१५ पुष २०८१, सोमवार

विश्लेषण

यो जित कसको–राजन चिमरियाको !

४ मंसिर २०८१, मङ्गलवार
Image

मेचीनगरको वडा नं. १२ का राजन चिमरिया चर्चामा हुनुहुन्छ । कहिले झुस्स फ्रेन्चकट र कहिले ऋषिमुनि स्टायलको दाह्री पाल्ने उहाँको मुस्कुराएर बोल्ने बानी छ । कुनै पनि विहान उहाँलाई गाई गोठमा भकारो सोहोरिरहेको या दुध दुहिरहेको भेटिन्छ । दुःखी, गरीवी र असहायको आँगनमा पुगेर सहयोग पुर्याउनु उहाँको धर्म हो । उहाँलाई चिया बगानको मजदूरको घरमा पसेर मच्छड धपाउँदै निःशुल्क झुल वितरण गरिरहेको भेटिन्छ । डाक्टरको मुख हेर्ने पैसा नभएका विपन्न परिवार खोजीखोजी उहाँ आफ्नो निजी खर्चमा स्वास्थ्य विमा गरिदिनु हुन्छ । गाई पाल्ने रहर भएका तर किन्ने क्षमता नभएका सहिद तथा जनान्दोलनका योद्धा परिवारलाई लहिनो गाई उपहार दिनुहुन्छ ।

यस्ता थुप्रै परोपकारी कर्ममा समर्पित चिमरिया असली समाजसेवीको रुपमा पहिलेदेखि परिचित हुनुहुन्थ्यो । पहिले उहाँ आम मानिसको मन जित्दै हुनुहुन्थ्यो । यसपटक शानदार ढंगले मत जितेर चर्चित बन्नुभयो । मेचीनगरको तेस्रो ठूलो खानेपानी परियोजना ‘चारआली साना सहरी तथा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था’ मा मंसिर १ गते निर्वाचन सम्पन्न भएको थियो । मंसिर २ गते मतगणना हुँदा नेकपा एमाले र नेपाली कांग्रेसको प्यानललाई भारी मतान्तरले पराजित गर्दै उहाँ आफ्नो नेतृत्वमा रहेको प्यानलै जिताउन सफल बन्नुभयो । यसपछि उहाँको चर्चा स्थानीय गाउँ, नगर र जिल्ला हुँदै मुलुकभर चुलिएको छ ।

चिमरिया नेकपा माओबादी केन्द्र मेचीनगरको अध्यक्ष हुनुहुन्छ । झापा जस्तो एमाले र कांग्रेसको ज्यादा प्रभाव रहेको भूगोलको खानेपानी निर्वाचनमा आम मतदाताले माओबादीका उम्मेद्वारलाई अध्यक्ष पदमा निर्वाचित गराउँदा अरुको त के कुरा गरौं, स्वयम् माओबादी समर्थक पनि छक्क परेका छन् । मुलुकको राजनीतिमा कांग्रेस–एमालेले गठबन्धन बनाएर सत्ता कब्जा गरेपछिको अवस्था माओबादीका लागि रक्षात्मक थियो । मेचीनगरमै पनि माओबादी जनमत ओराली यात्रामा रहेको पछिल्ला चुनावी नतिजाहरुले देखाएका थिए । तर, चिमरिया खानेपानीको दलीय चुनावमा माओबादीका लागि हौसलाको उछाल बन्नु भयो ।

यो परिणामलाई लिएर जनमत कांग्रेस–एमालेको विपक्षमा गएको र माओबादीप्रति उत्पात समर्थनको लहर आएको निचोड सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ । धरातलीय यथार्थ बुझेकाहरुले त्यस्तो निष्कर्षमा विश्वास गर्दैनन् । प्राविधिक रुपमा माओबादीसहितको गठबन्धनले चुनाव जितेकै हो । यद्यपि, धरातलीय यथार्थ के हो भने चुनाव राजन चिमरियाले जित्नु भएको हो । उहाँको लोभलाग्दो सामाजिक व्यक्तित्वले चुनाव जितेको हो । 

राजन चिमरिया माओबादीको नेता अवश्य हो । उहाँ त्योभन्दा बढी समाजको सेवक हो । कांग्रेस र एमालेका नेताहरु जताततै शासक बनिरहेको बेला मतदाताले विवेक लगाएर सेवकलाई रोजे । स्मरण शक्ति तीक्ष्ण हुनेहरुलाई सम्झना होला, उहाँले २०७९ को चुनावमा माओबादी पार्टी परित्याग समेत गर्नुभएको थियो । चित्त नबुझ्दा उहाँ पार्टीसँग पनि विद्रोह गर्ने क्षमता राख्नुुहुन्छ । भइदियो के भने उहाँलाई माओबादीले छाड्नै मानेन । चिमरियाले पार्टी छाडेपछि पनि माओबादीले चाहिँ चिमरियालाई रोजिरहेको हो ।

