२२ असोज २०८१, मङ्गलवार

अठार तला बनिसक्यो धरहराभन्दा अग्लो ‘दमक भ्यूटावर’

१० माघ २०७९, मङ्गलवार
Image

झापा, १० माघ । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्ष अघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा भ्यूटावर बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्यार गरेका थिएनन् ।

“हेर्दाहेर्दै अठार तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरु के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,” मुसुमुसु हाँस्दै गौतम भन्नुहुन्छ–“तीन वर्ष अघि सम्झिदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्ला जस्तो पो भइसक्यो ।”

नेपालकै राष्ट्रिय गौरवको परियोजनाको रुपमा ‘दमक भ्यूटावर’को निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा वि.सं. २०७६ असार २७ गते सुरु भएको थियो । तीस महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सीजीआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । तर, कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

अबको छ महिना अर्थात वि.सं. २०८० असार मसान्तभित्र ‘दमक भ्यूटावर’को निर्माण सम्पन्न भइसक्ने आयोजनाको चन्द्रगढी कार्यालयका इन्जिनियर भुपेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार परियोजनाको ७५ प्रतिशत भौतिक प्रगति छ भने कूल लागतको ६८ प्रतिशत रकम खर्च भइसकेको छ ।

‘दमक भ्यूटावर’को निर्माणले गाउँको नाम नै फेरिएको स्थानीय उमानाथ ढकालले बताउनुभयो । “पहिला पहिला गाउँमा आउने पाहुनाहरु ‘ढुकुरपानी’ सोध्दै खोज्दै आउँथे, अहिले ‘दमक भ्यूटावर’देखि नजिकै घर छ भनेर आफुले नै भन्नुपर्छ”–उहाँ भन्नुहुन्छ । 

डेढ अर्ब लगानी

‘दमक भ्यूटावर’को निर्माणमा रु. एक अर्ब ३८ करोड १८ लाख ४ हजार ५६९ लाग्ने सुरुको सम्झौता थियो । तर, विभिन्न ‘भेरियसन’मा काम थप्नु पर्ने भएकाले नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याट बाहेक रु. एक अर्ब ५० करोड ६३ लाख ८५ हजार ९६४ पुगेको परियोजनाको निरन्तर अनुगमन गरिरहनु भएको आयोजनाका ई. यादवले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजना भएकाले यसको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको छ । यसमा विदेशी कुनै पनि दाताको सहयोग लिइएको छैन ।

चालू आर्थिक वर्षमै निर्माण सकेर हस्तान्तरण गरिने लक्ष्यका साथ तीब्र रफ्तारमा अन्तिम चरणको कार्य भइरहेको जनाउँदै उहाँले परियोजनामा रु. ४५ करोड बजेट अपुग रहेको बताउनुभयो ।

“चालू आवमा सरकारले रु. १० करोड मात्र बजेट भ्यूटावरका लागि बिनियोजन गरेको छ, यसले पुग्दैन,” उहाँले भन्नुभयो–“हामीले भौतिक र आर्थिक प्रगति विवरण सम्बन्धित निकायका पुर्याइरहेका छौं । आशा छ, सरकारले थप आवश्यक पर्ने रु. ४५ करोड पनि व्यवस्थापन गर्नेछ ।”

भ्यूटावर निर्माणस्थल रहेको दमक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नविन बरालले पनि सरकारले चालू आवमा बजेट कटौती गरिदिदा निर्धारित अवधिमा निर्माण कार्य नसकिएला कि भन्ने शंका उत्पन्न भएको बताउनुभयो ।

“बजेटको पूर्ण प्रत्याभूति गरेपछि मात्र यस्ता ठूला लगानीका परियोजनाको निर्माण सुरु हुन्छन्, यसअघिको सरकारले थालेको काममा किन अपुग बजेट पठाएको होला भनेर हामी छक्क परेका छौं,” वडाध्यक्ष बरालले बजेट कटौती गरिएकोमा असन्तोष व्यक्त गदैै भन्नुभयो–“निर्माणको अन्तिम चरणमा आएर यसरी बजेट घटाइदिनु भनेको दमकको विकासमा अवरोध खडा गरिनु हो भन्ने दमकबासीको बुझाई छ ।”

