झापा, ८ साउन । थाइल्याड–कम्बोडिया बीच सीमामा युद्ध सुरु भएको छ । आज विहानदेखि जारी सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु र १४ जना घाइते भएका छन् ।
थाइल्यान्डका स्वास्थ्यमन्त्रीले झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन् । जबकि दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाएका छन् ।
सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको एक दिनपछि यो घटना भएको हो ।
बिहीबार बिहानदेखि नै सीमामा दुवै देशका सैनिकहरूबीच गोलीबारी भइरहेको छ । थाइल्यान्डले कम्बोडियाको सैन्य अड्डामा हवाई बमबारी गरेको बताएको छ ।
बिहीबार बिहान गोलीबारी सुरु हुँदा दुवै पक्षले एकअर्कालाई पहिलो गोली चलाएको आरोप लगाएका छन् ।
थाइल्यान्डले कम्बोडियालाई थाई गाउँ र अस्पतालहरूमा रकेट प्रहार गरेको आरोप लगाएको छ भने थाइल्यान्डले केही कम्बोडियाली लक्ष्यहरूमा हवाई बमबारी गरेको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार बिहीबार स्थानीय समय अनुसार बिहान ६ः३० बजेतिर झडप सुरु भएको थियो जब थाई सेनाले पहिलेको सम्झौताको उल्लंघन गर्दै सीमा नजिकैको हिन्दू मन्दिरतिर अघि बढेर त्यसको वरिपरि काँडेतार लगाए ।
कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले नोम पेन्ह पोस्ट पत्रिकालाई बताएअनुसार राति ८ः४६ बजे थाई सेनाले गोलीबारी सुरु गरेपछि कम्बोडियाली सेनासँग आफ्नो रक्षा गर्नु बाहेक अरू कुनै विकल्प बाँकी रहेन ।
कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले बदला लिनु बाहेक आफूसँग कुनै विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भने, ‘कम्बोडियाले सधैं सबै समस्याहरू वार्ताबाट समाधान गर्ने सिद्धान्तमा विश्वास गर्दै आएको छ, तर यस अवस्थामा सैन्य आक्रमणको जवाफ सैन्य बलले दिनु बाहेक अरू कुनै विकल्प बाँकी छैन ।’
यस विवादको जरा सय वर्षभन्दा अघिदेखि छ, जब फ्रान्सेली कब्जापछि कम्बोडियाको सिमाना निर्धारण गरिएको थियो ।
२००८ मा कम्बोडियाले विवादित क्षेत्रमा अवस्थित ११ औं शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा स्थलको रूपमा दर्ता गर्ने प्रयास गर्दा औपचारिक रूपमा स्थिति तनावपूर्ण भयो ।
थाइल्याण्डले यसको कडा विरोध गर्यो । यसपछि दुई देशबीच धेरै झडपहरू भए, जसमा सैनिक र सर्वसाधारणको मृत्यु भयो ।
मे महिनामा एक कम्बोडियाली सैनिकको झडपमा मृत्यु भएपछि हालैको तनाव बढेको थियो । त्यसबेलादेखि, दुई देशबीचको सम्बन्ध विगत एक दशककै सबैभन्दा नाजुक बिन्दुमा पुगेको छ ।
पछिल्ला केही हप्ताहरूमा, दुवै देशले सीमामा सेनाको तैनाथी पनि बढाएका छन् ।