२५ पुष २०८१, बिहिवार

समाचार विश्लेषण

अर्जुनपथमा बल्ल हिँड्यो झापा

२४ पुष २०८१, बुधवार
Image

‘जीवनमा कति ठक्कर खाइयो होला । कतिले सरापे होलान् । उर्वर उमेर यसैमा बिताइयो । घर परिवार छाडेर पनि हिँडियो । कुरो बुझाउन धेरै पापड बेल्नु पर्यो । समाधान यही हो भन्ने आज बल्ल साझा निष्कर्ष निस्कियो ।’

बाहुनडाँगीका अर्जुन कार्कीले मंगलवार फेसबुकमा यही आशयको भावना साझा गर्नुभयो । सन्देशसँगै केही फोटोहरु एट्याच गर्नु भएको थियो । जहाँ पर्यटन, बन र वातावरण हेर्ने मुलुकको जिम्मेवारी पाएका संघीय र प्रदेशका दुई मन्त्रीहरु ऐनबहादुर महर र सदानन्द मण्डल बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रमा अवलोकन गर्दै हुनुहुन्थ्यो ।

फोटोमा झापा–१ का संघीय सांसद् एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, मेचीनगर नगरपालिकाका नगरप्रमुख एवम् नेकपा एमालेका नेता गोपाल बुढाथोकी मात्रै होइन, स्थानीय प्रमुख राजनीतिक दलका अगुवा नेताहरु, सामाजिक अभियन्ताहरु र हात्ती प्रभावित पालिकाहरुको जनप्रतिनिधिहरु देखिनु हुन्थ्यो ।

एक दिन अघि धुलाबारीस्थित गिरिजा स्मृति प्रतिष्ठानको सभाहलमा संघीय सांसद् विश्वप्रकाश शर्माको पहलमा मेचीनगर, बुद्धशान्ति र भद्रपुरका नगरप्रमुखसहित सर्वपक्षीय छलफल आयोजना भएको थियो । तीन घण्टा एकोहोरिएको छलफलले १४ बुँदे साझा निष्कर्ष (सहमति) निकालेको थियो । जसको सार थियो, ‘मानव–हात्ती द्वन्द्व समाधानका लागि हात्तीमैत्री सहअस्तित्वको विकल्प अब छैन ।’

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले १४ बुँदामा संश्लेषित त्यही निष्कर्षलाई बाचन गरेर दुबै सरकारका प्रतिनिधिलाई सुनाउनुभयो । यी सबै परिघटनाको सूत्राधार सांसद् शर्मा हुनुहुन्थ्यो भने स्थानीय सञ्चारकर्मीदेखि राजनीतिक दलका नेताहरु साक्षी थिए ।

झापामा जंगली हात्तीसँग मानिसको द्वन्द्वको दुःखद् इतिहास ५० वर्षभन्दा पुरानो छ । जब पहाडबाट बसाई सरी मधेश भरिने क्रम सुरु भयो, झापाको मलिलो जग्गामा मानव वस्ती बाक्लिन थाल्यो । बस्ती बढ्दै जाँदा मानिसहरु दाउरा खोज्न जंगल पस्न थाले । मान्छेहरु यतिमा किन रोकिन्थे । फडानी गर्दै जंगलभित्रै छाप्रा बन्न थाले । उता हात्तीले पनि जंगलमा आहार मासिन थालेपछि मान्छेका गाउँ पस्ने क्रम सुरु गर्यो । 

आफ्नो अस्तित्वका लागि मान्छे र हात्तीबीच कहिले जंगल र कहिले बस्तीमा झडप हुन थाल्यो । यो क्रम पछिल्लो दुई दशकमा झापाको प्रमुख समस्याको रुपमा खडा भयो । जसलाई मानव–हात्ती द्वन्द्वको रुपमा परिभाषित गरिएको छ । अहिलेसम्ममा ६० जना भन्दा बढी मानिसको हात्ती आक्रमणमा मृत्यु र अर्बौको धनमाल क्षति भएको आँकलन छ ।

