२२ वैशाख २०८१, शनिवार

रिपोर्टरको डायरी

ढोकामै ‘एम्बुस थापे जस्तो’ शाैचालयकाे सेफ्टी ट्यांकी !

२६ असार २०८०, मङ्गलवार
Image

मेचीनगर, २५ असार । आठ वर्षीय वालक डुबेको धुलाबारीको ‘सानो साथी’ मन्टेश्वरी स्कुल पुग्दा शौचालयको सेफ्टी ट्यांकी देखेर जोकोहीको मुटु थरर काप्छ ।

मेचीनगर–१० को ‘सानो साथी किन्डर गार्टेन’ स्कुलमा अध्ययनरत् ८ वर्षीय तान्छोक लिम्बु सोमवार दिउँसो त्यही मुटु कमाउने सेफ्टी ट्यांकीमा कसैले पत्तो नपाउँदै डुबेर बेहोश भए ।

मध्याह्न १२ बजेतिर खाना खाएपछि कतिबेला शौचालयतिर गए र कतिबेला सेफ्टी ट्यांकीभित्र डुबे भन्ने स्कुलका सञ्चालक र शिक्षक कसैले भेउ पाएनन् । निकैबेरपछि कक्षामा तान्छोपलाई नदेख्दा उनको खोजी भयो । स्कुलभित्र र बाहिर खोजी गर्दा उनलाई डुबेर हप्याक्हप्याक् भइरहेको फेला पारिएको थियो ।

लगत्तै उद्धार गरेर उपचारका लागि बीएन्डसी हस्पिटल पुर्याइएका तान्छोप सोमवार साँझसम्म पनि मृत्युसँग कठोर संघर्ष गरिरहेका छन् । उनको अवस्था अत्यन्त ‘क्रिटिकल’ रहेको बताइएको छ । 

लोकतन्त्र पोस्ट पुग्दा


घटना भएको केही घण्टापछि लोकतन्त्र पोस्टका प्रतिनिधिहरु स्कुल पुग्दा मुलगेटमा ताला लगाइएको थियो । परिसरभित्र कसैलाई छिर्न दिइएको थिएन । बाहिर धुलाबारी र काँकरभिट्टाबाट आएका प्रहरीको ठूलो संख्या तैनाथ थियो ।

हामीले घटनास्थल हेर्न स्कुलको गेट रुघिरहेका प्रहरीसँग अनुमति माग्यौं । उनीहरुले ‘भित्र छिर्न नमिल्ने’ बताए । त्यसपछि हामीले पत्रकारलाई पनि हेर्न नदिने भनेर फेरि प्रश्न गर्यौं । ‘सोध्नु पर्ने’–ड्युटीका एक प्रहरीले बताए ।

हामीले इलाका प्रहरी कार्यालय धुलाबारीका एक प्रहरी अधिकृतलाई फोन सम्पर्क गरेपछि भित्र हेर्ने अनुमति पायौं ।

बालक डुबेको ठाउँ

स्कुलको मूलगेट छिर्नासाथ साना बच्चाहरुले खेल्ने पिङ र चिप्लेटीहरु सुनसान थिए । केही टिफिन केरियर र विद्यार्थीका सामान परिसरमै छाडिएका थिए । हामीले अनुमान लगायौं–‘अप्रिय घटनापछि अभिभावकहरुले आफ्ना नानीबाबुलाई अत्तालिएर बाहिर लैजाँदा सामानहरु छाडिएका होलान् ।’

हाम्रो टोली सरासर स्कुल भवनको पछाडि गयो । राजमार्गसँगै जोडिएको दक्षिण फर्किएको भवनको पछाडितिरको पश्चिमी कुनामा शौचालय रहेछ । शौचालयको ढोकामै थियो बालक छिरेको प्वाल ।

शौचालय उघारै थियो । तर हाम्रा आँखा सिधै सेफ्टी ट्यांकीको प्वालतिर गयो । सिमेन्टको दिवालबाट बनाइएको सेफ्टी ट्यांकीको बिर्को चाहिँ किन नबनाइएको वा नलगाइएको होला ? मनभरि यही प्रश्न उब्जियो ।

