४ जेठ २०८१, शुक्रवार

नेपाली चियाको गुणस्तर जाँच्न कोलकाता धाउनु पर्ने बाध्यता

२६ माघ २०७९, बिहिवार
Image

झापा, २६ माघ । गुणस्तर परीक्षण गर्ने ल्याब नेपालमा नहुँदा तयारी चिया निकासीमा समस्या परेको उत्पादकहरुले बताएका छन् । 

नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिदैन । तर स्वदेशमा ल्याव नहुँदा हाल भारतकै पश्चिम बंगालको कोलकातामा परीक्षण गर्नु पर्ने बाध्यता छ । 

उद्योगीहरुले तयारी चिया बोकेका कन्टेनरहरु हप्तौ काँकरभिट्टा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको रिपोर्ट आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताउनुभयो ।

उहाँले मुलुकमै चिया निर्यातबाट बार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको नेपालमै ल्याब स्थापनाको पहल नगरेको गुनासो गर्नुभयो । “चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूणर् छ,” उहाँले भन्नुभयो-“भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिदैन, त्यति टाढा कोलकाता पुर्याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।” सरकारले चाहने हो भने ल्याब राख्नु कुनै ठूलो समस्या नभएको उहाँको भनाई छ ।

नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटकपटक माग गरेका छन् ।  मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गर्नुभयो । 

मुलुकको आर्थिक सूचकांकमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी संघका अध्यक्ष हर्क तामाङको आरोप छ । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० बर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया विक्री गर्न बाध्य भएको उहाँको भनाई छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताउनुभयो । 

उहाँले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नम्बर १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्य समेत पाउने बताउनुभयो ।

नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । 

बोर्डका अनुसार चिया निर्यातबाट वर्षेनी रु. तीन अर्ब ८० करोड विदेशी मुद्रा आर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालमा चिया उत्पादन गर्ने ३० वटा अर्थोडक्स र ३८ वटा सीटीसी गरी ६८ वटा ठूला चिया उद्योग सञ्चालनमा छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योगहरु सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसानहरु आवद्ध छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।