झापा, ६ जेठ । नेपालमा चट्याङबाट चार वर्षमा २३७ जनाको मृत्यु र ९०८ जना घाइते भएका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्छ ।
कोशीको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लादेखि मधेशको धनुषासम्म चट्याङको जोखिम उत्तिकै छ । नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्लामा चट्याङको ज्यादा प्रकोप छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठका अनुसार वि.सं. २०७८ साउन १ देखि वि.सं. २०८२ जेठ ५ गतेसम्मको चार वर्षे अवधिमा चट्याङ प्रकोपका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् ।
घर, गोठ र अग्ला टावरहरु चट्याङको निशानामा पर्ने गरेका छन् । आगलागीको कारण समेत चट्याङलाई मानिएको छ । बर्खा याममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् ।
चट्याङका घटना कोशी प्रदेशमा धेरै हुने गरेको छ भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको पाइएको छ ।
बिगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका २९५ वटा घटना भएको र ३६६ घर यसबाट प्रभावित बनेको प्राधिकरणीकी सहसचिव श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा कोशीमा चट्याङ लागेर ५१ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।
कोशीमा चट्याङका कारण रु. एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमाल क्षति भएको छ । चट्याङले ४२० वटा चौपाया मरेका छन् ।
प्राधिकरणले जनाए अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा ५४ जनाको मृत्यु भएको छ भने रु. तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा सो अवधिमा १८० वटा चट्याङका घटना भएका छन् । लुम्बिनीमा २७६ परिवार चट्याङबाट प्रभावित, १६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका छन् ।
यही अवधिमा चट्याङबाट सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणले जनाए अनुसार कर्णालीमा २०७ जना, सुदूरपश्चिममा १५८ जना, गण्डकीमा ८४ जना, बागमतीमा ८२ जना र मधेशमा २८ जना मानिस घाइते भएका छन् ।