१६ चैत २०८०, शुक्रवार

स्वास्थ्यलाई फाइदै फाइदा पुग्ने निउरो

३ वैशाख २०८०, आइतवार
Image

।। राजेन्द्र देबकोटा ।।

झापा, ३ वैशाख । फूल नफुल्ने उन्यु प्रजातिका बिरुवाहरुको धेरै पुरानो इतिहास छ । यिनीहरुको अस्तित्व करोडौं वर्षदेखि कै हो । हाल आएर त फूल फुल्ने प्रजातिकै बोलवाला छ विश्वमा । नेपालमा ५८० प्रजातिका उन्यु र यसैसंग मिल्ने प्रजाति पाइएको छ । ब्रिटिश, जापानिज, भारतीय, र नेपाली वनस्पति विज्ञहरूको निकै पसिना बगेको छ यिनको अध्ययनमा ।

निउरो नेपाली भान्सामा औधि रुचाइने जंगली तरकारी मै पर्दछ । तराईदेखि उच्च पहाडसम्म धेरै प्रकारका निउरोहरू पाइन्छन् । निउरोको तरकारी अचार बनाएर खाने प्रचलन छ । काली निउरो, मसिनो निउरो र पानी निउरो, डउठे निउरो र कतै साउने निउरो अहिलेका प्रचलित निउरो हुन् ।

पश्चिम तराईमा थारुहरु निउरोलाई कोचिया र मिथिला क्षेत्रतिर निगुर भन्ने पनि गरिन्छ । काठमाडौँको बजारमा चैत्रदेखि नै असोज कार्तिकसम्म निउरो पाइन्छ । यो जंगली प्रांगारिक तरकारी नै हो । आज भोलि कतै कतै बजारमा छिटो छिटो आपूर्ति गर्न पाखातिर नै रासायनिक मल राखेर उत्पादन लिएको पनि सुनिन आएको छ ।

निउरोको सेवनले धेरै फाइदा पुग्दछ । यो औषधीय गुण र पोषणयुक्त तरकारी हो । यसमा एन्टीअक्सिडेन्ट गुण छ । भिटामिन ए, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, ओमेगा ३, ओमेगा ६, बिटा क्यारोटिन, खनिज पदार्थ, आदि धेरै मानव शरीरका लागि उपयोगी तत्वहरु पाइन्छन् । 

यसको तरकारी सेवनले क्यान्सरका बिरामी, भाइरल खोकी र चिसो लाग्दा, फोक्सोका बिरामीलाई निकै फाइदा पुग्दछ ।

काली निउरोको जरा थिचेर रगतमासी, कब्जियत, रक्त निर्माणका लागि, अनियमित महिनावारी, पेटमा जुका पर्दा, जन्डिस, घाँटी दुख्दा प्रयोग गरिन्छ ।

तर ख्याल गर्नु पर्ने कुरा सबै उन्यु प्रजाति सेवन गर्नु हुँदैेन । केहि त अत्यन्त विषालु पनि हुन्छन् । परापूर्वदेखि खाँदै आएका चिनिएका नै खानु पर्दछ ।

जैविक विविधतालाई वातारणीय सन्तुलन, खाद्य सुरक्षा, रोजगारीको सिर्जना, आम्दानीको श्रोत आदिका रुपमा निउरोलाई लिन सकिन्छ  । तर एउटा चिन्ता र चासोको बिषय यिनीहरू पनि मासिदैछन् । 

भूक्षय, बन फडानी, वन डढेलो, अनावश्यक सडक निर्माण, पशु चौपायको अधिक चरण, विश्वव्यापी वातारणीय परिवर्तन, बढ्दो प्रदुषण, बढ्दो मानवीय चापमा ध्यान नदिई संकलन मात्र गर्ने प्रवृत्ति, पिराहा (वनमारा) प्रजातिका वनस्पतिको अतिक्रमण आदिले निउरो संकटमा परेका छन् ।