१८ मंसिर २०८१, मङ्गलवार

मेची पारिको नेपाल : पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित

१० वैशाख २०८०, आइतवार
Image

झापा, १० बैशाख । मेची पारिको गाउँ भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीका ४२ वर्षीय मोतिलाल यादवले मेची नदीमा पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित हुनु परेको छ ।

दुई वर्षदेखि मिर्गौलामा समस्या आएपछि ओछ्यानमा थला पर्नुभएको उहाँ पछिल्लो छ महिनादेखि दाहिने हात र खुुट्टा नचल्ने पक्षघातको रोगबाट समेत प्रताडित हुनुहुन्छ । उहाँको गत महिनादेखि बोली समेत बन्द भएको छ ।

मेची नदीलाई सीमारेखाको रुपमा बुझ्ने गरिन्छ । तर, मेची नदीभन्दा पूर्वको धेरै भूभाग नेपाली सीमाभित्र पर्दछ । त्यस्तै सीमान्त गाउँ हो–ग्वाला बस्ती र सिसौडाँगी । जहाँका साठी परिवार भूगोलले नेपालभित्र परे तापनि सुविधाका हिसाबले नेपाली बन्न नपाएको गुनासो गरिरहेका छन् ।

नेपालतिर जानका लागि मेची नदीमा पुल नहुँदा उहाँलगायत ग्वालाबस्तीका डेढ सय जनसंख्या स्वदेशमा स्वास्थ्योपचार पाउनबाट वञ्चित हुँदै आएको टोल विकास समितिका अध्यक्ष अमूल यादवले बताउनुभयो ।

“हाम्रो सरकारले मृगौला रोगीको उपचार नि:शुल्क गर्छ भन्ने सुनेका छौं, तर मेचीमा पुल नभएपछि जान सकेका छैनौं,”, उहाँले भन्नुभयो, “अहिले मोतिलाल भाइको उपचारका लागि भारतकै अस्पतालमा लगेर महँगोमा उपचार गराइरहेका छौं ।”

बर्खा याममा मेचीमा बाढी आउने हुँदा नेपालसँग ग्वालाबस्तीको सम्पर्क नै विच्छेद हुने गरेको छ भने हिउँद याममा पनि बालुवाको बगर छिचोलेर एम्बुलेन्स पुग्न सक्दैन । नेपालले वेवास्ता गर्ने र भारतले नचिन्ने भएकाले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ । मेची नदीमा पुल बनेको भए उपचारका लागि त्यहाँका बिरामीलाई धुलाबारी, भद्रपुर र विर्तामोड लैजान सहज हुनेथियो ।

मोतिलालको उपचारमा हालसम्म भारु. चार लाख खर्च भइसकेको र अब उपचार गर्ने सामथ्र्य नभएको उहाँका बुवा ८२ वर्षीय राजेन्द्र यादवले बताउनुभयो । जायजेथा बेचेर र स्थानीयसँग सापटी खोजेर हाल गरिएको उपचारले मोतिलालको स्वास्थ्यमा खासै सुधार नआएको यादवले बताउनुभयो । 

दशगजा नजिक बसोबास गर्दै आएका ग्वालाबस्तीका बासिन्दालाई भारतीय क्षेत्रको बतासी र अधिकारी बजार नजिक पर्दछ । सामान्य उपचार गर्नदेखि दैनिक उपभोग्य सरसामान किन्न समेत त्यहाँका बासिन्दा भारतीय बजार नै पुग्न बाध्य छन् ।

मेची नदीमा बर्षौदेखि पुल बन्ने कुरा कथा जस्तै भएको छ । ग्वालावस्तीमै जन्मे हुर्केका ६४ वर्षीय राजकुमार राया दश वर्षअघि गाउँ छाडेर बसाई हिँड्नु भएको थियो । ग्वालाबस्तीमा राज्यको कुनै सुविधा नपुगेका कारण मेची वारिको कालिकाझार नामक गाउँमा सपरिवार बसाई सरेको उहाँले बताउनुभयो ।

मेचीनगर–१५ मा ग्यालाबस्ती जस्तै मेची पारि नेपालको अर्को गाउँ सिसौंडाँगी पनि छ । ती दुबै गाउँमा कृषि र मजदुरी पेशा गर्दै आएका यादव, सन्थाल, राजबंशी लगायतका आदिबासीको बसोबास छ । 

नेपाली सरहदभित्र बसोबास भएका त्यहाँका बासिन्दासँग नेपाली नागरिकता, जग्गा धनीपूर्जा र नेपाली मतदाता परिचयपत्र छ । तर, नेपालको संघीय, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र अनुदान लगायतका कुनै पनि सुविधा पुर्याउन सकेको छैन । सरकारले ग्यालाबस्तीमा स्वास्थ्य विमाको सुविधा पनि पुर्याउन सकेको छैन ।

चुनावका बेला भोट माग्न आउँदा राजनीतिक दल र उम्मेद्वारहरुले मेची नदीमा पुल बनाउने आश्वासन दिने गरेको स्थानीय बासिन्दा बताउँछन् । तर, पञ्चायतकालदेखि नै पुल बनाउने कुरा उठे पनि अहिलेसम्म त्यो सपना साकार हुन सकेको छैन ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।