२४ पुष २०८१, बुधवार

बीमामा नपाउने औषधिको सूची किन धेरै ?

२२ पुष २०८१, सोमवार
Image

माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलज्यू,

आज म तपाईंलाई यो खुला पत्रमार्फत आम नेपाली नागरिकको स्वास्थ्य अवस्था र सरकारी सेवाका बारेमा केही लेख्न गइरहेको छु । तपाईंले मेरा शब्दहरुलाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने विश्वास लिएको छु । आज खासगरी नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमका बारेमा मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदैछु ।

म विगत २० वर्ष भन्दा बढी समयदेखि झापामा बसेर पत्रकारिता गरिरहेको छु । यही क्रममा आम नेपाली नागरिकको स्वास्थ्य अवस्थाका लागि सरकारले गरेको कामलाई पनि नजिकबाट नियालिरहेको छु ।

युवापुस्ताको प्रतिनिधित्व गर्ने तपाईंले स्वास्थ्य जस्तो आम मानिसको दैनिकीसँग जोडिएको संवेदनशील सेवा प्रवाह गर्ने मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण पनि यो क्षेत्रमा केही सुधार होला भन्ने आशा जागेकै थियो र छ पनि । तर पनि मन्त्रालय सम्हालेको यतिका दिन बितिसक्दा पनि स्वास्थ्य बीमाको अप्ठ्यारो पाटोका बारेमा मन्त्रीज्यूको ध्यान पुग्न नसकेको देखेरै यो पत्र लेख्दैछु ।

नेपाल सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । अहिले पनि उक्त कार्यक्रम मार्फत बिमित आम नागरिकले एक लाख रुपैयाँसम्मको उपचार सेवा पाइरहेका छन् । तर बीमा कार्यक्रममार्फत पाउने उपचार सेवा कस्तो छ ? बीमामार्फत उपचार गराउन आम नागरिकले कति झन्झटिलो व्यहोर्नु परेको छ भनेर मन्त्रीज्यूले हेर्न भ्याउनु भए जस्तो लागेको छैन ।

स्वास्थ्य बीमा बोर्डकै तथ्याङ्क हेर्दा पनि स्वास्थ्य बीमाप्रति आम नागरिकको आकर्षण देखिएको छैन । अहिले  करिब ८६ लाखले स्वास्थ्य बीमा गराएका छन । जुन नेपालको कुल जनसंख्याको २८ प्रतिशत हुन्छ । यो संख्यामा एक पटक बीमा गराएर नवीकरण नगरेकाहरुको समेत संख्या समावेश छ । त्यस्तै स्वास्थ्य बीमा नवीकरण दर ६२ प्रतिशत रहेको छ भने सेवा उपभोग दर ४२ प्रतिशत मात्रै रहेको छ । यो तथ्याङ्कले पनि स्वास्थ्य बीमामार्फत बहुसंख्यक बिमित नागरिकले सेवा उपभोगमा चासो नदिएको देखाउँछ । आम नागरिकले बीमामार्फत उपचार सेवा लिन मुख्य रुपमा तीनवटा सुधार गर्न जरुरी देखिन्छ ।

१. नपाउने औषधिको संख्या बढी

स्वास्थ्य बीमा कार्ड बोकेर उपचार गराउन जाने बिरामीले औषधि लिंदा बीमामा पर्ने भन्दा नपर्ने औषधिको संख्या बढी हुन्छ । आफ्नो कार्डमा एक लाख रुपैयाँ हुँदाहुँदै पनि उसले थप रकम तिरेर औषधि लिनुपर्ने अवस्था छ ।

एक लाखको बीमा भनेपछि त्यो रकम हुन्जेल जस्तोसुकै औषधि र उपचार सेवा पनि बीमाबाटै हुने व्यवस्था गर्नुपर्छ अनि मात्र आम नागरिकले स्वास्थ्य बीमाबाट सेवा उपभोग गर्न सहजता महसुस गर्छन् । यही अवस्थामा बीमाको रकम बढाउनुको केही अर्थ हुँदैन । रकम बढाउनु भन्दा अहिले भएकै रकमबाट सबै उपचार र औषधि लिन सक्ने अवस्था बनाउनु बढी फलदायी हुनेछ ।

२. झन्झटिलो रेफरल प्रणाली

स्वास्थ्य बीमामार्फत सेवा लिन सरकारले तोकेका निश्चित स्वास्थ्य संस्थामा गएर रेफर लिनुपर्ने हुन्छ । जुन असाध्यै झन्झटिलो छ । बिमित नागरिकले स्वास्थ्य बीमामार्फत विभिन्न अस्पतालमा उपचार गराउन पाउनुपर्ने अवस्थालाई यो रेफर प्रणालीले अवरोध गरेको छ । त्यसकारण पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सकिरहेको छैन ।

