१४ वैशाख २०८१, शुक्रवार

‘वेदर इज ब्युटीफुल’ भन्दै पोखरा उडेका थिए पाइलट कमल

२ माघ २०७९, सोमवार
Image

‘वेदर इज ब्युटीफुल। भेरी गुड भिजिबिलिटी। रन वे क्लियर।’ काठमाडौंबाट यतीको एटीआर ७२ जहाजका पाइलट एयर ट्राफिक कन्ट्रोलरसँगको संवादमा भन्दै थिए। केही बेरमै अवतरणका लागि उनीहरुले पोखराको नयाँ विमानस्थलका एटीसीसँग अनुमति मागिसकेका थिए।

हो, यती एयरलाइन्सकै वरिष्ठ प्रशिक्षक पाइलट कमल केसीको नेतृत्वमा कलसाइन नाइन एन एएनसी एटीआरको यो जहाजले काठमाडौंबाट पोखराका लागि आइतवार बिहान उडान भरेको थियो। पोखराका लागि आइतवार तेस्रो उडान गरिरहेको यो जहाजमा वरिष्ठ पाइलट कमल केसीले को-पाइलट अञ्जु खतिवडालाई अन्तिम प्रशिक्षण दिएर पाइलट बनाउने योजनामा थिए।

केसी र खतिवडासहित चालक दलका ४ र ६८ जना यात्रु लिएर यो जहाज आइतवार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो। वरिष्ठ पाइलट केसीले पाइलटका रुपमा करिअर थालेको ३४ वर्ष पुग्दा यती एयरलाइन्ससँग जोडिएको मात्रै १३ वर्ष भइसकेको थियो।

त्यही भएर उनले भरेको उडानमा अहिलेसम्म कुनै समस्या झेल्नुपरेको कसैलाई थाहा छैन। निकै अनुभवी पाइलट, त्यसमाथि काठमाडौंदेखि पोखरासम्म नै खुलेको मौसम। आइतबार बिहान यही विमान दुईपटक पोखरा-काठमाडौं गरिसकेको थियो। तर, तेस्रो पटकको उडानमा पोखराको नयाँ विमानस्थलमा अवतरण प्रयास सफल भएन।

काठमाडौंबाट पोखरा उडेको विमान गन्तव्यमा पुग्न डेढ किलोमिटर बाँकी रहँदै सेती खोंचमा खस्यो। उडान भरेको झण्डै आधा घण्टामा पोखरा विमानस्थल अवतरण गर्नुपर्ने थियो। बिहान १०:५० सम्म टावरसँग सम्पर्कमा रहेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्न सकेको थिएन।

एकैछिनमा खबरहरु सार्वजनिक भए पोखराको नयाँ विमानस्थलमा अवतरण नगरी विमान पुरानो विमानस्थलनजिकै सेती खोँचमा खस्यो। नेपाली आकाशमा एटीआर विमान दु’ र्घटना भएको यो पहिलो घटना हो। र, त्यही घटनामा वरिष्ठ पाइलट कमल केसीसँगै सवार सबै यात्रुको नि’ धन भयो।

केसीसँग लामो सहकार्य गरेका ती पाइलटले बताए अनुसार नेपाल एयरलाइन्सबाट करिअर थालेका उनले २५ हजारभन्दा धेरै घण्टा नेपाली आकाशमा उडान भरेका छन्। पाइलट करिअरमा पहिलो पटक उनले उडाएको विमान दु’ र्घटनामा परेको थियो ।अनुभवी पाइलटले नेतृत्व गरेको जहाज राम्रो मौसम भएकै बेला दु’ र्घटनामा पर्‍यो।

न कमल जोगिए न सवार अन्य यात्रु। लामो हवाई उडान अनुभव भएका ५५ वर्षीय कमलका श्रीमती र २ छोरा छन्। केसीले अमेरिकाबाट पाइलट कोर्स सकेर सन् १९८९ मा नेपाल एयरलाइन्सको ट्वीनअट्टर विमानमा प्रशिक्षार्थी पाइलटबाट करिअर थालेका हुन्।

