१६ चैत २०८०, शुक्रवार

पत्रकारले विषय वस्तुलाई केलाएर तथ्य जाँच्नुपर्छ : केदार शर्मा

१२ जेठ २०८०, शुक्रवार
Image

झापा, १२ जेठ । बिर्तामोडमा आज एकदिने विकास पत्रकारिता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

शुक्रबार बिर्तामोड नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रमलाई लेखक तथा सञ्चारकर्मी केदार शर्माले फरक ढंगबाट सहजीकरण गरेका थिए । शर्माले विकासलाई हेर्ने दृष्टिकोण फरक–फरक हुने बताउँदै पत्रकारले विषय वस्तुलाई केलाउँदै तथ्य जाँच्नपछि पर्न नहुने बताए । 

उनले उद्विकास र विकास फरक भएको दृष्टान्त प्रस्तुत गर्दै विकास पत्रकारितामा सामाजिक, आर्थिक पाटोलाई हेरिनु पर्ने बताए । 

पत्रकारहरुले आदिवासी समुदायको आफ्नो संस्कृति, भाषा, खानाजस्ता आफ्ना परम्परागत कुराहरु लोप हुन लागेको भन्दै त्यसतर्फ कलम चलाउन शर्माले आग्रह गरे । साथै भौतिक संरचना निर्माणलाई मात्र विकास मान्ने मानसिकता भन्दा माथि उठेर चेतनाको विकास हुनुपर्ने धारणा राखे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न सुझाव दिंदै सकारात्मक पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । 

बिर्तामोड वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले अहिलेका युवाहरुमा नकरात्मक कुराहरुको प्रभाव बढी परेको भन्दै सकारात्मक पक्षलाई जोड दिनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका लागि बिर्तामोड नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । 

नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता, स्वागत उपाध्यक्ष लिला अनमोलले, धन्यवादसहित समापन सचिव मायामितु न्यौपानेले र कार्यक्रमको सञ्चालन सहसचिव जोस्ना श्रेष्ठले गरेकी थिइन् ।