झापाको एउटा सहकारी संस्थाले पनि सदस्यको उपचार गराउने व्यवस्था गरेको छ । उसका सदस्यले संस्थाले दिएको स्वास्थ्य कार्डमार्फत आफूले चाहेको बेला देशका ठूला अस्पतालहरुमा सिधै गएर उपचार गराउने सक्ने व्यवस्था मिलाएको छ । तर सरकारले नै लागू गरेको स्वास्थ्य बीमामा भने सिधै आफूले चाहेको अस्पताल जान पाइँदैन । त्यसैले स्वास्थ्य बीमालाई प्रभावकारी र आम नागरिक लक्षित बनाउने हो भने रेफर प्रणाली खारेज गरी सिधै चाहेको अस्पतालमा उपचार गराउन पाउने व्यवस्था लागू गर्नुपर्छ ।

मेचीको मान्छे महाकाली पुगेको बेला पनि इमर्जेन्सी बाहेक पनि स्वास्थ्य बीमा कार्ड बोकेर आफूले चाहेको अस्पतालमा उपचार सेवा लिन पाउने अवस्था बनाउनुपर्छ । जसरी एउटा बैंकको एटीएम कार्ड बोकेर देशभर जहाँको एटीएमबाट पनि पैसा निकाल्न सकिन्छ त्यसरी नै स्वास्थ्य बीमा कार्ड बोकेपछि देशभरका जुनसुकै अस्पतालमा उपचार गराउन सकिने व्यवस्था गर्नुपर्छ ।

३. अस्पतालको संख्या नै थोरै 

सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार गराउने अस्पतालको संख्या अहिले न्यून मात्र छ । अस्पतालहरुको संख्या थप गर्नुपर्छ । बीमामार्फत उपचार सेवा दिने अस्पतालहरुको संख्या कम भएका कारण बीमाबाट उपचार लिने बिरामीको संख्या निश्चित अस्पतालमा मात्रै थुप्रिएका करण सहजै उपचार सेवा पाउन सकिरहेको अवस्था छैन । यदि सबै अस्पतालहरुमा बीमामार्फत उपचारको व्यवस्था गर्न सके सबैले सजिलै बीमामार्फत पनि उपचार गर्न सक्ने थिए । जसबाट सरकारले लिएको उद्देश्य पनि पूरा हुने थियो ।

यसबाहेक पनि केही अस्पतालहरुले स्वास्थ्य बीमामार्फत उपचार गराउने नागरिकलाई दोस्रो दर्तामा राखेका छन । बीमा कार्डमार्फत उपचार गराउनेहरुलाई विशेषज्ञ सेवा नदिएका कैयौं उदाहरण पनि छन् । त्यति मात्रै हैन, अस्पतालमा सेवा दिइरहेका विशेषज्ञ चिकित्सकहरुले पनि बीमाकार्डका बिरामीलाई नहेर्नेसम्मको अवस्था देखिएको छ । त्यस्ता अस्पतालहरुको प्रभावकारी अनुगमन गरी उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

अहिलेको अवस्थामा नेपालमा स्वास्थ्य सेवा अत्यन्तै महङ्गो भएको छ । सामान्य मानिसले उपचार गराउँदा आफ्ना सन्तान सडकमा आउने भयले उपचार नगराई मृत्यु पर्खिरहेको अवस्था छ । सामान्य मानिसले पैसा तिरेर उपचार गराउन सक्ने अवस्था नै छैन । सरकारको बीमाबाट पनि भरपर्दो उपचार सुविधा पाइएको छैन । त्यसैले पनि आम नागरिकको स्वास्थ्य क्षेत्र कष्टकर बन्दै गएको छ ।

स्वास्थ्य नै मानिसको जीवनको सबैथोक हो । स्वास्थ्य ठीक रहे मात्रै अन्य कुरा गर्न सकिन्छ । त्यसैले पनि मन्त्रीज्यूले आम नागरिकको बाँच्न पाउने अधिकारको रक्षार्थ पनि तत्कालै स्वास्थ्य बीमामार्फत उपचार सेवा लिने अवस्थालाई सुधार गर्न पहलकदमी लिनुहुनेछ भन्ने अपेक्षा लिएको छु । धन्यवाद । 

ज्ञानेन्द्र निरौला
मेचीनगर, झापा

(अनलाइन खबरबाट)