१५ चैत २०८०, बिहिवार

कोशीका १२ जिल्लामा फैलियो ‘लम्पी स्किन’

१६ जेठ २०८०, मङ्गलवार
Image

झापा, १६ जेठ । कोशी प्रदेशको १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक संक्रामक रोगको महामारी फैलिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ ।

कार्यालयका पशु चिकित्सक घट्टराज कट्टेलले लम्पी स्किन रोगको संक्रमणबाट कोशी प्रदेशमा एक हजार १३२ वटा पशु मरेका र ८५ हजार ७८४ वटामा संक्रमण देखिएको जानकारी दिनुभयो । उहाँले कोशी प्रदेशको ताप्लेजुङ र सोलुखम्बू बाहेकका अन्य जिल्लामा यो रोगको महामारी फैलिएको बताउनुभयो । 

उहाँले यस रोगको संक्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिनुभयो । उहाँका अनुसार इलामका दश वटा पालिकामा ४३५, झापाका पन्ध्रवटा पालिकामा १२०, पाँचथरमा १७, मोरङमा १८२, उदयपुरमा १२०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन् । 

यसैगरी, धनकुट्टामा ७४, तेह्रथुममा ३९, संखुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, रागाभैसी मरेका उहाँको भनाई छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन । रोगी पशुको र्याल, शरीरबाट निस्कने तरल पदार्थ र मच्छड तथा भुसुनाको टोकाइबाट समेत एक पशुबाट अर्को पशुमा रोग संक्रमण हुने पशुचिकित्सक कट्टेलले बताउनुभयो । 

उहाँले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधिहरु किसानलाई वितरण गरिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “बढी संक्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई बोलाएर गाउँगाउँ, वस्ती वस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौ ।”

उहाँले लम्पी स्किन देशका सात वटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिनुभयो । “आगामी बजेटमा यस रोगको भ्याक्सिन खरिदका लागि बजेट छुट्याउने बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “आकस्मिक कोषको भन्दा बजेट नै छुट्याएर काम गर्न सके रोग नियन्त्रण गर्न सकिन्छ ।” 

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउने बाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । गोठको सरसफाई राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षित रुपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानहरुलाई अपिल गरिरहेको उहाँले बताउनुभयो । 

यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दुध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो । नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट संक्रमित पशुहरु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्ष अघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष भएको मानिएको छ ।

क्याप्री पक्स नामक भाइरसको संक्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक कट्टेलले बताउनुभयो । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।–––