३ असार २०८१, आइतवार

कृषकको जीवनस्तर उकास्न अर्जुनधाराले खोल्यो आफ्नै सहकारी

३० पुष २०७९, शनिवार
Image

झापा, ३० पुस  सहकारिताको माध्यमबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ ।

२०७६ सालमा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताउनुभयो ।

उहाँका अनुसार अर्जुनधारामा ८५ प्रतिशत बासिन्दा अझै पनि कृषिमा निर्भर रहेका छन् । परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गरी कृषिमा आश्रित जनताको जीवनस्तर उकास्न सघाउने लक्ष्यका साथ आफ्नै सहकारी स्थापनाको सोच ल्याइएको उहाँले बताउनुभयो ।

नगरपालिकाले सहकारी स्थापनाका लागि रु. २४ लाख ९० हजार शेयरपूँजी लगानी गरेको छ । स्थापनाकालमै ५१५ जना कृषक उक्त सहकारीमा जोडिएका थिए भने हाल सदस्यको संख्या बढेर ८६२ पुगेको सहकारीका अध्यक्ष प्रत्युष आजाद रानाले जानकारी दिनुभयो ।

राज्यले तीन खम्बे आर्थिक नीतिलाई संविधानमै समावेश गरेपछि सहकारीको विकास र प्रवर्धनमा स्थानीय तह सरकार लागिपरेका छन् । तर, स्थानीय तह आफैले सहकारी स्थापना गरेको प्रदेश नं. १ मै यो पहिलो उदाहरण रहेको अध्यक्ष राना बताउनुहुन्छ ।

अर्जुनधारामा यसअघि ४६ वटा सहकारी संस्था क्रियाशील थिए । नगरपालिकाले स्थापना गरेको नगर विकास सहकारीमा ती सबै सहकारीले शेयर लगानी गर्ने समेत सहमति भएको छ । नगरपालिकाले सहकारी स्थापना गर्दा नगरभित्रका सबै सहकारीसँग बैठक गरेर सल्लाह लिएको थियो ।

नगरका ११ वटै वडामा वडा समिति गठन गरेको अर्जुनधारा सहकारीले पहिलो चरणमा नगरपालिकालाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने अभियान चलाएको छ ।

“हरेक वर्ष हाम्रो नगरपालिकाबाट कृषि बालीहरुको बीउबिजन खरिदमा रु. १० करोड पूँजी बाहिर जाँदोरहेछ,” सहकारीका उपाध्यक्ष छत्र पौडेलले भन्नुभयो–“वि.सं. २०८० सम्ममा नगरलाई बीऊबिजनमा आत्मनिर्भर तुल्याउने लक्ष्यका साथ हामी अहिले बीजवृद्धि अभियानमा लागेका छौं ।”

गत वर्ष धानको बीऊ खरिदमा मात्र रु. दुई करोड खर्च भएको उहाँले जानकारी दिनुभयो । यसपाली सहकारीले सबै वडाका कृषकसँग सहकार्य गरेर धान, मकै, गहुँ, तोरी, जैघाँस लगायतका बीजवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले छ जातको ९० हजार केजी उन्नत धान, १० हजार केजी गहुँ, २७० केजी तोरी, ७०० केजी मकै र २०० केजी जैघाँसको बीउ किसानलाई उपलब्ध गराएर त्यसको उत्पादन खरिद गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

बीजवृद्धि कार्यक्रममा सहभागी कृषकलाई सहकारीले बीऊ, मल र प्राविधिक सहयोग उपलब्ध गराउँछ । कृषकले उत्पादन गरेको बाली समेत आगामी वर्षको बीऊबिजनका लागि सहकारीले नै बजारभाउ भन्दा धेरै मूल्यमा खरिद गरिदिने उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

सहकारीले आगामी वर्ष समेत कृषि क्षेत्रको विकास र प्रवर्धनमै संस्थाको योजनाहरु केन्द्रित गर्ने निर्णय गरेको छ । आगामी वर्ष पशुआहार, मह र बेसारको व्यापक मात्रामा उत्पादन गरेर बजारिकरण गर्ने थप कार्यक्रम सहकारीले अघि सारेको छ ।

यो सहकारीमा ५१ प्रतिशत शेयर नगरपालिकाको कायम राखेर अरु शेयर स्थानीय सहकारी, बन उपभोक्ता समिति, सामुदायिक संघ संस्था र कृषकहरुलाई नै वितरण गर्ने सोच बनाइएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत इङ्नामले बताउनुभयो ।

“नगरपालिकाले आफै सहकारी स्थापना गर्दा के होला कसो होला भन्ने सुरुमा सबैलाई लागेको थियो, तर अहिले प्रगति हेर्दा उत्साहबर्धक छ,” उहाँले भन्नुभयो–“युवाहरु विदेश पलायन भइरहेको,  सहकारीहरु बचत र ऋण कारोवारमा मात्र सीमित हुन थालेको र उर्वर जग्गाहरु कि त घडेरीमा प्लटिङ कि त बाँझै हुन थालेको परिस्थितिमा हामीले यो सहकारी अरुभन्दा भिन्न र कृषि क्षेत्रको उत्थानमा बरदान सावित होस् भन्ने अपेक्षा राखेका छौं ।”

सहकारीको सर्वमान्य सिद्धान्त बमोजिम नगर विकास सहकारीको सञ्चालन साधारणसभाबाट अनुमोदित सञ्चालक समितिले नै गर्दै आएको छ । हाल नौ सदस्यीय सञ्चालक समिति रहेकोमा स्थानीय सरकारको प्रतिनिधिको रुपमा नगरपालिकाले एक जना प्रतिनिधिलाई समितिमा पठाउने गरेको छ । संघसंस्थाको तर्फबाट थप एक जना प्रतिनिधि सञ्चालक समितिमा रहने व्यवस्था छ । पदाधिकारी तथा अरु सदस्यहरु समुदायबाटै चयन हुने व्यवस्था छ ।

हाल संस्थामा सात जना कर्मचारी र प्राविधिक कार्यरत छन् । नगरपालिकाको पशु विकास शाखाले पनि आवश्यक प्राविधिक परिचालनमा मदत पुर्याउँदै आएको सहकारीका व्यवस्थापक लोचन राईले बताउनुभयो । संस्थाको आफ्नै भवन नभएको अवस्थामा नगरपालिकाकै कृषि बजारमा रहेको भवनलाई कार्यालय सञ्चालनमा प्रयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । 

कृषक सदस्यहरुलाई आवश्यक पर्ने मल र बीऊसमेत उपलब्ध गराइरहेको, बचत तथा कर्जा कारोवार दिनप्रतिदिन बढिरहेको र कृषकबाट उत्पादित बालीहरु बीऊबिजनका लागि भण्डारण गर्नुपर्ने खाँचो भएकाले एउटा कोल्डस्टोरको तत्काल आवश्यकता भइरहेको उहाँले बताउनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।