८ वैशाख २०८१, शनिवार

उपाध्यक्ष ढकाल गृहजिल्लामा सम्मानित

४ जेठ २०८०, बिहिवार
Image

विर्तामोड, ४ जेठ । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको उपाध्यक्ष पदमा निर्वाचित हेमराज ढकाललाई झापामा रहेका वस्तुगत संघहरुले सम्मान गरेका छन् । 

वस्तुगत संघहरुले ढकालसँगै झापाबाट प्रतिनिधित्व गर्दै महासंघमा निर्वाचित केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरेका छन् ।

नेपाल चिया उत्पादक संघको अगुवाइमा नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघ, नेपाल सुपारी खेती विकास संस्था, नेपाल भेनियर उत्पादक संघ, नेपाल प्लाईउड उत्पादक केन्द्रीय संघ, पूर्वाञ्चल प्लाईउड संघलगायतले महासंघका वस्तुगत उपाध्यक्ष ढकाल, नवनिर्वाचित केन्द्रीय सदस्य दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठ, वस्तुगततर्फकै केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ र भक्त हमाललाई संयुक्त रुपमा बधाइसहित सम्मान गरेका हुन् ।

भद्रपुरस्थित झापा उद्योग संघको सभाहलमा आयोजित समारोहका बीच उनीहरुलाई समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, समारोहका अध्यक्ष नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, सुपारी प्रशोधन तथा निर्यात व्यवसायी संघका अध्यक्ष, प्लाईउड केन्द्रीय संघका महासचिव दिनेश चापागाईं, भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, महासचिव दुर्गाप्रसाद भण्डारीलगायतले खादा अविर पहिर्याएर सम्मानपत्र प्रदान गरेका थिए ।

ढकाललाई महासंंघको वस्तुगततर्फको उपाध्यक्ष पदको उम्मेद्वारको रुपमा चिया उत्पादक संघले सिफारिस गरेको थियो भने झापाका सबै वस्तुगत संघले समर्थन जनाएका थिए । 

सोही अवसरमा हालै नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्य पदमा मनोनित नेपाल अलैंची व्यवसायी महासंका अध्यक्ष निर्मल भट्टराईलाई पनि वस्तुगत संघहरुले सम्मान गरेका थिए ।

सञ्चारकर्मी ईश्वर अधिकारीले सञ्चालन गरेको सो समारोहमा प्रमुख अतिथि ढकालले सम्मानित व्यक्तित्वहरुलाई बधाइ दिँदै वर्तमान राष्ट्रिय आर्थिक संकट समाधानका लागि सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे भने सम्मानित व्यक्तित्वहरुले पनि प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य एवम् विर्तामोड उद्योझापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, कोशी प्रदेश सदस्य विनोद वस्नेत, झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्वल राई, झापा उद्योग वाणिज्य संघका विशिष्ट मानार्थ सदस्य आदित्य पराजुली, नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, महासचिव नारायण चिमरिया, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदीपमणि रेग्मीलगायत उद्योगी–व्यवसायीहरुको उपस्थिति थियो ।