२० असोज २०८१, आइतवार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२० असोज २०८१, आइतवार
Image

दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ हजार रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१८ रझेना बस्ने ३४ वर्षीय अर्जुन बिश्वकर्मा र २५ वर्षीय प्रेम बिश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको रा.८ प १२५९ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।  

मोरङ, रतुवामाइ नगरपालिका-२ झुर्कियास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट ११ ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनबर्षी नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश परियार र रतुवामाई नगरपालिका-८ बस्ने २६ वर्षीय बसन्त राई रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले को.२० प ८४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, रतुवामाइ नगरपालिका-१ हटियाडाँडास्थित सडकबाट नियन्त्रित लागूऔषध बायोस्पास १ सय १ ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र ट्रामानिल १ सय ८ ट्याब्लेट सहित झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २२ वर्षीय बिबश लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण  शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिम, पाल्हीनन्दन गाउँपालिका-३ बेलाशपुरस्थित आँपको बगैचाबाट नियन्त्रित लागूऔषध डाईजेपाम  ५० एम्पुल, फेनारागन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित नवलपरासी रामग्राम नगरपालिका-९ जोकवार बस्ने १९ वर्षीय राज कुमार जैसवाल समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।