१ असोज २०८१, मङ्गलवार

‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती

३ असोज २०८०, बुधवार
Image

झापा, ३ असोज । जलथल क्षेत्रका सामुदायिक वनमा कृषिजन्य वस्तु लगाउन सुरु गरेपछि ‘प्याङ्ग्री’ भनेर चिनिने मिचाहा झारको एक प्रजाति माइकेनिया नियन्त्रण हुन सुरु भएको छ ।

प्याङ्ग्री झारले खाली रहेका अधिकांश ठाउँमा फैलिएर रैथाने र उपयोगी बनस्पतिलाई मास्न थालेपछि सामुदायिक वनहरुले कृषिजन्य वस्तु बेसार, अदुवा अम्रिसो लगाउन थालेका हुन् । जसका कारण प्याङ्ग्री लहरा नियन्त्रण क्रमिक रुपमा हुँदै गएको फरेष्ट एक्सन नेपालका संयोजक डा= लीलानाथ शर्माले बताउनुभयो ।

फरेष्ट एक्सन नेपालले रोयल बोटानिकल गार्डेन इडनवर्गसँगको सहकार्यमा प्राकृतिक वनको पुनस्र्थापना र मिचाह प्रजाति नियन्त्रणको विगत पाँच बर्षदेखि सो क्षेत्रमा काम गर्दै आएको छ । उहाँले सुरुमा वन उपभोक्ता समितिहरुलाई मिचाह प्रजातिको झार फाड्नको लागि आर्थिक सहयोग समेत गरेको जानकारी दिनुभयो ।

“प्याङ्ग्री लहरा र वनमारालाई वनक्षेत्रमा नियन्त्रण गर्न सबैभन्दा प्रभावकारी रणनीति भनेको रुखको घनत्व बढाउनु हो”, संयोजक शर्माले भन्नुभयो, “वन क्षेत्रमा बेसार, अम्रिसो लगाउँदा राम्रो गोडमेल हुन्छ, त्यसले प्याङ्ग्री पनि नष्ट हुने र नयाँ विरुवा पनि उम्रने देखिएको छ ।” उहाँले हाल सो क्षेत्रमा एक लाख बढी मसला, रुद्राक्ष, कदमलगायत विभिन्न प्रजातिका विरुवाको पुनरुत्थान भएको जानकारी दिनुभयो ।

उहाँले सामुदायिक वन आफैंले प्याङ्ग्री लहराबाट कम्पोष्ट मल बनाइरहेको बताउनुभयो । प्याङ्ग्री लहराबाट बार्षिक एक सय टन भन्दा बढी कम्पोष्ट मल बनिरहेको उहाँले बताउनुभयो । जुन मल स्थानीय उपभोक्ता आफैं र चिया बगानले खरिद गरेर प्रयोगका लागि लैजाने उहाँको भनाई छ ।

जलथलका २२ वटा सामुदायिक वन मध्ये छ वटा वनले उपभोक्तालाई जागरुक बनाएर बेसार खेती लगाएका छन् । जसबाट उपभोक्ताले राम्रो आम्दानी गरेका छन् भने प्याङ्ग्री लहरा नियन्त्रण समेत भइरहेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले बताउनुभयो । उहाँका अनुसार हाल २२ वटा सामुदायिक बनमध्ये छ वटाले करिब २० विगाहभन्दा बढीमा बेसार र १५ विगाह बढीमा अम्रिसो खेती गरिरहेको जानकारी दिनुभयो ।

वनमा प्याङ्ग्री लहरा, उल्टा काँडालगायत विभिन्न प्रजातिका मिचाह झारले धानको विस्कुन सुकाए झै भूईमा लहरिने हुँदा अन्य बोट विरुवालाई उम्रन नदिएको अवस्थामा यसलाई हटाएर कृषि वन कार्यक्रम सञ्चालन गर्ने कार्य एक्सनको उत्कृष्ट रहेको उहाँको भनाई छ । 

अध्यक्ष पोर्तेलले उपभोक्ता र वन समूह आफैंले करिब चार विगाह बढी जमिनमा बेसार र पाँच विगाहबढीमा अम्रिसो खेती गरिरहेको बताउनुभयो । उहाँले बेसार रोपको क्षेत्रमा प्रशस्त मात्रमा विरुवा उम्रिएको र प्यांग्री लहराको प्रभाव कम भएको अनुभव सुनाउनुभयो ।

झापाको जलथल जङ्गल नेपालकै एक मात्र यस्तो बन क्षेत्र हो, जहाँ पहाडमा मात्र पाइने बोटविरुवा र जीवजन्तु समेत पाइन्छ । स्थानीय वयोवृद्ध वीरबहादुर गिरीका अनुसार जलथल जङ्गलमा पहाडमा मात्र पाइने पात्ले कटुस र चिलाउनेको रुख पाइएको छ भने पहाडमा हुने दुम्सी समेत यहाँ पाइन्छ ।