परियोजनाको निर्माणमा स्थानीयबासीको अपनत्व गाँसिएको छ । ‘दमक भ्यूटावर’का लागि स्थानीयबासीले पाँच विगाहा जग्गा दानमा दिएका थिए । गाउँमा विकास ल्याउनका लागि आफुले १० धुर जग्गा निःशुल्क दिएको दाता नरेन्द्र गौतमले बताउनुभयो । तीन वर्ष अघि कठ्ठाको दुई लाखमा नबिक्ने भ्यूटावर वरिपरिको रुखोपाखो जग्गा अहिले धुरको चार लाखमा नपाइने भइसकेको उहाँले जानकारी दिनुभयो ।

धरहराभन्दा अग्लो ‘दमक भ्यूटावर’

नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्सांकन गरेको ‘दमक भ्यूटावर’को डिजाइन अनुसार १८ तलाको भवन निर्माण भइसकेको छ ।  

आयोजनाका ई. यादवका अनुसार हालसम्म १८ तलाको क्रंक्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टील टावर निर्माण भइरहेको छ ।

‘दमक भ्यूटावर’को पुरै भवन संरचना १०० मिटर अग्लो हुनेछ । यो काठमाडौंको पुनःनिर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो । धरहरा लगभग ८४ मिटर उचाइको छ ।

हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोशेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र ओपन स्पेस थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाईको छ ।

भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको हुँदा ‘दमक भ्यूटावर’ सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको उहाँको भनाई छ । चट्याङ नलागोस् भनेर ‘लाइटिङ एरेस्टर’ उपकरण र आगलागी रोक्न स्वचालित ‘स्प्रिङ्कल सिस्टम’ समेत भवनमा जडान गरिएको छ । स्प्रिङ्कल सिस्टम भनेको आगलागी भएको आफै थाहा पाउने र आफै पानी हालेर निभाउने प्रविधि हो ।

भवनका सबै तलामा पिउने पानी पुर्याउने ‘ड्रिङकिङ वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिएको छ भने ट्वाइलेटमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैचामा प्रयोग गर्न मिल्ने ‘सिवेज ट्रिटमेन्ट प्लान्ट’ समेत जडान भइसकेको छ ।

कुन तलामा के बन्दैछ ?

विस्तृत परियोजना प्रस्ताव (डीपीआर) अनुसार निर्माणाधीन ‘दमक भ्यूटावर’को भुइँतला (बेसमेन्ट)मा ४० वटा चार चक्के र २०० वटा दुई चक्के सवारी साधन अट्ने क्षमताको पार्किङस्थल रहने भएको छ ।

त्यसपछिको चार वटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौं तलामा सेमिनार हल, छैठौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था लगायतका कर्पोरेट हाउस, दशौंदेखि चौधौं तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौं र सोह्रौं तलामा रेस्टुरेन्ट र लज बन्नेछन् भने सत्रौं र अठारौं तलामा दृश्वावलोकन उपकरणसहितको कक्ष रहनेछन् । 

पाँच विगाहा क्षेत्रफलमा परियोजना फैलिएको भए तापनि मुख्य भवनको संरचना साढे नौ बिगाहामा रहेको छ ।

वातावरणीय अनुकूलनका लागि परिसरको पुरै भागमा क्रंक्रिट संरचना निर्माण गरिएको छैन । “वातावरण संरक्षण र भूमिगत पानीको स्रोतको रिचार्जका लागि हामीले पर्याप्त ओपन स्पेश र ग्रिनेरी एरियाको व्यवस्था मिलाएका छौं”–ई. यादवले भन्नुभयो ।