उहाँलाई कांग्रेस र एमालेका ठूलै तहका नेताहरुले आफ्नो पार्टीमा आइदिनु पर्यो भनेर उसबेला नफकाएका होइनन् । उहाँले सोच्नुभयो–पार्टी जुन भए पनि फरक नपर्ला, तर आफ्नो कर्म चाहिँ असल हुनुपर्छ । विपक्षी पार्टीप्रति कटुवचन गर्न नरुचाउने उहाँले माओबादीलाई नै राजनीतिक रुपमा साथ दिइरहनु भयो । २०७९ को चुनावमा माओबादीले उहाँलाई प्रदेश सांसद्को टिकट दिएको भए परिणाम उल्टिने थियो भनेर धेरैले विश्वास गर्छन् । पार्टी छाड्दा आवेशमा आउनुभयो, तर धैर्य भने गुमाउनु भएन । त्यही भएर माओबादीका अध्यक्ष प्रचण्डदेखि अरु दलका उपल्लो तहका नेताहरुले पनि उहाँलाई सम्मानका दृष्टिले व्यवहार गर्छन् ।

राजनीतिक रुपमा पछिल्लो जनमत कस्तो छ भनेर पर्गेल्न २०७९ को स्थानीय चुनावलाई नै आधार मान्नु पर्छ । चिमरियाले खानेपानीको चुनाव जितेको वडा नं. ११, १२ र १३ नम्बर वडामा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडा नं. १४ मा भने माओबादीकै वडाध्यक्ष हुनुहुन्छ । अहिले चार वटै वडाको जनमत माओबादीतिर गएको भनेर निचोड निकाल्नु हचुवा ताल हुनेछ । चार वटै वडामा १३ हजार २३२ आम मतदाता हुनुहुन्छ । जसमध्ये खानेपानीको चुनावमा मतदान गरेका एक हजार ७८१ जना उपभोक्ता भनेको आम मतदाताको १३.४६ प्रतिशत मात्र हो । तसर्थ, खानेपानीको मतदाताले वडाको अत्यन्त सानो हिस्साको मात्र प्रतिनिधित्व गरेको हुन्छ । पुरै मतदाताको रुझान भनेर खानेपानीको परिणामलाई ठोकुवा गर्न मिल्दैन । मतदाताको रुझान भनौं या समर्थनको लहर, राजन चिमरियाको पक्षमा आएको पक्का हो । मतदाताले रुख र सूर्यलाई तिरस्कार गरेर गोलाकारभित्रको हँसिया हथौडा रोजेको भन्न चाहिँ मिल्दैन ।

जनताको मन जित्दै चिमरिया मेचीनगरको मेयर या प्रदेश क्षेत्रको सांसद् बन्न चाहनुहुन्थ्यो । २०७९ को चुनावमा प्रदेश सांसद्को उम्मेद्वार बन्ने लगभग निधो भइसकेपछि उहाँले टिकट पाउनु भएन । उहाँलाई त्यसबेला स्वतन्त्र रुपमा उठ्न दवाव पनि थियो । पार्टी नै छाडेको विज्ञप्ति निकाले पनि धैर्य गरेर उहाँले आम निमुखा जनताको सेवा गरिरहने धर्म भने छाड्नु भएन । सामाजिक कार्यमा ऋतिका डेरीको सञ्चालकको राम्रो छवि उहाँलाई अघि बढ्न ऊर्जा बन्न पुग्यो ।

यो चुनावले नागरिकको नेतृत्व गर्छु भनेर इच्छा हुनेहरुलाई जनताको मन जित्नेगरी सामाजिक सेवा गरेर देखाउ भन्ने सन्देश दिएको छ । राजन चिमरियाको व्यक्तित्व औसत अहिलेका राजनीतिक नेताको भन्दा भिन्न थियो । चिमरिया कहिल्यै मदिरालयमा ‘वाग्नर’ जत्थासँग भोज खाँदै गरेको भेटिनु भएन । ठेक्कापट्टा र ढुंगागिटीको कमिसनमा हात थाप्दै गरेको भेटिनु भएन । बिचौलिया बनेर बद्नाम हुनुभएन । आफ्नै खानुभयो । आफ्नो गाडीमा आफ्नै इन्धन जलाउनुभयो । त्यही भएर एमाले र कांग्रेसका मतदाताले पनि एउटा स्वाभिमानी र इमानदार नेताको रुपमा राजन चिमिरियालाई नै खोजे, उहाँलाई नै रोजे । चिमरियाभन्दा राम्रो अर्को उम्मेद्वार बहुमत मतदाताले देखेनन् ।

लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)