२९ वैशाख २०८१, शनिवार

साभार

बाहुनडाँगीको मेचीमा झोलुङ्गे पुल बनाउन वडाध्यक्षको प्रस्ताव

१३ पुष २०७९, बुधवार
Image

।। विराट अनुपम ।।

झापा, १३ पुस । मेची किनारमा रहेको झापाको मेचीनगर नगरपालिका - ४ बाहुनडाँगी दुई देशका हात्तीहरुको ओहोरदोहोर गर्ने ट्रान्जिट हो । भारतको आसामदेखि पूर्वी नेपालका हात्तीहरु यो बाटो भएर हिँड्दा बालीनाली खाएर र मान्छे मारेर तनाव दिन्छन् । मान्छेले पनि हात्तीको बाटोमा विद्युतीय तार लाएर, घर बनाएर तनाव दिन्छन् ।

बाहुनडाँगीमा हात्तीले मान्छेलाई र मान्छेले हात्तीलाई तनाव दिएकामात्रै छैनन् । यहाँ मेची नदीले दुवै देशका नागरिकलाई तनाव दिएको छ । यस्तै तनाव भोग्ने एक हुन भारतको नक्सलबारीका रामबाबु सिंह । ३८ वर्षीय सिंह नक्सलबारीमा बेच्ने दूध बाहुनडाँगी क्षेत्रबाट किनेर लान्छन् । काँकरभित्ता पुल हुँदै आउन धेरै लामो रुट पर्छ । सीधा आउजाउ गर्न पुल छैन ।

त्यसैले उनी सीधा मेची नदीको बहाब क्षेत्र हुँदै आउँछन् । यसरी उनले नेपालबाट किनेर लगेको दूध भारतमा बेच्न थालेको १८ वर्ष भयो । रामबाबु सिंहमात्रै यस्तो गर्ने एक्ला घरका सदस्य हैनन् । उनका काका शिवदयाल सिंह र बाबु रामदयाल सिंह पनि यस्तै गरेर जीवन निर्वाह गर्थे । परिवारको पुख्र्यौली पेशा जस्तै भएको मेची नदी वारपारको व्यवसाय गर्न सजिलो भने छैन ।

रामबाबु भन्छन्, ‘बर्खाका दुई महिना धेरै दुःख हुन्छ’, जसोतसो नदी वारपार गर्दै आएका रामबाबु भन्छन्–‘जोखिम लिएर वारपार गर्छु । बर्खाको समयमा धेरै कहिलेकाहीं त कम्मरसम्म पानी हुन्छ ।’

मेची नदीमा पछिल्ला वर्षहरुमा आफ्ना बाबु र काकाको समयमा जस्तो धेरै पानी नभए पनि बर्खाको समस्या भने उही भएको रामबाबुको अनुभव छ । 

रामबाबु जस्तै भारतका मेची नदी वारपार गरेर समस्या भोग्ने अर्का युवा हुन् शिवकुमार राजवंशी । मेची किनारको भारतीय गाउँ ताराबारीका रैथाने शिवकुमार ३० वर्षका भए । उनले भारतबाट नर्सरीका सामानहरु नेपाल ल्याएर बिक्री गरेको दशक पुगेको छ ।

उनी रामबाबु जस्तै दैनिक यात्रा नगरे पनि बर्खाको समयमा नसकिने बताउँछन् । ‘अरु काम गर्नेहरु त बर्खामा बाढीमा पनि हिँड्छन्’, शिवकुमार भन्छन्, ‘म भने हिँड्दिनँ ।’

यो त भयो मेची पार गरेर आउजाउ गर्ने भारतीयहरुका सास्तीका केही व्यक्तिगत अनुभव । नेपालतर्फका समस्या झनै बढी छन् । बाहुनडाँगीमा हात्ती संरक्षणमा सक्रिय अभियानकर्मी शंकर लुँइटेलका अनुसार मेचीमा पुल नहुँदा दैनिक सयौंलाई समस्या भएको छ ।

‘नेपालबाट हटियामा जान्छन् । उताबाट यता पनि काम गर्न र किनमेल गर्न आउँछन्’, लुँइटेल भन्छन्, ‘दुवै देशका सरकारहरुले वेवास्ता गरेर यो समस्या आएको हो ।’

मेचीनगर नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन कार्कीले मेचीमा झोलुङ्गे पुल धेरै पक्षबाट आवश्यक भए पनि काम नभएको गुनासो गर्छन् । दैनिक हजार हाराहारीले ओहोरदोहोर गर्ने क्षेत्रमा पुल अनिवार्य भएको कार्की बताउँछन् ।

उनी भन्छन्, ‘यो क्षेत्रमा पुल बन्दा नेपाल भारत जोड्ने इको करिडोर बन्थ्यो । दैनिक आवतजावत गर्न र सीमा नियमन गर्न पनि धेरै सजिलो हुन्थ्यो ।’

कार्कीले आफूले सक्दो पहल भने गरेका छन् । गत मंसिर अन्तिम हप्तामा भारतको पश्चिम बंगालको राजधानी कोलकातामा भएको दुई देशको सुन्तलो महोत्सवमा समेत कार्कीले यो मुद्दा उठाए । कार्यक्रममा आएका पश्चिम बंगालका पर्यटनमन्त्री र सचिवलाई कार्कीले दुई देश जोड्ने पर्यावरणीय झोलुङ्गे पुलको प्रस्ताव गरे ।

उनले कोलकाताका नेपाली महावाणिज्य दूत ईश्वरराज पौडेललाई पनि महावाणिज्य दूतको नेशनल लाइब्रेरी रोडमा रहेको कार्यालयमै पुगेर आग्रह गरे ।

‘यो सानो बजेटमै हुने एक किलोमिटर हाराहारीको झोलुङ्गे पुल हो’, कार्की भन्छन्, ‘पुललाई मूर्त रुप दिन प्रदेशले मात्रै चासो देखाएर नहुने भएकाले संघ सरकारबाटै यसमा जोडबल गरेर काम हुनुपर्छ ।’

(नेपाल प्रेसबाट)