयो । सहकारीले किसानबाट उत्पादित तोरी खरिद गरेर आगामी वर्ष नगरलाई तोरीको बीउमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

नगरमा यसवर्ष १० हजार केजी तोरीको उन्नत जातको विउ संकलन गर्ने सहकारीले जनाएको छ ।

झापाका शिवसताक्षी, कमल लगायतका स्थानीय तहले समेत तोरी खेतीका प्रवर्धनमा लगानी गरिरहेका छन् । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्रका आधारमा अनुदान र सहुलियत उपलब्ध गराउँदै आएको छ । 

अन्य खेतीको तुलनामा तोरी खेतीबाट किसान बढी लाभान्वित भइरहेका छन् । चार विगाहामा तोरी खेती गर्दा करिब रु. एक लाख जति खर्च हुने र आम्दानी रु. पाँच लाखभन्दा बढी नै हुने तोरी कृषक बिजय नेपालले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।