९ माघ २०८१, बुधवार

भानुुजयन्तीमा झल्कियो सिक्किमेलीको एकता

३२ असार २०८१, सोमवार
Image

गान्तोक, २९ असार । नेपालको पूर्वोत्तर सीमाले छोएको भारतको हिमाली राज्य सिक्किम प्राकृतिक सौन्दर्य र पर्यावरणीय जागरणका दृष्टिले जति प्रख्यात छ, यहाँको साम्प्रदायिक सद्भाव र जातीय मेलमिलाप त्योभन्दा कम छैन ।

राजधानी गान्तोकमा आज आयोजना भएको २१० औं भानु जयन्तीमा सिक्किमेलीको एकता र सद्भाव खुलेरै प्रकट भएको देख्न पाइयो ।

डेढ शताब्दी अघि सरल नेपाली भाषामा अनुवाद गरेको बाल्मिकी रामायणले आदिकवि भानुभक्त आचार्यलाई नेपालको सरहद बाहिर पनि उत्तिकै चर्चित तुल्यायो । नेपालमा उनलाई भाषिक एकीकरण गरेको श्रेय दिइने गरेको छ ।

तर, नेपाल बाहिर भारत लगायत नेपाली पुगेको विश्वको जुनसुकै कुनामा आदिकवि भानुभक्तलाई नेपालीभाषीलाई एकसूत्रमा जोड्ने सेतुको रुपमा सम्मान गरिएको पाइन्छ । भारतको सिक्किममा भानुभक्तप्रतिको प्रेम र सम्मान अन्यत्रको तुलनामा उदाहरणीय नै रहेको छ ।

आज विहान गान्तोकको भानु उद्यानमा भानु जयन्ती मनाउन भेला भएको जनसुनामीमा सिक्किमका सबै जाति र भाषीको उत्तिकै सहभागिता थियो । स्थानीय भुटिया, लेप्चा, तामाङ, गुरुङ, लिम्बु, राई, मगर, नेवार लगायतका जात जातिका मानिसहरु नेपाली भाषाका आदिकवि भानुभक्तको जयजयकार गर्दै शोभायात्रामा लामवद्ध भएका थिए ।


भानु उद्यानमा रहेको पूर्णकदको भानु प्रतिमामा सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पुष्पार्पण मात्र गर्नु भएन, उहाँले भानुभक्तबाट रचित रामायणको रोचक श्लोकहरु बाचन गरेर कार्यक्रमलाई नै भावुक बनाइदिनु भयो ।

नेपाली साहित्य परिषद् सिक्किमले आयोजना गरेको यो कार्यक्रमलाई सिक्किम सरकारले मुख्य कार्यक्रमको रुपमा स्वीकार गरेको नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुंगेलले बताउनुभयो। मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष कारणवश राज्यबाहिर रहनु भएको हुँदा कार्यक्रममा सहभागी हुन नसक्नु भएको बताइएको थियो । 

सरकारका विभिन्न मन्त्री, लोकसभाका सांसद्, विधानसभाका सांसद्, साहित्यकार, पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि रहनु भएको हिन्दीभाषी राज्यपाल आचार्यले स्पष्टताका साथ नेपाली भाषामा भाषण र रामायणको श्लोक बाचन गरेको दृश्यले सिक्किममा नेपाली भाषाले उच्च सम्मान पाएको प्रष्ट झल्कन्थ्यो ।

“सबै जाति र भाषाभाषी एकैथलोमा बसेर पर्व मनाउने परम्परा विश्वको कुनै ठाउँमा छ भने त्यो सिक्किम नै हो,” राज्यपाल आचार्यले भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै भन्नुभयो–“आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र समाजको एकता र विकासमा महान योगदान पुर्याउनु भएको छ ।”


विहान प्रभातफेरि र दिउँसो पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । आयोजक नेपाली साहित्य परिषद्का महासचिव निलम न्यौपानेका अनुसार भानु जयन्तीलाई सिक्किम सरकारले राज्यको मुख्य पर्व मानेको बताउनुभयो । 

“पहिले पहिले चन्दा उठाएर भानु जयन्ती मनाउने गरिन्थ्यो, तर अहिले राज्यले नै सहयोग गर्न थालेको छ,” उहाँले भन्नुभयो–“पीएस गोले (प्रेमसिंह तामाङ) मुख्यमन्त्री बनेपछि चन्दा उठाउने बाध्यता हट्यो ।”

सिक्किममा नेपाली भाषी ८० प्रतिशतभन्दा बढी छन् भने राज्यमा २१ भन्दा बढी भाषा बोलीचालीमा रहेको नेपाली साहित्य परिषद्का सदस्य कुबेर बिष्ट बताउनुहुन्छ । राज्यमा नेपाली र अंग्रेजी भाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता छ ।

सिक्किमको संसद्मा नेपाली भाषामा सांसद्हरुले बोल्छन् । भारतीय संविधानको आठौं अनुसूचीमा तीस वर्ष अघि नै नेपाली भाषालाई सूचीकृत गरिसकेको हुँदा नेपाली भाषाले त्यहाँको लोकसभा र राज्यका सभाहरुमा मान्यता पाउँछ ।


नेपाली साहित्य परिषद्ले दशकौंदेखि भानु जयन्तीका दिन विशेष समारोह गर्दै आएको छ भने भानु पुरस्कार वितरण गर्दै आएको छ । यसपाली लेप्चा समुदायका अगुवा डुप छिरिङ लेप्चा रु. ५१ हजार नगद र ताम्रपत्रसहित भानु पुरस्कारले सम्मानित हुनु भयो । 

नेपाली भाषीको एकलौटी कार्यक्रम नबनाएर परिषद्ले सिक्किममा बसोबास गर्ने सबै भाषाभाषीको उचित कदर गर्ने परम्परा बसाएको छ । सिक्किममा भानु जयन्तीमा राज्यभर सरकारी विदा दिने प्रचलन रहेको छ । यो पनि भानुप्रतिको उच्चस्तरको कदर हो ।

जस्तो काम उस्तै नारा । यसपाली सिक्किममा मनाइएको भानु जयन्तीको नारा “हाम्रो एकता, हाम्रो समृद्धि” तय गरिएको रहेछ । 

सिक्किमका वरिष्ठ मन्त्री अरुण उप्रेतीले समारोहलाई सम्बोधन गर्दै सिक्किममा सबै भाषी र जातिबीचको एकताकै कारण सुख, शान्ति र समृद्धि छाएको बताउनुभयो ।


लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)