१५ वैशाख २०८१, शनिवार

विचार

चिनेको मानिस

२७ पुष २०८०, शुक्रवार
Image

फोनको घण्टी बज्छ, उठाउँछु । 

उताबाट सोधिन्छ- कहाँ हुनुहुन्छ ? 

जवाफमा भनें–घरमा छु । 

फेरि उताको आवाज–अफिसमा कतिखेर आउनु हुन्छ । 

जवाफमा भनें– आज जाँदिन । 

फेरि उताबाट अनुरोध हुन्छ– एकछिन आउनु न । 

यो धेरै वर्ष पहिलाको कुरा हो । म आवद्ध नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का सदस्यले कर्जा लिन चाहनु भएको रहेछ । वहाँले मसँगै भेटेर कर्जाको कुरा गर्न चाहनु भएको थियो । किनकि म चिनेको मान्छे । धेरैलाई यस्तै लाग्छ चिनेको मानिस भए काम हुन्छ । 

मैले फोन गर्ने सदस्यलाई भने कार्यालयमा गएर कार्यालय प्रमुखलाई भेट्नु न । उनले फेरि थपे उनलाई फोन गर्दिनु है त । मैले हुन्छ भने । तर फोन गर्ने गरेको छुइन । सदस्य कार्यालयमा जानु भयो । कार्यालय प्रमुखले सोधखोज गरे । प्रकृया अगाडि बढ्यो । मैले भन्नु पर्ने, सिफारिस गर्नु पर्ने विषय नै थिएन । नगरेरै पनि काम भइरहेको छ । 

त्यस्तै एक दिन कार्यालयको बाहिर बसिरहेको थिएँ । राखेको पैसा फिर्ता लिन आएका सदस्यले पैसा लिएर जाँदै गर्दा मलाई भेटे । नमस्कारको आदानप्रदान भयो । 

उनले भने–अचेल त अफिसमा चिनेको मान्छे कोही छैनन् । 

मैले सोधें– काम भएन ? 

उनले भने– भयो । 

मैले सोँधे–केही असजिलो, अप्ठ्यारो भयो कि ? उनले भएन भने । 

एकदिन राती दश बजेतिर इजरायलबाट एक जना महिला सदस्यले फोन गर्नुभयो । विषय थियो, बिर्तामोडमा घर बनाउँदै छु अलि पैसा पुगेन । कर्जा चाहिएको छ भन्नुभयो । मैले श्रीमानलाई कार्यालयमा पठाउन भनें । त्यसपछि के भयो मलाई थाहा भएन । फेरि छ महिना पछि उनै महिला सदस्यले फोन गरेर पैसा अलि थपिदिनु प¥यो भन्नु भयो । 

उहाँको भनाई थियो–पहिला लिएको पैसाको किस्ता तिर्दैछु । छेउको घडेरी किन्नु पर्ने भयो अलिकति पैसा थपिदिनु प¥यो दाइ । 

उनको फोन फेरि आएपछि थाहा भयो उनका श्रीमानले सदस्य बनेर कर्जा लिएका रहेछन् । फेरि थप कर्जा चाहिएको रहेछ । मैले कार्यालयमा सम्पर्क गर्न भनें । त्यसपछि के भयो मलाई जानकारी छैन । तर इजरायलमा बसेकी सदस्यले बुझेको कुरा मैले भनिदिएँ, सिफारिस गरिदिएँ र उनको काम फटाफट भयो । 

हाम्रो समाजमा कुनै सार्वजनिक वा निजी निकायबाट काम लिनु प¥यो भने किन चिनेको मान्छे खोज्छ हाम्रो आँखाले, हाम्रो मनले । चिनेको मानिसले सजिलो गरी काम गरिदिन्छ हो ? हो भने यो हाम्रो सामाजिक समस्या हो । 

चिनेको मानिस नै किन खोजिन्छ ? किनकि हाम्रो समाजमा सिस्टमले काम गर्दैन, काम गर्ने पद्धति बसालिएको छैन । सिस्टमले काम गर्ने स्थानमा व्यक्ति गौण कुरा हो । त्यहाँ जो बसे पनि तोकिएको परिभाषित काम गर्ने हो । सेवा लिन को आयो र कसले सेवा लियो भन्ने कुराले केही फरक पर्दैन । त्यस्तै सेवा दिन को बसेको छ, चिनेको मान्छे हो कि होइन भन्ने कुराको कुनै अर्थ हुँदैन । तर जब सिस्टम कमजोर छ, सिस्टमले काम गर्दैन तब चिनेको मान्छे चाहिन्छ । 

अहिलेको नेपालबाट धेरै मानिस विदेश आउने र जाने गरेका छन् । विदेशमा पनि हामीले सार्वजनिक सेवा लिन्छौं । कामको र जिम्मेवारीको दौरान धेरैलाई सेवा दिन्छौं । के त्यहाँ चिनेको मानिस भए राम्रो र सजिलै सेवा पाउने नभए चिनेको मानिस खोज्ने वा कमसल सेवा पाउने भन्ने हुन्छ । हामीले सेवा दिने स्थानमा पनि चिनेको मानिस आयो कि अलि विशेष सेवा दिने र नचिनेकोलाई कम वास्ता गर्ने हुन्छ ? पक्कै हुँदैन । तर नेपालमै सेवा लिन र सेवा दिन किन चिनेको मानिस चाहिन्छ वा खोजिन्छ । 