सन् १९८८ मा पाइलट कोर्स पूरा गरेका उनी नेपाली हवाई क्षेत्रमा निकै अनुभवी पाइलट हुन्। पछिल्ला दिन पाइलटहरुलाई प्रशिक्षण दिँदै उडान भरिरहेका कमल आइतबार (१ माघ) यती एयरलाइन्सको काठमाडौंबाट पोखरा पुग्न नपाई अस्ताएका छन्।को-पाइलट अञ्जु खतिवडालाई पाइलट प्रमाणपत्र दिलाउने अन्तिम फ्लाइट भरिरहेका थिए उनी।

‘उहाँ एक्जामिनर पाइलट हुनुहुन्थ्यो,’ २५ वर्ष सँगै काम गरेका एक पाइलट भने, ‘३४ वर्षभन्दा बढी उहाँले नेपाली आकाशमा सबैभन्दा ‘सेफ’ उडान गर्नुभएको थियो।’‘उहाँ पाइलटमा सबैभन्दा सुरक्षित उडान गर्न सफल हुनहुन्थ्यो, तर, आज फर्ष्ट र लास्ट भयो, उहाँ अब हामीबीच रहनुभएन’, उनले भने, ‘उहाँ हँसिलो, मिजासिलो र रिस्क नलिने स्वभावको हुनु हुन्थ्यो।’

पाइलट कमल केसीप्रति विमान परिचारिका पनि विश्वस्त हुन्थे। लामो अनुभवमात्रै होइन, कयौँ वर्ष उडान भरेका कारण उनीसँग धेरैले पाइलट हुनुअघिको अन्तिम कोर्ष पूरा गर्थे। पोखरा फिल्डमा पाइलट कोर्ष पूरा गर्दा राइट सिटमा बसेर लेफ्ट सिटमा को-पाइलटलाई राख्ने गरिन्छ।

अन्य सबै विमानस्थलमा उडान सम्पन्न भएर सफल भएपछि पोखरा उडान भर्ने गरिएको थियो।आइतबार पनि को-पाइलट अञ्जु खतिवडालाई पाइलट बनाउने अन्तिम उडान थियो। त्यही भएर काठमाडौंबाट पोखरा उडान हुँदै गर्दा कमल केसी राइट सिटमा बसे र लेफ्टमा को-पाइलटलाई राखे।

‘क्याप्टेनले ट्रेनी क्याप्टेनलाई लेफ्ट सिटमै राखेर अन्तिम कोर्ष गराउने हो, आज पोखरा गएको विमानमा पाइलट कमलले त्यही गर्नुभएको रहेछ,’ एक पाइलटले भने, ‘तर, ‘ब्याड लक’! यतीको एटीआर जहाज एयरपोर्ट नपुगी क्र्यास भयो।’‘पोखराको रुटमा प्राय गरेर पोखरा शहर

कट्नेबित्तिकै खोलापट्टी गएर ल्याण्ड हुन्छन्,’ ती पाइलटले विमान रुटबारे भने, ‘तर, आजको विमानले भ्याली छिर्नेबित्तिकै सबै देब्रे पारेर अगाडि गएर पूर्व फर्किँदै आएको देखिन्छ, जुन टेक्निकल्ली किन भन्ने खालको छ।’दु’ र्घटनाको कारण बुझ्न अब जहाजको ब्ल्याक बक्स नै हेर्नुपर्ने हुन्छ।

एटीआर जहाजले २ घण्टाका सबै गतिविधि रेकर्ड गरेर राख्ने हुनाले दु’ र्घटनाको कारण पत्ता लाग्न कही समय लाग्न सक्छ। तर, कुनै प्राविधिक समस्याबारे एयरपोर्टका एटीसीसँग कुनै जानकारी नदिएकोले यतीको विमान किन र कसरी दु’ र्घटना भयो खुल्न बाँकी छ।