२७ वैशाख २०८१, बिहिवार

चन्द्रमा टेक्यो भारतको चन्द्रयानले

६ भदौ २०८०, बुधवार
Image

झापा, ५ भदौ । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा एक मानवरहित अन्तरिक्ष यान सफल अवतरण गराउँदै इतिहास रचेको छ ।

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो ।

चन्द्रयान–३ को विक्रम ल्यान्डर योजना अनुरुप नै भारतीय समय अनुसार बुधवार ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गरेको थियो ।

४ जुलाईमा भारतीय समय अनुसार दिउँसो २ बजेर ३५ मिनेटमा श्रीहरिकोटाबाट उडान गरेको चन्द्रयान–३ चालीस दिन लामो यात्रा पूरा गर्दै चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेको हो । 

अवतरणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो)को नियन्त्रण कक्षमा उपस्थित मानिसहरू र सम्पूर्ण भारतीयहरूलाई बधाई दिँदै त्यस क्षणलाई ‘अविस्मरणीय र अभूतपूर्व’ बताए ।

चन्द्रयान–३ ले चन्द्रमाको सतह छोए लगत्तैदेखि भारतभर खुसीयाली मनाइएका छन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासा र युरोपेली अन्तरिक्ष निकाय इएसएले चन्द्रयान–३ को सफलताका लागि इसरोलाई बधाई दिएका छन् ।

वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले उक्त अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको थियो ।

गत सप्ताहान्तमा उस्तै लक्ष्य बोकेको रुसी अन्तरिक्षयान अवतरणका क्रममा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो ।

चन्द्रयान–३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ । पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन् ।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ ।

चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ ।

यसअघि अमेरिका, तात्कालिक सोभियत संघ र चीन सबैले इक्वेटर पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्–‘हाम्रा वैज्ञानिकहरूको कडा मिहिनेत र प्रतिभाले हामी चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका छौँ, जहाँ विश्वको कुनै पनि देश पुग्न सकेका छैनन् । अब चन्द्रमासँग सम्बन्धित मिथकहरू फेरिनेछन्, कथा पनि फेरिनेछन्, नयाँ पुस्ताका लागि भनाइहरू पनि फेरिनेछन् ।’

भारतको यस तेस्रो चन्द्र अभियानको सफलताको प्रार्थना गर्दै त्यहाँ बुधवार दिउसैदेखि मन्दिर, मस्जिद र गिर्जाघरहरूमा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएका थिए।

यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान–२ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो ।

तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो ।

सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिसन चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।

नेपालका पूर्व प्रधानमन्त्री केपी ओलीले ट्वीट गरेर चन्द्रयानको सफल अवतरणका लागि भारतलाई बधाइ दिएका छन् ।