उहाँका अनुसार परियोजना निर्माणपछि कुन निकायले कसरी सञ्चालन गर्छ भन्ने अहिल्यै यकिन नभइसकेको हुँदा तलाभित्र ‘इन्टेरियर डिजाइन’को काम भने गरिएको छैन । संघीय सरकारले दमक नगरपालिका, प्रदेश सरकार वा कुनै प्राधिकरण गठन गरेर यसलाई सञ्चालनमा ल्याउन सक्ने सम्भावना रहेको छ ।

नजिकै बन्दैछ ‘स्मार्ट सिटी’

‘दमक भ्यूटावर’सँगै पूर्वतर्फ टाँसिएको ५९ बिगाहा जग्गामा दमक नगरपालिकाले स्मार्ट सिटी बनाउने योजना अन्तर्गत एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरु गरेको छ ।

‘नयाँ दमक’ नामाकरण गरिएको सो योजना नयाँ र व्यवस्थित ‘स्मार्ट सिटी’ परियोजना हो । जसका लागि चालू आर्थिक वर्षमा दमक नगरपालिकाले रु. एक करोड बजेट विनियोजन गरेको वडाध्यक्ष नविन बरालले जानकारी दिनुभयो ।

यस परियोजनामा नगरपालिका र स्थानीयबासी बीच साझेदारी हुनेछ । जग्गा स्थानीयबासीले उपलब्ध गराउने र त्यसमा नगरपालिकाले सडक, विद्युत, खानेपानी, ढल, बगैंचा, विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचना व्यवस्थित ढंगले निर्माणमा सघाउने बरालले बताउनुभयो ।

पहिलो चरणमा ‘लेन्ड पुलिङ’को काम सकिएको छ भने नगरपालिकाले टेन्डरमार्फत काठमाडौंको रास इन्जिनियरिङ कन्सल्टेन्सीलाई परामर्शदाता कम्पनी नियुक्ति गरिसकेको छ । परियोजना निर्माणका लागि स्थानीय जग्गादाताहरु मध्येबाट शान्तिराम गौतमको अध्यक्षतामा १५ सदस्यीय दमक भ्यूटावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति गठन भएको छ ।

परियोजनाका लागि स्थानीयले १२ धुरदेखि तीन बिगाहासम्म जग्गा दिएको र सबै ५९ बिगाहा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गरिने अध्यक्ष गौतमले बताउनुभयो । 

नगरपालिकाका प्रमुखको संयोजकत्वमा मालपोत, इलाका प्रशासन लगायतका कार्यालयका प्रमुखहरु रहनेगरी उपल्लो अनुगमन समिति समेत गठन भइसकेको छ । 

भ्यूटावरको निर्माणपछि नजिकै आधुनिक र व्यवस्थित सहर बसाउनका लागि स्थानीयबासीकै हितका लागि यो परियोजना अघि बढाइएको दमक नगरपालिकाकी निवत्र्तमान उपप्रमुख गीता अधिकारीले बताउनुभयो ।

“दमक भ्यूटावर वास्तवमा दृश्यावलोकनका लागि बनाइएको होइन, यो त बिजनेस टावर हो, जहाँ एउटै अत्याधुनिक भवनमा सबै प्रकारको व्यवसाय सञ्चालन हुन सक्छ,” निवत्र्तमान उपप्रमुख अधिकारी भन्नुहुन्छ–“तर, भ्यूटावरमा लगानी भयो भनेर यथार्थ नुबुझिकन यसको नकारात्मक प्रचार गरियो । दमकबासीको आर्थिक जीवनस्तर उकास्न गरिएको एउटा नौलो प्रयास हो यो ।”

जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समितिका अध्यक्ष शान्तिराम गौतमले राष्ट्रिय गौरवको ‘दमक भ्यूटावर’लाई समृद्धिको प्रतीकको रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै दृश्यावलोनका लागि मात्र ठूलो लगानी गरिएको भनेर बद्नाम नगरिदिन सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।