विचार
विचार
नेपाली राजनीतिमा इमान–जमानको स्थान छैन । त्यसैले त भन्ने गरिएको छ– ‘बेइमानहरूको खेल हो राजनीति ।’ के राजनीति बेइमानहरूकै खेल हो त ? खासमा राजनीतिलाई नीतिहरूको पनि नीति मानिन्छ । तर, राजनीति गर्नेहरू बेइमान हुँदा राजनीति नै बेइमान ठहरियो ।
वर्तमान सरकार गठनका क्रममा त्यस्तै ‘बेइमान’ भयो । सिधैं भन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेइमान गरे । त्यसको सूत्रधार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थिए । किनकि, प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेर पनि धोका दिए ।
देउवाले धोका दिएको झ्वाँकमा प्रचण्डले निर्वाचन अगाडिको गठबन्धन तोडे । र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापेको ‘ढोक्सा’मा कैद भए अर्थात, बेइमानी त– देउवा, ओली र प्रचण्ड तीनैबाट भयो ।
प्रधानमन्त्रीका रूपमा प्रचण्डले विश्वासको मत लिएको दिन नेपाली राजनीतिमा ‘ढोक्सा’ शब्दले स्थान पायो । नेपाली शब्दकोषमा ढोक्सा शब्द नै छैन । तर, चलनचल्तीमा कुनै कुरा थाप्नका लागि प्रयोग हुने सामग्री नै ढोक्सा हो । धेरै त माछा थाप्न प्रयोग हुन्छ, ढोक्सा ।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दियो । त्यो मतलाई एमाले अध्यक्ष ओलीले ‘ढोक्सा’ भने । र, कांग्रेसको ढोक्सामा केही नपर्ने दाबी पनि गरे । तर, परिस्थिति सधैं एकनासको हुँदैन । आज, कांग्रेसको ढोक्सामा ‘असला’ पर्दा एमालेको ढोक्सामा भने ‘चेपागाँडा’ मात्र बाँकी रहेको छ ।
माछामध्ये असला औधि मिठो मानिन्छ । पहाडी हावापानीको चिसो पानीमा हुर्कने असला सबैको रोजाइमा पर्छ । आज राष्ट्रपति पद असला जस्तै स्वादिष्ट छ । त्यो असला कांग्रेसको भागमा पर्यो ।
चेपागाँडा खासमा भ्यागुता वर्गमा पर्छ । तर, पानी अर्थात नदीमै पाइने भएकाले माछा जस्तै मानेर खाने गरिन्छ । भ्यागुताको रूप नलिएसम्म खुट्टा नहुने भएकाले चेपागाँडा भनिएको हो । खानेले स्वादिष्ट नै मान्छन् । तर, भ्यागुता भएपछि कुरा अर्कै हुन्छ । अँ, पाहा भए त चलिहाल्छ ।
असलाको तुलनामा चेपागाँडा मिठो हुँदैन । त्यसैले अहिलेको जोड–घटाउमा एमालेको ‘ढोक्सा’मा चेपागाँडा मात्र पर्यो । कांग्रेसले बुद्धि नबिगारेको भए एमालेको भागमा चेपागाँडा पनि पर्ने थिएन ।
खण्डित नै भएपनि सरकार सञ्चालनका लागि निर्वाचन अगाडिको गठबन्धनलाई केही सुविधाजनक मतादेश दिएको थियो । जुन गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा थिए ।
एमालेसँग गठबन्धन गरेर जनता समाजवादी पार्टीले निर्वाचन अगाडि नै बाटो बिराएको थियो । त्यसपछि देउवाले विगत भूल्दा एमालेसँग सरकार बनाएर माओवादीले बाटो बिरायो । त्यसपछि राजनीतिमा अनेक घटनाक्रम देखिए । तर, अब राजनीति ठीक ठाउँमा आइपुगेको छ ।
निर्वाचन अगाडिको गठबन्धन भत्किँदा राजनीतिले गलत दिशा समातेको थियो । राजावादी राप्रपा र संघीयता विरोध रास्वपा जस्ता प्रश्चगामी शक्तिहरू सरकारमा पुगेर हालिमुहाली गरिरहेका थिए ।
राप्रपाका मन्त्रीहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक–समावेशी प्रतिनिधित्वविरूद्ध मन्त्रीकै कुर्सीबाट नाराजुलुस गरिरहेका थिए । अनपेक्षित रूपमा उदाएका रास्वपाहरू पनि मन्त्रीकै कुर्सीबाट संघीयताविरूद्ध कुर्लिरहेका थिए । यो भन्दा ठूलो खतरा केही थिएन । तर, अब राजनीतिक ठीक ठाउँमा आएको छ । यत्ति कुरा ढुक्कले भन्न सकिन्छ– राजनीतिको नयाँ कोर्सबाट व्यवस्थालाई खतरा छैन ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका शक्ति वर्तमान व्यवस्थाका पक्षपोषक हुन् । यी शक्तिबाट व्यवस्थालाई खतरा छैन । त्यसैले राजनीति ठीक ठाउँमा आयो भनिएको हो ।
एमालेसँगको गठबन्धनमा सरकार बनाएको माओवादीले राष्ट्रपति निर्वाचनमा एमालेलाई धोका दिनु बेइमानी नै हो । तर, कतिपय अवस्थामा ‘बेइमानी कदम पनि ठीक हुन्छ ।’ जसरी आज, माओवादीले एमालेलाई दिएको धोका ठीक छ किनकि, वर्तमान सरकार गठनको आधार नै अनैतिक थियो ।
सरकार सञ्चालनका लागि एमालेलाई जनमत थिएन । एमाले, त्यसमा पनि अध्यक्ष ओलीमा लालच नपलाएको भए इमानपूर्वक प्रतिपक्षमा बस्नुपर्ने थियो । यो एमालेका लागि ऐतिहासिक अवसर हुन्थ्यो । तर, ओलीमा सत्ताको लालच पलाउँदा आजको अवस्था बनेको हो ।
तर, ओलीले थापेको ‘ढोक्सा’बाट पनि राजनीतिमा नयाँ सम्भावना थियो अर्थात, ‘विगतका गल्ती सच्याउँछु, मिलेर जाउँ’ भन्न सकेको भए छिन्नभिन्न भएको नेकपा एक हुने सम्भावना थियो । तर, ओलीले त्यो अवसर पनि गुमाए । अब त, हुने केही छैन ।
अब नैतिकताको आधारमा एमाले सरकारबाट बाहिरिनुको विकल्प हुँदैन । एमालेले त्यो तयारी थालिसकेको पनि होला । र, यसरी नै एमालेले छिनमै बनाएको ‘काँच महल’ अब बाँकी हुने कुरै भएन ।
ओलीले थापेको ‘ढोक्सा’मा संघीय सभामुख र केही प्रदेशका सभामुख तथा उपसभामुख बाँकी रहेका छन् । यी पदहरू एमालेकै भागमा रहने छन् । बाँकी सबै नयाँ गठबन्धनका दलले लिनेछन् ।
निर्वाचन अगाडिको पाँच दलीय गठबन्धन अब आठ दलीय भएको छ । त्यसो त यो गठबन्धनबाट पनि जनताले आशा गर्ने ठूलै कुरा त छैन । तर, पनि केही आशा गर्ने ठाउँ रहन्छ ।