१२ साउन २०८१, शनिवार

आन्तरिक राजस्व कार्यालय झापा : आर्थिक मन्दीले घट्यो राजस्व

१० जेठ २०८०, बुधवार
Image


झापा, १० जेठ । आन्तरिक राजस्व कार्यालय झापाले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको जनाएको छ । 

जिल्लाका उद्योग धन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा परेको आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताउनुभयो । 

कार्यालयले चालु आर्थिक बर्षको १० महिनामा रु. दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । कार्यालयले सो अवधिमा दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । 

उहाँका अनुसार संकलन भएको रकम मध्ये करिब रु. एक करोड ५० लाख विगत बर्षहरुमा पूर्वअनुमानित आय विवरण तथा दाखिला गरेको करको अंक फरक परेका (मिसम्याच) करदाताबाट संकलन भएको हो । 

कार्यालयले आर्थिक बर्ष २०७९/८० को साउनदेखि बैशाख मसान्तसम्ममा आयकरवापत रु. १ अर्ब १२ ९९ लाख छ हजार संकलन गरेको छ । कार्यालयले आयाकर वापत रु. एक अर्ब ३१ करोड ६८ लाख नौ हजार रकम संकलन गर्ने लक्ष्य लिएको थियो । 

यसैगरी, मूल्य अभिवृद्धि करतर्फ रु. ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कवापत रु. ३७ करोड ३६ लाख १७ हजार राजस्व संकलन गरिएको उहाँले बताउनुभयो । प्रमुख कर अधिकृत रिजालले मूल्य अभिवृति र अन्तशुल्कतर्फ समेत लक्ष्य अनुसार संकलन नभएको बताउनुभयो । 

“सबै क्षेत्रमा आर्थिक संकटमा चुलिएको छ”, उहाँले भन्नुभयो, “त्यसको प्रत्यक्ष प्रभाव राजस्व देखियो ।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारीहरु नै रहेका उहाँले जानकारी दिनुभयो ।

आर्थिक मन्दीको अवसर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उहाँको भनाई छ । कार्यालय मतहातमा ५४ हजार बढी करदाता रहेको छन् । –––