४ जेठ २०८१, शुक्रवार

हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

४ फागुन २०७९, बिहिवार
Image

झापा, ४ फागुन । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ वटा पुलमध्ये हालसम्म तीन वटाको मात्र निर्माण कार्य सम्पन्न भएको छ भने बाँकीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माण कार्य सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।

उहाँँले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण कार्य सम्पन्न भए तापनि पुलहरुको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताउनुभयो । उहाँले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वि.सं. २०६८ देखि २०७६ सालसम्ममा ठेक्का लागेका सबै पुलको निर्माण कार्य आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल वि.सं. २०६८ सालमा लामा मैनाचुली जेभी झापाले ठेक्का लिएर काम सुरु गरेको थियो । 

ठेकेदारको लापारवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाई भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उहाँको भनाई छ । उहाँले तीब्र रुपमा निर्माण भइहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बनाउनुभयो ।

“हरेक बहानाबाजीमा पुल निर्माणमा जति ढिलो हुनु भयो”, उहाँले भन्नुभयो, “अब ढिला हुन्न । सबै पुलको निर्माणकार्य २०८० सालको असार मसान्तसम्ममा पूरै सकिन्छ ।” उहाँले विरिङ पुलजस्तै एक दशक अघि सुरु भएको कनकाई पुलको भौतिक प्रगति भने ६० प्रतिशत मात्र भएको बताउनुभयो । ठूला- साना नदीमा करिब २५ मीटर लम्बाइदेखि ६२४ मीटर लामो पुल निर्माण भइरहेका छन् ।

हुलाकी सडकमा पर्ने भूतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानो माईको ९० प्रतिशत भइसकेको उहाँको भनाई छ । यसैगरी, लामो समय अलपत्र परेको झापा मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माण समेत सुरु भइसकेको छ । 

भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण सकिएको इन्जिनियर खतिवडालेले बताउनुभयो । सडक दुई लेनको बनेको छ । उहाँले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताउनुभयो । मेचीपुलदेखि राजगढको जनताबजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनताबजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको चाँदनी दोधारा पुलसम्म एक हजार ६००मी को हुलाकी मार्ग निर्माणपछि तराई मधेशका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ । 

त्यसैगरी, हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको छ । ---

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।