१८ मंसिर २०८१, मङ्गलवार

पत्रकारको डायरी

‘फ्युल डिस्पेन्सर’ समाउने जश्मी

१५ माघ २०७९, आइतवार
Image

सुरुंगा, १५ माघ । ‘मेरो स्कुटरमा चार सयको मात्र है ।’

चावी खित्रिक्क घुमाएर स्कुटरको तेल ट्यांकीको बिर्को उघार्दै मैले भनेँ।

केही दिन अघि कनकाई–७ दुर्गापुरस्थित गरमकाली ट्रेड सेन्टर (पेट्रोल पम्प)मा इन्धन भर्दाको सन्दर्भ हो यो ।

ख्याराररर गर्दै एकैछिनमा तेल भरिएपछि पर्सबाट पाँच सयको नोट निकालेर दिदै यसो हेरें–पैसा समाउने त महिला हुनुहुँदोरहेछ ।

स्कुटर अलिपर सारेर एकछिन रमिता हेरेँ । एउटा हातमा ‘फ्युल डिस्पेन्सर’ समाएर अर्को हातले ‘फ्युल पम्प’मा रहेको डिजिटल अंक ट्याक् ट्याक् टाइप हान्नु हुँदोरहेछ ।

हेर्दाहेर्दै मपछि एक दुई गर्दै चार जनाजति सेवाग्राहीले तेल भरिसकेपछि स्कुटरलाई स्ट्यान्ड लगाएँ । गोजीको ‘रेडमी’ निकालेर क्यामरा तेर्स्याउँदै सोधेँ–‘बहिनी तपाईले तेल भरेको एउटा फोटो लिन्छु नि, हुन्छ ?’

‘आबुई किन ?’–उहाँले सोध्नुभयो । मैले भने–‘म पत्रकार हुँ । महिलाले डिस्पेन्सर समाएर काम गरेको राम्रो लाग्यो । समाचार बनाउनु पर्यो भनेर नि ।’

‘के के लेखिदिनु हुन्छ ?,’ उहाँले संशयपूर्वक मञ्जुरी दिदै भन्नुभयो–‘हुन्छ, लिनु नि ।’

फटाफट चार पाँच स्नेप फोटो विभिन्न एङ्गलबाट लिएँ र उहाँको छोटो विवरण मोवाइलकै नोटबुकमा टिपेँ ।

उहाँको नाम रहेछ जश्मी महन्त । उमेर ३० वर्ष । घर रहेछ कनकाई–७, झापा । आठ महिनादेखि पम्पमा तेल भर्ने काम गरिरहनु भएको रहेछ ।

उहाँ हरेक दिन सात घण्टा ड्युटीमा खटिनुहुन्छ । 

दिनहुँ सयौं ठूला गाडी र मोटरसाइकलमा तेल भर्न व्यस्त रहँदा उहाँलाई झञ्झट होइन, आनन्द महसुस हुन्छ रे ।

‘कसै कसैले पम्पमा पनि महिला हुँदारहेछन्, पहिलोपल्ट देखियो भन्छन्’– उहाँ सुनाउनुहुन्छ । 

घरमा पति र नौ वर्षको छोरा छन् । ‘मासिक तलब कति पाउनुहुन्छ ?’–मैले हिँड्ने बेलामा सोधेँ ।

‘नाइ, होस्, भन्दिन’– उहाँले तलब बताउन चाहनु भएन ।

म स्कुटर स्टार्ट गरेर केही पर गुड्दै गर्दा उहाँकै मसिनो स्वर सुनेँ–‘यही हाइवेमा हिँड्दा यतै आएर पेट्रोल भर्न चाहिँ नबिर्सनु होला ।’


लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)