झापा, २६ चैत । एसियाली विकास बैकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको झापा खण्डमा धूलोको प्रदूषण नियन्त्रण गर्न स्थानीयबासीले माग गरेका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाहरुले उक्त माग गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवत्र्तमान अध्यक्ष टिकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धूलो नियन्त्रण नगरिएका कारण आवतजावत कष्टकर र यात्राको वातावरण प्रदूषित भएको बताउनुभयो ।
उहाँले सुख्खा र हावा चल्ने समय भएकाले सडकबाट फैलिने धूलोले वायू प्रदूषणको रुप लिएको र यसबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर आघात पुर्याइरहेको गुनासो गर्नुभयो ।
उपभोक्ता जागरण अभियानका केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले एसियाली राजमार्गको काँकडभिट्टादेखि दमकसम्म निर्माणाधीन खण्डमा धूलो अनियन्त्रित भएको जनगुनासो आएको विषयमा समितिको ध्यानाकर्षण गराउनु भएको थियो ।
राजमार्गका यात्रीहरुले मात्र नभई सडक वरपरका बासिन्दाले समेत धूलोको सास्ती खेप्नु परिरहेको जनाउँदै उहाँले सडक निर्माणको ठेक्का लिएको निर्माण कम्पनीलाई तत्काल धूलो नियन्त्रण गर्न निर्देशन दिनु पर्ने माग गर्नुभयो ।
राजमार्गमा दैनिक पाँच पटक पानी छ्यापेर धूलो नियन्त्रण गर्न सकिने धारणा राख्दै उहाँले गहिरो खाडलको रुपमा रहेका पुल र कल्भर्टको डाइभर्सन क्षेत्र सवारी आवागमनका दृष्टिले सुविधाजनक बनाउनु पर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राजमार्ग निर्माण क्रममा फैलिएको धूलो प्रदूषणका बारेमा पटकपटक गुनासो आइरहेको जनाउँदै सम्बन्धित निर्माण व्यवसायी र सम्बद्ध सरकारी निकायलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अनुगमनमा आएको संसदीय समितिको टोली संयोजक एवम् सांसद्् एलपी साँवाले सरोकारवालाहरुले औल्याएको समस्या स्थानीय पहलमै समाधान गर्न सकिने धारणा व्यक्त गर्दै राजमार्ग निर्माण क्रममा सर्वसाधारणले भोग्नु परेको धूलोको सास्ती हटाउन समितिका तर्फबाट सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
झापाको काँकडभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटर पूर्वपश्चिम राजमार्गमा हाल एभ्रास्कन कालिका जेभीले राजमार्गको स्तरोन्नति कार्य ठेक्कामार्फत गरिरहेको छ ।
राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । यहाँ १४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम धमाधम भइरहेको छ भने १८ वटामध्ये १७ वटाको काम भइरहेको योजना कार्यालय दमकका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले जानकारी दिनुभएको छ ।
वि.सं. २०८० कात्तिक २ गते निर्माण सम्झौता भएको यो आयोजना वि.स. २०८३ माघ १९ गते निर्माण सम्पन्न भइसक्नु पर्ने छ ।