७ वैशाख २०८१, शुक्रवार

मेची पारिको नेपाल

खेत नेपालको, खेती भारतीयको

२१ वैशाख २०८०, बिहिवार
Image

झापा, २० बैशाख । हरेक विहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भूभागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतहरुमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा र भात नेपालतिरै खान्छन् । बेलुकी घाम अस्ताउनु अघि मेची नदीमा नुहाएर उनीहरु भारततिरै बाटो लाग्छन् ।

यो दृश्य मेची पारिको नेपाल भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीको हो । बस्तीको पूर्वबाट मेची नदी बग्ने भएका कारण हजारौं बिगाहा जग्गा रहेको यो नेपाली भूभाग टापु जस्तो अवस्थामा मेची पारि छ । जहाँ नेपाली खेतमा भारतीय नागरिकहरु आएर वर्षौदेखि निर्वाध खेतीपाती गर्दै आएका छन् ।

भारतको पश्चिम बंगाल प्रान्तको चुन्नीलाल जोत निवासी ३१ वर्षीय बासुदेव मुर्मुले बिगत लामो समयदेखि नेपाली भूमिमा तरकारी खेती गरिरहेको बताउनुभयो । उहाँले तीन बिगाहा जग्गामा यसपाली पर्वल, करेला र लौको खेती गरिरहनु भएको छ ।

हरेक दिन कामदारहरु लिएर उहाँ भारतबाट नेपालतिर आउनुहुन्छ । वास्तविक जग्गाधनीको नाम र ठेगाना पनि उहाँलाई थाहा छैन । तर, धुलाबारीतिरका एक व्यक्तिले सो जग्गाको वार्षिक रु. १० हजार भाडा उठाउने गरेको उहाँले बताउनुभयो ।

“यसपाली पर्वल खेती राम्रो फस्टाउला भन्ने आशा छ,” तरकारीका विरुवा गोडमेल गर्दै मुर्मुले सुनाउनुभयो–“आकाशे पानी पनि राम्रै परिरहेको छ । बजार भाउ बढ्यो भने निकै नाफा हुन्छ होला ।”

मेची पारि मेचीनगर–१५ मा ग्वालाबस्ती र शिसौडाँगी गरी दुई नेपाली वस्ती छन् । एक दशकमा लगभग आधा बस्ती बसाई हिँडेपछि खेतहरुमा भारतीयहरु आउन थालेको स्थानीयबासी बताउँछन् । नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम वर्षेनी बढ्दै गएको छ ।

वि.सं. २०१८ देखि ग्लालाबस्तीमा बसोबास गर्दै आउनु भएको ८२ वर्षीय राजेन्द्र यादवले वस्तीमा विकासे पूर्वाधार केही नभएको कारण बसाई हिँड्ने क्रम बर्षेनी बढ्दै गएको बताउनुभयो । बसाई हिँड्ने बढेपछि वस्तीका कतिपय खेत बाझैं रहने गरेका छन् । त्यही भएर सीमापारिका मान्छेहरुले नेपाली खाली भूभागमा आँखा लगाउन थालेको स्थानीय बताउँछन् ।

बसाई सरेर मेची वारि आएकाहरु खेतीका लागि मेची नदी तरेर जान रुचि राख्दैनन् । बरु, भाडामा खेती गर्न आउने भारतीयहरुलाई नै जग्गा दिने गरेको यादव बताउनुहुन्छ । 

बलौटे तर उर्वर माटो भएकाले त्यहाँ अन्नबालीभन्दा तरकारी बाली फस्टाउने गरेको भारतीय कृषक बासुदेव मुर्मु बताउनुहुन्छ । सो वस्तीमा कुनै नेपाली सुरक्षा पोस्ट नभएको हुँदा भारतीयलाई आउजाउ गर्न सहज छ । पाकेको बाली समेत उनीहरु ट्याक्टर र मोटरसाइकलमा लोड गरेर भारततिरै लैजान्छन् । 

“तरकारी फलेपछि भारतीय बजार बतासी र अधिकारीमा लगेर बेच्छौं,” उहाँले भन्नुभयो–“नेपाली जग्गामा फलेको सब्जी भनेपछि भारतीय हाटबजारमा किन्नेहरु हारालुछ गर्छन् ।” कहिलेकाहिँ धेरै उत्पादन हुँदा भारतका ठूला सीमावर्ती बजार पानीटंकी र नक्सलबारीमा लगेर सब्जी बेच्ने गरेको उहाँले जानकारी दिनुभयो ।

ग्वालाबस्तीमा पाँच बिगाहा बगरखेती भएका डुक्कु बेस्रा मेची वारि नै बसोबास गर्नुहुन्छ । मेची नदी तरेर जाने झञ्झट उठाउनुको साटो उहाँले पनि भारतीय नागरिकहरुलाई नै जग्गा भाडामा दिने गर्नुभएको छ ।

उहाँले दिएको जग्गामा तरकारी र अनारस (भुइँकटहर) खेती हुर्किरहेको छ । महँगो मूल्यमा विक्री हुने र विक्रीका लागि बजारको समस्या नरहेको अनारस खेतीमा भारतीय नागरिकहरुको आकर्षण बढेको पाइएको छ ।

ती जग्गामा सिञ्चाईका लागि इनार खनिएका छन् । इनारको पानीलाई सानो वाटरपम्प मेसिनको सहायताले तानेर खेत भिजाउने गरिएको छ । भारतीयहरुले उतैबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएका छन् ।

मेची पारिका ती वस्तीहरु तरकारी खेतीका लागि वर्षौदेखि प्रसिद्ध छन् । यहाँको बगरखेतीमा फल्ने खरबुजा, काक्रा, लौका, फर्सी जस्ता तरकारीले नेपालको भद्रपुर, काँकरभिट्टा, धुलाबारी र विर्तामोडसम्म बजार पाउँथ्यो । तर, एक दशक यता नेपालीहरुले खेतीपाती घटाउँदै लगेका कारण भारतीय नागरिकहरुको हालीमुहाली बढ्दै गएको छ ।

नेपाली सुरक्षा निकायको कुनै चौकी नभएको ग्लावाबस्ती र शिसौडाँगीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने बीओपी ज्यामिरगढीको गस्तीटोली कहिलेकाहिँ पुग्ने गरेको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।