६ मंसिर २०८१, बिहिवार

कविता

आजकल ‘असार १५’ आउँछ

१५ असार २०८०, शुक्रवार
Image

यो आज मात्र आएको होइन,
फेरि कहिल्यै नआउने गरी गएको पनि छैन,
उहिले उहिले दहि चिउरा लिएर आउँथ्यो
लोक भाका, सुसेली र बेठि गाउँथ्यो ।
महाजनको उर्दीमा निमुखाले जोतिनु पर्ने
ठालुको कृपाबाट गुजारा मुस्किलले टर्ने,
त्यो समयमा पनि ‘असार १५’ आउँथ्यो । 

फेरि एक दिन
कृपाको होइन, श्रमको सम्मान होस् भन्दै
मानिस मानिस सबै बराबरी हुन् भन्दै
कसिलो मुठ्ठी अनि राता राता आँखा पारेर
अब दहि चिउरे पाराले चल्दैन
एकमुक्का नहानी यो व्यवस्था ढल्दैन भन्दै
क्रान्तिकारी ‘असार १५’ आयो ।

अब किसानकै सरकार हुने भो
गरिबका घरमा सुखले छुने भो
कुलोमा पानी, खेतमा मल र भकारीमा अन्न
आँखामा सपनी, हातमा पौरख र रोजगारीले टन्न
समृद्ध देशका सुखी नेपाली हुने भन्दै
माटो बेचेर, कल्पनाको खेती गर्नेहरुका लागि
फेरि अर्को ‘असार १५’ आयो । 

कुपुकुपु दहि चिउरा खाँदै,
झमझम पानीमा रुझ्दै
छमछम हिलोमा खेल्दै
छुपुछुपु रोपेको धानले
सुदूर भोकको तिर्सना मेट्न
सुनौला दिनको सपनी भेट्न
मानो खाएर मुरी उब्जाउने
हाम्रो प्यारो ‘असार १५’
कहिल्यै  स्वतन्त्र भएर आउन पाएन ।

यो त कहिले महाजनको स्वार्थको बुई चढेर
हुँकार गर्दै आयो,
कहिले सत्ताको स्वार्थी खेलको आहालमा डुबेर
डुङ्डुङ्ति गन्हाउँदै आयो,
कहिले दलाल पुँजीवादको पञ्जामा परेर
गोपीकृष्ण कहो भन्दै आयो,
फेरि एकदिन
गरिब किसानको भोकको र्यालमा चिप्लिएर
मरणासन्न हुने गरी घाइते भएर आयो ।

र, यतिबेला
गाउँका सिंहदरवारवासीको मनोरञ्जन खातिर
नाचगान, तानातान, हिलो हानाहान गर्दै,
‘असार १५’ आइरहेको छ ।
हिलो माथिको धानको अधिकार रक्षा गर्न नसकेर
पर कतै आलीको डिलमा अपमानको आँसु पिएर
अभाव र उत्पीडनबाट आक्रान्त किसानका लागि
कहिल्यै धान दिवस आयो
न कहिल्यै दहि चिउरा खायो
न त ‘असार १५’ को रोपाइँ नै राम्रो हुन पायो ।

र, पनि यो ‘असार १५’ वर्षेनि आउँछ
माटो भनेर किसानको अभावको घाउ कोट्याउँछ,
र, खितितिति हाँस्दै जान्छ,
अचेल ‘असार १५’ यसरी आउँछ,
कतिलाई हसाउँछ, किसानलाई रुवाउँछ ।
हो, यसरी नै अचेल ‘असार १५’ आउँछ ।


लेखकको बारेमा
Image
सन्तोष आचार्य

मेचीनगर निवासी पत्रकार सन्तोष आचार्य विचार मञ्ज अनलाइनका सम्पादक पनि हुनुहुन्छ ।