१३ वैशाख २०८१, बिहिवार

मेची उवासंघ चुनाव

एकीकृत समाजबादीको धारणा आज आउने

१५ माघ २०७९, आइतवार
Image

मेचीनगर, १५ माघ । नेकपा एकीकृत समाजबादी र राष्ट्रिय प्रजातन्त्र पाटीले मेची उद्योग वाणिज्य संघको चुनाव बारेमा आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

संघको नेतृत्व चयन हुने यस चुनावमा उम्मेद्वारको मनोनयन दाखिला गर्ने दिन आउन एक दिन मात्र बाँकी रहँदासम्म एकीकृत समाजबादी र राप्रपाले आफ्नो दावी र गठबन्धन बारेमा प्रष्ट पारेका छैनन् ।

माघ १६ गते उम्मेद्वारको मनोनयन र माघ २१ गते संघको चुनाव हुँदैछ ।

यही विषयमा निर्णय गर्न एकीकृत समाजबादी मेचीनगरको बैठक आज ११ बजे काँकरभिट्टामा सुरु भएको छ ।

पार्टीका झापा सचिव वीपी भट्टराईले बैठकले यस विषयमा निर्णय दिने बताउनुभयो । उहाँले पदाधिकारीसहित आफ्नो दावी रहने जानकारी दिनुभयो ।

संघको चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने सम्भावना छ ।

एकीकृत समाजबादी नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्यानलमा जाने सम्भावना छ । एमाले नेतृत्वको प्यानलमा नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजबादी पार्टी रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो धारणा आज सार्वजनिक गर्ने बताइएको छ । राप्रपालाई आफ्नो प्यानलमा आउने भनेर कांग्रेस र एमाले दुबै पक्षले दावी गरिरहेका छन् ।