३ असोज २०८१, बिहिवार

पूर्वीनाकाको चेकजाँचमा तालिमप्राप्त कुकुरको प्रयोग

२४ असोज २०८०, बुधवार
Image

झापा, २४ असोज । लागूऔषध र विस्फोटक पदार्थ सीमामै नियन्त्रण गर्ने उद्देश्यले पूर्वीनाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तामिमप्राप्त कुकुरको प्रयोग गर्न थालेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिमप्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले बिष्फोटक पदार्थ सुँघेरै थाहा पाउने तालिम पाएको बताइएको छ ।

अर्को कुकुरको नाम ‘पिंकु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र यातायातको साधनमा लुकाएर ल्याएको लागू औषध सुँघेर पत्ता लगाउँछ । ती कुकुरलाई परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् ।

भारतको पश्चिम बंगाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागालेन्ड लगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो । स्थलमार्गबाट भूटान, बंगलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् ।

प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुबै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको प्रनाउ भारतीले बताउनुभयो । 

“चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागू औषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाईछिपाई भित्राउने कार्य बढ्ने भएकाले चेकजाँचमा तामिमप्राप्त कुकुरको प्रयोग गरेका हौं,” उहाँले भन्नुभयो–“लागू औषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रित गरे तापनि भारतबाट ल्याउने कार्य रोकिएको छैन । कुकुरले सवारी साधन र शरीरमा लुकाएर ल्याएको लागू औषध पनि सुँघेर थाहा पाउने भएकाले चेकजाँच कार्य अझ प्रभावकारी हुने आशा गरेका छौं ।”

पूर्वीनाका काँकडभिट्टामा सुरक्षा जाँचलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रहरीको योजना रहेको उहाँले बताउनुभयो । दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारी साधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमान समेत रेकर्ड गर्नसक्ने अत्याधुनिक राडारगन सहितको सीसी क्यामेरा जडान गरिएको उहाँले जानकारी दिनुभयो । 

उक्त सीसी क्यामेराले राजमार्गमा ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेटको तस्वीर खिच्ने र अभिलेख राख्ने कार्य गर्दछ । सवारी साधनको गतिमान समेत रेकर्ड गर्ने भएकाले सवारी सम्बन्धी अपराध अनुसन्धान गर्न र राजमार्गको चेकजाँच गर्न उक्त प्रविधिले मदत पुर्याइरहेको प्रनाउ भारतीेले बताउनुभयो ।