१३ वैशाख २०८१, बिहिवार

नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुतगतिमा,

४ जेठ २०८०, बिहिवार
Image
Gallery Images

झापा, ४ जेठ  । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रुपमा रहेको सौर्य विद्युत परियोजनाको निर्माण कार्य द्रतगति रुपमा भइरहेको छ । शिवसताक्षी नगरपालिका-४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।

पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले बताउनुभयो । उहाँले साढे तीन बर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड-१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताउनुभयो ।

इनर्जीको नाममा खरिद गरेको २२ विगाह जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उहाँको भनाई छ । परियोजना निर्माणमा रु. ४० करोड लगानी भइसकेको बताउनुभयो । “यो नेपालकै ठूलो परियोजना हो, असारमसान्त भित्रमा काम सक्ने तयारी छ”, उहाँले भन्नुभयो, “धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाई भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ ।”

झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुछ्रे बैंकले रु ३५ करोड र शिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु.२० करोड शेयरदाताहरुबाट लगानी गरिएको बताउनुभयो । 

सो परियोजनाको कूल लागत रु. ७९ करोड रहने उहाँको भनाई छ । उहाँले जलविद्युत परियोजना भन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत परियोजनाबाट दिन सकिने बताउनुभयो ।

परियोजनाका मुख्य इन्जिनियर केशव चापागाईले २१ हजार ८४० थान प्यानल स्टेन जडान भइसकेको बताउनुभयो । हाल स्थापना गरिका प्यानल स्टेनमा ८१९ वटा सोलर प्यानल टेबल जडान गरिने उहाँको भनाई छ । “कुनै ठूला टेवल हुन्छन् कुनै साना”, उहाँले भन्नुभयो, “कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेवलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ ।”

विर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईले उत्पादित उर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचनाहरु एक बर्ष अघि नै तयारी भइसकेको बताउनुभयो उहाँले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । 

उर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र उर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उहाँले बताउनुभयो । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उहाँको भनाई छ । पर्यटकहरुलाई घुमफिर गर्न मिल्ने गरि परियोजनाको परिकल्पना गरिएको उहाँले बताउनुभयो । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी दुई वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्क समेत निर्माण गरिने छ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उहाँको भनाई छ । 

आगामी असोज १ गतेदेखि व्यावसायिक रुपमा सौर्य विद्युत उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणलाई यहाँ उत्पादित विद्युत प्रतियुनिट रु. ७.३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिनुभयो । 

झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य उर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाई छ । ---

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।