१३ वैशाख २०८१, बिहिवार

स्वास्थ्य

ओमसाई पाथिभराको मृगौला डाइलासिस सेवा छ जिल्लामा विस्तार

७ वैशाख २०८०, बिहिवार
Image

झापा, ७ वैशाख । झापाको ओमसाई पाथिभरा हस्पिटलले मृगौलाको बिरामीलाई सर्वसुलभ डाइलासिस सेवा उपलब्ध गराउन छ जिल्लामा सेवा केन्द्र विस्तार गरेको छ ।

भद्रपुर–७ मा रहेको एकसय शैयाको सो हस्पिटलले झापा, सुनसरी, सिराहा, रुपन्देही, महोत्तरी र काठमाडौंमा डाइलासिस सेवा केन्द्र स्थापना गरेको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो ।

सबै जिल्लामा गरी हस्पिटलले ९५ वटा अत्याधुनिक सुविधायुक्त डाइलासिस मेसिन जडान गरेको छ । झापाको भद्रपुर र सिराहाको लहानमा उपचार सेवा सञ्चालन गरिसकेको छ । अन्य स्थानमा सम्पूर्ण उपकरण जडान गरिसकेको जनाउँदै उहाँले निकट भविष्यमै सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मृगौला खराब भएपछि चिकित्सकहरुले नयाँ मृगौला प्रत्यारोपण नहुञ्जेलसम्म बिरामीलाई मेसिनबाट रगत शुद्धिकरण गर्ने उपचार पद्धतिको रुपमा रहेको डाइलासिस सेवा लिन सिफारिस गर्दै आएका छन् । तर, बिरामीको बढ्दो चाप र डाइलासिस सेवा केन्द्रको अभावका कारण कयौले अति आवश्यक परेका बेला सेवा पाउन सकिरहेका छैनन् ।

“डाइलासिस गर्नै पर्ने अवस्थाका बिरामीहरुले सेवा पाउन पालो कुर्नु पर्ने देखेपछि हामीले मृगौलाका बिरामीका लागि डाइलासिस गर्न सहज सुविधा पुगोस् भनेर सेवा केन्द्रलाई विभिन्न जिल्लामा विस्तार गरेका हौं,” ओमसाई पाथिभरा हस्पिटलका अध्यक्ष पोखरेल भन्नुहुन्छ–“विशुद्ध मानवीय सेवाको भावनाले डाइलासिस उपचारमा लगानी गरेका छौं । यसमा नाफा र घाटाको कुनै मतलब राखेका छैनौं ।”

हस्पिटलले झापामा सबैभन्दा धेरै क्षमताको डाइलासिस सेवा वर्षौदेखि प्रदान गर्दै आएको छ । हस्पिटलका प्रमुख प्रशासक दिप पौडेलका अनुसार भद्रपुरमा १९ वटा डाइलासिस मेसिन सञ्चालन गरेर मृगौलाका बिरामीलाई हस्पिटलले सेवा प्रदान गरिरहेको छ । 

झापाकै दमकमा १० वटा, सुनसरीको इटहरीमा १४ वटा र सिराहाको लहानमा १६ वटा डाइलासिस मेसिन जडान गरिएको छ । लाहानको सेवा केन्द्रमा विरामीको चाप धान्न मुस्किल परेको कारण मेसिन थप्ने तयारी भइरहेको पौडेलले बताउनुभयो ।

महोत्तरीको बर्दिवासमा १० वटा, रुपन्देहीको बुटवलमा १२ वटा र काठमाडौंको नेपाल भारत मैत्री हस्पिटलमा १४ वटा डाइलासिस मेसिन ओमसाई पाथिभरा हस्पिटलले जडान गरेको छ ।

भद्रपुरमा पहिल्यैदेखि सञ्चालनमा रहेको डाइलासिस उपचार सेवा निःशुल्क उपलब्ध रहेको छ । नेपाल सरकारले नै त्यहाँ उपचार गर्ने बिरामीहरुको सेवा शुल्क तिरिदिने व्यवस्था रहेको छ । हाल मृगौलाका ४३ जना महिलासहित १३१ जना बिरामीले भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलबाट नियमित डाइलासिस उपचार सेवा पाइरहेको हस्पिटलका व्यवस्थापक मनोज दाहालले जानकारी दिनुभयो । 

“एउटा बिरामीलाई एकपटक डाइलासिस गराउँदा चार घण्टा समय लाग्छ,” डाइलासिस विभागको इञ्चार्ज समेत रहनु भएको व्यवस्थापक दाहालले भन्नुभयो–“जटिल अवस्थाका मृगौलाका बिरामीले हप्तामा तीन पटकसम्म निःशुल्क डाइलासिस गरिरहनु भएको छ ।”