१४ वैशाख २०८१, शुक्रवार

सहकारीप्रतिको भ्रम चिर्न अभियन्ताहरु एकैठाउँमा

१८ वैशाख २०८०, सोमवार
Image

बिर्तामोड, १८ बैशाख । बैँक तथा लघुवित्तिय संस्थाहरुले व्याज बढी लिएको भन्दै देशैभरी आन्दोलन चर्काइरहेका बेला झापामा भने केहि अग्रेनी सहकारी संस्थाहरु एकजुट भएका छन् ।

एक अर्काबीच ठुलै प्रतिस्पर्धा रहेका झापाका गनिएका केहि सहकारीहरु मिलेर ‘कोअपरेटिभ एलायन्स अफ झापा’ नै गठन गरेका छन् ।

आइतबार नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) बिर्तामोड शाखा कार्यालयको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा झापाका १८ वटा सहकारी संस्थाहरुले एलायन्स गठन गरेर १४ बुँदे अवधारण पत्र सार्वजनिक गरेका हुन् ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा ७ सदस्यीय ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन भएको छ । जसको सदस्यहरुमा कर्णाली सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, विराट बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, मेची बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष खोमप्रसाद बगाले, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा, सताक्षी बहुउद्देश्य सहकारी संस्थका अध्यक्ष रुद्रमणि श्रेष्ठ र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी छन् । 

पहिलो बैठकको अध्यक्षता उप्रेतीले गरेका थिए भने अबको दोस्रो वैठक सहारा साकोसमा हुनेछ ।  दोस्रो वैठकको अध्यक्षता सहाराका कार्यकारी प्रमुख गिरीले गर्नेछन् । सातै जना अध्यक्ष हुने गरी पालैपालो वैठकको अध्यक्षता गरिने जनाएको छ ।

झापाका सहकारीहरुलाई बदनाम हुन नदिन र सुशासनमा चलेका सहकारीहरु एकठाउँमा उभिन बाध्य भएको बताइएको छ । 

बित्तिय, सहकारी संस्था र बैँकहरुलाई हेर्ने दृष्ट्रिकोण गलत भएको भन्दै गलत गर्नेलाई नियमन गर्ने उद्देश्यले झापाका सहकारी संस्थाहरु एकजुट भएको संयोजक उप्रेतीले बताए । 

‘अब राम्रा सहकारीहरु एलायन्समा आवद्व हुन्छन्’, उप्रेतीले भने–‘सुशासन र पारदर्शिता भएका सहकारीहरु गोलबद्व हुन्छौँ । वित्तिय सन्तुलन कायम गराउन यो अभियान चलाउने छौँ । सहकारी अभियानलाई बचाऔँ छौँ ।’

झापा लगायत देशका केहि ठाउँका सहकारी संस्थाहरुमा समस्या देखिएकोले सबै सहकारीहरु नै तहसनहस भएको भन्ने भ्रम चिर्न पनि यो अभियान थालिएको बताइएको छ ।

शेयर सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शंका उत्पन्न भएकाले त्यसलाई समाधन गर्ने उद्देश्यले सहकारी संस्थाहरुले एलायन्स गठन गर्न बाध्य हुनु परेको बुझाई छ ।

केही व्यक्ति र समूहले सहकारी, लघुवित्त र बैकबाट लगानी भएको कर्जा तिर्नु पर्दैन भनेर भ्रम फैलाइएकोप्रति एलायन्सले आपत्ति जनाएको छ । त्यसैले ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न शेयर सदस्यहरुलाई एलायन्सले आग्रह गरेको छ ।


लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।