१२ वैशाख २०८१, बुधवार

एक क्विन्टल कफी फलाउँदा रु. दुई हजार अनुदान

८ माघ २०७९, आइतवार
Image
Gallery Images

झापा, ७ माघ । इलामको पश्चिमी गाउँपालिका माङ्सेबुङले कृषि उत्पादन अभिवृद्धिका लागि अनुदान दिन थालेपछि स्थानीय कृषक हर्षित भएका छन् ।

माङ्सेबुङ वडा नं. १ का कृषक देवीप्रसाद अधिकारीले एक क्विन्टल कफी उत्पादन गर्दा पालिकाले रु. दुई हजार अनुदान दिने गरेको बताउनुभयो ।

पछिल्लो समय कफी खेतीको पकेट क्षेत्रका रुपमा विकास भइरहेको माङ्सेबुङमा अनुदान पाउन थालेपछि परम्परागत धान, मकै, कोदो, फापर बाली लगाइरहेका किसानहरु अब कफी खेतीमा आकर्षित भएका छन् ।

अधिकारीले माङ्सेबुङ–१ मा घरैपिच्छे कफी खेती गरिएको जनाउँदै प्रति क्वीन्टल रु. १० हजारका दरले पाकेका कफीका दाना गाउँमै विक्री हुने गरेको र त्यसमा पालिकाले रु. दुई हजार अनुदान थपिदिने गरेको बताउनुभयो ।

माङ्सेबुङ–१ का वडाध्यक्ष भुपाल योङहाङले कृषि उत्पादन वृद्धि गर्न हौसला होस् भनेर गाउँपालिकाले दुध, दाल, बास, स्कुस, केरा लगायतका बालीमा पनि कृषकले सोझै पाउनेगरी अनुदानको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानहरुले कालो र पहेलो दालमा प्रति केजी रु. एक सय, दुध प्रति लिटर रु. दुई, माली बास प्रति झ्याँङ रु. एक सय, स्कुस प्रति झ्याङ रु. एक हजार र केरा प्रति झ्याँङ रु. एक सय अनुदान पाउने गरेका छन् ।

गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा कृषि उत्पादनमा अनुदान दिनका लागि रु. १६ लाख रकम छुट्याएको उहाँले बताउनुभयो ।

“इलामको दुर्गम क्षेत्र भएकाले यहाँ बाटोघाटो र अरु पूर्वाधारको त्यति राम्रो विकास भइसकेको छैन,” वडाध्यक्ष योङहाङ भन्नुहुन्छ–“किसानले फलाएको बालीले उचित बजार नपाउँदा झन् समस्या हुने भएकाले पालिकाले अनुदान दिएर भए पनि किसानहरुलाई प्रोत्साहित गर्ने नीति लिएको हो ।”