उघारै ट्यांकीको प्वालतिर नाक थुन्दै निहुरिएर हेर्यौं । एउटा डण्डी छिराएर ट्यांकीको गहिराई नाप्यौं । बाफ रे बाफ्, बच्चाहरु चुर्लम्मै डुब्ने गहिरो ट्यांकी रहेछ । ह्वास्सै गन्हाउने धमिलो पानीमा नर्कहरु तैरिरहेको र कीराहरु सलबलाइरहेको देखिन्थ्यो । 

दुर्घटनालाई निम्तो दिने शौचालय


मन्टेश्वरीमा पढ्ने बच्चाका लागि मात्र होइन, त्यहाँको शौचालय ठूलै मानिसका लागि पनि योग्य छैन । किनकि, त्यहाँ जाने बाटोमा पानी जमेको छ भने झारहरु बढेर सर्पले डस्ने उत्तिकै जोखिम हुन्छ ।

ट्यांकीको प्वाल नजिकै झाडीमा फालिएको रहेछ ट्यांकीको बिर्कोको रुपमा प्रयोग गरिएको प्लाईउडको पाता । पुरानो जीर्ण भएर मक्किएको प्लाइउडको टुक्रालाई नै ट्यांकीको दूलो छोपछाप पार्ने बिर्कोको रुपमा प्रयोग गरिदै आएको रहेछ ।

तान्छोप सम्भवतः बालसुलभ शैलीमा शौचालय आउँदै थिए होलान् । शौचालयको ढोका पुग्नु अघि त्यही ‘एम्बुस थापे जस्तो’ सेफ्टी ट्यांकी आउँछ । प्लाइउडमा खुट्टा पर्नासाथ के अवस्था होला, कल्पना गर्दा समेत मुटु ढुकढुक भयो ।

यसअघि धन्न कसैको खुट्टा त्यो ‘एम्बुस थापे जस्तो’ सेफ्टी ट्यांकीमा परेको रहेनछ भन्ने सोच्दै हामी स्कुल परिसरबाट बाहिरियौं ।

‘चरम लापरवाही नै हो’

स्कुलबाट बाहिरिएपछि हामीले वडाध्यक्ष नारायण खनालसँग प्रतिक्रिया लियौं । 

‘यो त हन्ड्रेड पर्सेन्ट लापरवाही हो,’ उहाँले स्कुल सञ्चालकहरुको कमजोरीप्रति आक्रोश पोख्दै भन्नुभयो–‘शौचालयको बिर्को पनि मक्किएको प्लाईउडको पाप्रोले लगाउने ? पढ्ने बच्चा एकछिन कतै जान्छ कि भनेर निरन्तर निगरानी हुनुपर्छ कि पर्दैन ?’

उहाँले स्कुलले शिक्षा सम्बन्धी कुनै पनि निकायबाट अनुमति लिएको नपाइएको समेत जानकारी दिनुभयो । धेरै वर्षअघि वडा कार्यालयबाट एउटा पत्र लिएको देखिएको उहाँले बताउनुभयो ।

अनुगमन नगर्नेहरु पनि दोषी

शिक्षा प्रदायक विद्यालयहरुको के कस्तो अवस्था छ भनेर कहिल्यै अनुगमन नगर्ने सम्बन्धित निकायहरु पनि दोषमुक्त हुन सक्दैनन् ।

बिगतमा सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत स्कुलहरुको नियमित अनुगमनका लागि विद्यालय निरीक्षक (बिनि) नियुक्त गर्दथ्यो ।

संघीयताको अभ्यास अन्तर्गत स्कुलहरुको अनुगमन लगायतको सम्पूर्ण जिम्मेवारी अब स्थानीय सरकार (पालिका)हरुको हो । 

पालिकाको शिक्षा शाखाले नै सरकारी, निजी र धार्मिक विद्यालयहरुको अनुगमनको जिम्मेवारी पाएको हुन्छ । नगरपालिकाको हकमा उपप्रमुखलाई अनुगमन प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई अनुगमन अधिकृतको कानूनी जिम्मेवारी दिइएको हुन्छ ।

लगभग एक दशकदेखि सञ्चालनमा रहेको ‘सानो साथी किन्डर गार्टेन’को दर्ता समेत नभएको वडाध्यक्ष स्वयम्ले बताउनु भएको छ । आफ्नो वडामा रहेका स्कुलहरुको अनुगमन गर्ने अधिकार वडाध्यक्षलाई समेत हुन्छ । यो स्कुलमा नगरपालिका र वडाले कहिल्यै अनुगमन नगरेको घटनाक्रमले पनि स्पष्ट भएको छ ।


लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)