२ माघ २०८१, बुधवार

कृति परिचय

मैले चिनेको साहसी ज्ञानु सर

१८ मंसिर २०८१, मङ्गलवार
Image

मीना अधिकारी

लेखक ज्ञानु बुढाथोकीसँगको मेरो पहिलो भेट बिर्तामोडको साई पार्टी प्यालेसमा आयोजित एउटा भव्य साहित्यिक  कार्यक्रममा जुरेको थियो ।

क्यान्सर लागेर जीवन र मृत्युसँग संघर्ष गरिरहनु भएको भन्ने कुरा अरुबाट नै जानकारी पाएकी हुँ । उहाँको पहिलो कृति याङरुप उपन्यास उक्त कार्यक्रममा विमोचन भएको थियो ।

ताप्लेजुङ जिल्लाको पूर्वी भागलाई याङरुप क्षेत्र भनिँदो रहेछ । यही नाममा उहाँले किताबको कभरपट्टि याङरुपको तस्वीर राख्नु भएको छ । कृतिकार ज्ञानु बुढाथोकी रोग लागे पनि आत्मबल दह्रो पारेर हाँस्न सक्ने र समयलाई एकै रति पनि खेर नफालिकन दुःख दर्दलाई बिर्सिएर बाँच्दै केही गरौँ भन्ने साहसिलो ब्यक्ति हुनुहुँदोरहेछ । मान्छे साधारण भए पनि उच्च मनोवल भएका ज्ञानु सरलाई म यसरी नै चिन्दछु ।

उहाँले यो उपन्यासभित्र कसैको पनि भूमिका लेखाउनु भएको छैन । यो पहिलो कृति भए पनि अव्बल छ ।

यो उपन्यास किन लेखियो भनेर उहाँ आफैले यसरी परिभाषा गर्नु भएको छ ।

१. काललाई झुक्याउन

२. मै मरी जाउँला, कथा हराउला भन्ने डर

३. बा (बुवा)को अनुहार 

४. आमाले किन छोडी जान्छन्, आफ्नै मुटुका टुक्राहरु ? को उत्तर

५. साथी सबैभन्दा माथि 

६. याङरुप चिन्हाउने आँखीझ्याल

७. फावा जिन्दगीलाई लेखनतिर

यही परिभाषामा कृतिको सार पनि भेटिन्छ ।

यो याङरुप क्षेत्रको परिवेश समेटिएको सामाजिक उपन्यास हो । जसमा जम्मा ३६ वटा शीर्षकमा उपन्यास सलल बग्छ । भित्र पसेर पढ्दै जाँदा आफूलाई आपतविपत परे पनि आत्मबल दह्रो पारेर हिड्नुपर्छ भन्ने शिक्षा पाइन्छ । 

तीनसय एक्काइस पेजमा रहेको यो पुस्तक पढ्नै पर्ने पुस्तक रहेछ । ज्ञानु बुढाथोकी सरलाई हार्दिक बधाइ तथा शुभकामना ।


लेखकको बारेमा
Image
मीना अधिकारी

विर्तामोड निवासी साहित्यकार मीना अधिकारीका तीन वटा कृति प्रकाशित र एउटा प्रकाशोन्मूख छ ।