मंगलवार सर्वपक्षीय छलफलमा कुनै पनि दल र कोही पनि मानिस हात्तीसँग भिडेर जानुपर्छ भन्ने पक्षमा देखिएनन् । यो धरती हात्ती र मानिस दुबैको साझा हो, मिलेर बाँच्नु पर्छ भन्ने ठहर आयो । त्यही सहमति १४ बुँदे मागपत्रको रुपमा प्रदेश र संघीय सरकारलाई बुझाइएको हो ।

हात्तीसँग मिलेर बाँच्नु पर्छ भन्ने यो धारणा आज एक्कासी फुरेको होइन । वास्तवमा यो धारणा २० वर्ष अघि अर्जुन कार्कीले एक्लो वृहस्पति बनेर बाहुनडाँगीमा बीजारोपण गर्नु भएको थियो । मंगलवार फेसबुकमा उहाँले व्यक्त गरेको भावना त्यही लामो संघर्षको प्रतिफल प्राप्त भएपछि हृदयबाट स्पन्दित भएर उम्रिएको खुशी थियो ।

बीस वर्ष अघि त्यही बाहुनडाँगी हो, जहाँ हात्तीलाई बन्दुकले पररर भुटेर सिध्याउनु पर्छ भन्ने मतको वाहुल्य थियो । सर्वसाधारणले भाला र आगोको पुल्ठोले हात्ती आउँदा लखेट्थे । मस्त निद्रामा रहेका नवदम्पत्तिको एकै चिहान भएको थियो । बारीको कान्लामा घाँस काटन गएकाहरु जीवित फर्किएनन् । कोही सुतेकै ठाउँमा ठहरै भए । बजार गएकाहरु सँधैका लागि फर्किएनन् । यो भीषण लडाईमा मान्छे र हात्ती दुबैलाई ठूलो क्षति भयो ।


हात्तीसँगको लडाई चर्किदै गयो । बाहुनडाँगीका बासिन्दाले हात्तीसँग कहिल्यै नटुंगिने युद्ध गरिरहेको पृष्ठभूमिमा एउटा किसानको छोरा अर्जुन कार्कीले दुई दशक अघि उद्घोष गरेको थियो–‘यो पाराले कसैले युद्ध जित्दैन । अब हात्तीमैत्री बाटो हिँड्नु पर्छ । यो साझा धरतीमा हात्ती र मानिस दुबैले मिलेर बाँच्नु पर्छ ।’ कार्कीको यो धारणासँग मानिसहरु तत्काल सहमत भएनन् । हात्ती पाल्न लागेको जस्ता आरोप उहाँमाथि लगाइयो । हात्तीलाई दुश्मन ठान्नेहरुले घेराबन्दी गरे । बाहुनडाँगी बजारमा कार्कीमाथि ढुंगामुढा समेत भयो । यति हुँदा पनि उहाँ आफ्नो सोचबाट डगमगाउनु भएन । 

बाहुनडाँगीमा अर्जुन कार्की एकातिर र बाँकी अर्कातिर भयो । कार्कीले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण अभियन्ताहरुसँग हात बढाउनुभयो । दातृ निकायको दृष्टि पर्यो । समय परिवर्तनशील हुन्छ । लगातारको प्रयासपछि बाहुनडाँगीबासीको धारणामा परिवर्तन आउन थाल्यो । मेचीनगर वडा नं. ४ का बासिन्दाले उहाँलाई वडाध्यक्षको रुपमा निर्वाचित गरे । सरकारले पनि हात्तीमैत्री सोचमा साथ दिने अवस्था सिर्जना भयो । बन्यजन्तुप्रतिको मानिसको सोच बदल्न र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न अर्जुन कार्कीले जीवनको उर्वर युवा उमेर बिताउनुभयो । उहाँसँगै मेचीको बगरमा हुर्किएका साथीहरु कोही यूरोप भासिए पैसा कमाउन । कोही काठमाडौंमा पढेर उच्च ओहोदामा पुगे । तर, उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएको अर्जुन भने मुरलीको धुनसँगै प्रकृति संरक्षणको अनुपम जागरण बोकेर गाउँ फर्किनु भयो । जसले अनेक हण्डर र चुनौति स्वीकारेर आज सिंगो झापालाई मानव–हात्ती द्वन्द्वको समाधानका लागि हात्तीमैत्री सहअस्तित्वको बाटो अख्तियार गर्न सहमत गराएरै छाड्नु भएको छ । 

