६ साउन २०८१, आइतवार

बन्द हुने अवस्थामा दृष्टिविहीनको ‘श्रब्य पुस्तकालय’

२० चैत २०७९, सोमवार
Image

झापा, २० चैत । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रब्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।

तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन संघलाई दिनु भएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो ।

संघले सो बजेटबाट ‘श्रब्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचर लगायतका भौतिक साधनहरु छन् । दराजमा दुई चार वटा पुस्तक पनि सजाइएका छन् ।

संघका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण श्रब्य किताबहरु पुस्तकालयमा छैनन् । दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताबहरु रेकर्ड गर्ने प्राविधिक जनशक्ति र आर्थिक स्रोत संघसँग नभएको अध्यक्ष बराल बताउनुहुन्छ ।

“दृष्टिविहीन थुप्रै साथीहरु लोकसेवा र शिक्षासेवा आयोगमा परीक्षा दिने तयारीमा हुनुहुन्छ,” अध्यक्ष बरालले भन्नुभयो–“उहाँहरु संघको श्रब्य पुस्तकालयमा त्यस्ता किताबहरुको खोजी गर्नुहुन्छ । नपाएपछि निराश भएर फर्किन बाध्य हुनुहुन्छ ।”

दृष्टिविहीनहरु नयाँ साहित्यिक तथा पाठ्यपुस्तकहरु सुन्न चाहन्छन् । यसका लागि संघले बजारमा उपलब्ध किताबहरुलाई पुस्तकालयको कम्प्युटर प्रयोग गरेर श्रब्य सामग्री उत्पादन गर्ने सोच बनाएको छ । तर, प्राविधिक जनशक्ति राख्नका लागि चाहिने तलब कहाँबाट जुटाउने भन्ने समस्या भएको झापा नेत्रहीन संघका कोषाध्यक्ष दिलकुमार राजबंशी बताउनुहुन्छ । 

उहाँका अनुसार एक जना प्राविधिक नियुक्त गर्नका लागि संघले झापाका सबैजसो पालिका र विभिन्न दातृसंस्थामा सहयोगको याचना गर्दै प्रस्ताव पठाएको थियो । “नेत्रहीनको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिनुभएन,” उहाँले निराशा व्यक्त गर्दै भन्नुभयो–“श्रब्य पुस्तकालय सञ्चालनका लागि वार्षिक पाँच लाख रुपैयाँ आवश्यक पर्छ ।”

झापा नेत्रहीन संघ जिल्लाका सबै दृष्टिविहीनहरुको साझा संस्था हो । यसमा एक सय १५ जना साधारण सदस्य रहेका छन् । जसमध्ये ७२ जना पुरुष र ४३ जना महिला छन् ।

संघका अधिकांश सदस्य एसईई तह उत्तीर्ण छन् भने शिक्षण पेशामा १६ जना कार्यरत रहेको विर्तामोड–३ स्थित अनारमनी आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनु भएको दृष्टिविहीन भरत राजबंशी बताउनुहुन्छ ।

शिक्षक राजबंशीका अनुसार १६ जना शिक्षकमध्ये १० जना स्थायी छन् भने ६ जना राहत शिक्षक हुन् । अगरबत्ती, फिनेल र साबुन बनाउने उद्योग सञ्चालन गरेका दृष्टिविहीनहरु पनि छन् ।

खासगरी जागिरमा लाग्न विभिन्न आयोगको तयारी गरिरहेका दृष्टिविहीनहरु आफुलाई आवश्यक पर्ने श्रब्य पुस्तकको रेकर्डिङ सामग्री खोज्दै संघको कार्यालय धाउने गरेको संघका कोषाध्यक्ष राजबंशी बताउनुहुन्छ ।

जुन उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो, आर्थिक अभावका कारण संघले उद्देश्यमूलक ढंगले पुस्तकालय सञ्चालन गर्न सकेको छैन । संघको कार्यालय रहेको स्थानबाट विर्तामोड नगरपालिकाको प्रशासनिक भवन एक सय मिटरको दूरीमा रहेको छ । 

विर्तामोड नगरपालिकाले अरु विषयमा सहयोग नगरेको होइन । तथापि श्रब्य पुस्तकालय प्रयोजनविहीन भइरहेको अवस्थामा नगरपालिकाको सहयोगी हात बढेको छैन । 

राज्यले दृष्टिविहीन लगायतका अपांगता भएका नागरिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्ने कुरा संविधानमै उल्लेख गरेको छ । उनीहरुको गाँस, बास र कपासको आवश्यकता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि राजनीतिक नाराको अग्रसूचीमै पर्ने गरेको छ । 

रमेश प्रसाई, मेनुका पौडेल, सागर अधिकारी जस्ता राष्ट्रिय प्रतिभाहरु जन्माउने झापा जिल्लामा दृष्टिविहीनहरुले स्थापना गरेको श्रब्य पुस्तकालय बन्द हुने अवस्था सिर्जना हुनु चाहिँ ज्यादै बिडम्बनाको विषय भएको छ ।