अर्जुन कार्कीको बाटो हिँड्न बाहुनडाँगीका मात्र होइन, सिंगो झापाबासी सहमत भएका छन् । अर्जुन कार्कीको सोचमा सहमत हुँदैमा मानव–हात्ती द्वन्द्व अब जादुको छडी चलाए जसरी समाधान हुन्छ भन्ने होइन । सरकारका जिम्मेवार मन्त्रीहरुले मानव–हात्ती द्वन्द्व समाधानका लागि छुट्टै कार्यविधि बनाउँछौं भन्नु भएको छ । क्षति न्यूनीकरण, बाली बीमा, मृतकलाई राहत र घाइतेको उपचारका विषयमा राज्यले उचित सम्बोधन गर्ने अपेक्षा गरिएको छ । 

मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बाली बीमाका लागि प्रदेश सरकार ७० प्रतिशत व्यहोर्न तयार छ भने नगरपालिकाले ३० प्रतिशत व्यहोर्ने प्रस्ताव अघि सार्दै आउनु भएको छ । किसानले हात्तीबाट क्षति भएको बालीको शतप्रतिशत क्षतिपूर्ति बीमामार्फत पाउने वातावरण बनाउने हो भने ज्यान हत्केलामा राखेर कोही पनि हात्ती खेदाउन खेतबारीमा पुग्ने थिएनन् । हात्ती आउँथ्यो, बाली खान्थ्यो र जान्थ्यो । भोलिपल्ट क्षतिको मुचुल्का गरेपछि किसानले कुनै झञ्झट बिना क्षतिपूर्ति पाउने अवस्था बनाउनु आजको आवश्यकता हो ।

बाहुनडाँगीको गौडाबाट रातैपिच्छे सयौं हात्ती मेची तरेर आउने गरेका छन् । केही हदसम्म सीमाको घेराबेराले त्यसलाई रोकेको छ । झापाका जंगलभित्र बढीमा १९ वटा रैथाने हात्ती बस्छन् । तिनलाई नियमित निगरानी गर्नका लागि रेडियो कलर लगाउने र आवश्यक परेमा ड्रोन (नाइटभिजन) प्रयोग गर्ने कार्यमा अघि बढ्न सकिन्छ । हात्ती कहिले कता डुल्दैछ वा जाँदैछ भन्ने थाहा हुने वित्तिकै सर्वसाधारणमा अग्रिम जानकारी गराएर मानवीय क्षतिको सम्भावना टार्न सकिन्छ ।

मानव–हात्ती द्वन्द्व समाधानका लागि गर्नुपर्ने कामहरुको सूची लामै छ । विज्ञहरुले यस विषयमा राय व्यक्त गर्न सक्छन् । मेचीमा तटबन्धन र विद्युतीय घेराबेरामा मात्र हाम्रा प्रयासहरु सीमित हुनुहुन्न । जंगलको हात्ती जंगलमै रमाउन सक्ने वातावरण कसरी बनाउने भन्ने विषयमा नयाँ योजना र कार्यक्रमहरु आउन जरुरी छ । हात्तीले जंगलभित्र पनि पेट भर्ने गरी आहार जुटाउन सकुन् । 

त्यसैले त भन्न सकिन्छ, अर्जुन कार्कीले २० वर्ष अघि बाहुनडाँगीमा देखाएको बाटोमा बल्ल झापा हिँड्यो । यो बाटोमा हिँड्न सांसद् विश्वप्रकाश शर्माले पुलको काम गर्नुभयो । 


लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)