यो सत्य हो कि चिनेको मानिस भए काम गर्न र गराउन सजिलो हुन्छ । त्यसैले अदालतमा चिनेको मान्छे, सरकारी सेवामा चिनेको मान्छे, सार्वजनिक सेवा दिने निकायमा चिनेको मान्छे, निजी व्यवसायमा पनि चिनेको मान्छे, नेता चिनेको मान्छे, सामान किन्ने र बेच्ने ठाउँमा चिनेको मान्छे, खाजा खाने ठाउँमा चिनेको मान्छे, बास बस्ने होटलमा चिनेको मान्छे, आफ्नै सहकारीको काउन्टरमा चिनेको मान्छे, बैंकमा चिनेको मान्छे, यात्रा गर्दा सवारीमा चिनेको मान्छे, अस्पतालमा चिनेको मान्छे अर्थात जताततै चिनेको मान्छे खोज्ने गरिन्छ । 

मेरो विचारमा यो चिनेको मान्छेलाई विशेष प्राथमिकता दिने, चिनेको मानिस भए सजिलै सेवा पाउने, चिनेको मानिसबाट सस्तोमा सेवा र बस्तु पाउने चलन नै हाम्रो पछौटेपनको चिह्न हो, कारण हो । एउटा सेवा वा वस्तु बेच्न बसेको व्यवसायीका लागि सबै ग्राहक बराबर हुनुपर्ने होइन र ? तर बस्तु वा सेवा बेच्न बसेको मानिस तपाईलाई हो भने यो मूल्यमा दिन्छु भन्छन् । किन ? एउटा बस्तु वा सेवा दिन बसेको जिम्मेवार व्यक्तिका लागि सबै सेवाग्राही बरावर होइनन् र ? सबैलाई स्थापित मान्यता अनुसार सेवा लिन सजिलो बनाउने, समान व्यवहार गर्ने काम नै उचित होइन र ? यसो गर्दा कसैले मलाई अन्याय भयो भन्ने गुनासो गर्ने अवस्था नै आउँदैन थियो । कसैले चिनेको मानिस नै खोज्ने थिएनन् । यस्तो पद्धतिमा किन सबैको विश्वास छैन ? 

हाम्रो समाजमा सेवा दिने मानिसको मानसिकता कस्तो छ भने नियम अनुसार मैले मेरो काम गरें, कर्तव्य पूरा गरें भनेर सन्तुष्ट हुनेभन्दा पनि आपूmले सेवा दिने व्यक्तिलाई म थिएँ र पो सेवा दिएँ, म थिएँ र पो काम गरिदिएँ त भन्ने पारेर जस लिने प्रवृत्ति धेरै हुन्छ । यस्तो जस लिन, इष्ट कमाउन सजिलै गर्नुपर्ने कामलाई पनि अड्काउने, समस्या देखाउने, गर्न नसकिने भान पार्ने र फलानो थियो र पो काम भयो भन्ने भान पारिन्छ । यसबाट जस लिने त छँदैछ यसैको विकसित रुप हो लेनदेनमा काम गर्ने । जब मानिसमा सहजै गरिदिनु पर्ने काममा पनि लाभ लिएर मात्रै काम गरिदिने बानी पर्छ तब लाभ लिने बहाना बनाउन थालिन्छ । लाभ नलिइकन कामै नगर्ने प्रवृत्ति झाङ्गिदै जान्छ । समाज यही रोगले आक्रान्त छ । समाजमा आक्रोश छ । सेवाग्राहीमा आक्रोश छ । 

कतिपय साधारण सेवा लिन पनि भनसुन गर्नु पर्ने, चिनेको मान्छे नै चाहिने । पहुँचवाला नै हुनु पर्ने । पहुँच बनाउन नेताको घर, पार्टी कार्यालय, पहुँचको नजिक धाउनु पर्ने चलन बसेको छ । पहुँच हुनेका लागि नियम मिचेर भए पनि सेवा दिने, पैसा दिनेका लागि नियम नै परिवर्तन गरेर पनि सेवा दिने तर पहुँच बनाउन नसक्ने, चिनेको मानिस नहुनेले नियम अनुसार पाउनु पर्ने सेवा लिन पनि नपाउने, मूल्य चुकाउनु पर्ने, धाउनु पर्ने, चाकडी गर्नु पर्ने चलन बदल्नु पर्छ । शुरुवात आपैmबाट गरौं । 

व्यावसायिक धर्म पालनामा सबै लाग्ने हो भने हामीले नै सभ्य समाज निर्माण गर्न सक्छौं । हाम्रै पालामा सभ्य समाज बनाउन सक्छौं । चिनेको मान्छे भए मात्रै काम गर्ने, काम हुने चलनलाई कायम राख्ने हो भने हामीले सभ्य समाजको चाहना नराखेकै राम्रो । 

पद्धतिको विकास नगरिकन, पद्धतिलाई स्थापित नगरिकन र पद्धतिले स्वतः काम गर्ने सिस्टम नसाउँदासम्म काम गर्नका लागि चिनेको मान्छे भए मात्रै सहज हुन्छ भन्ने भाष्य समाजमा रहिरहन्छ । सभ्य समाजका लागि पद्धतिको विकास र पद्धति अनुसार काम हुने र गर्ने सिस्टमले काम गर्नु पर्छ । यस्तो सिस्टममा जो बसेर काम गरे पनि हुने अवस्था आउँछ । त्यहाँ जो आउँछ, जो बस्छ उसले पद्धति र सिस्टम अनुसार काम गर्ने हो । जब सिस्टमले काम गर्न थाल्छ तब चिनेको मानिस नै चाहिन्छ भन्ने भान हट्दै जान्छ । 

अहिले धेरै जनप्रतिनिधिको गुनासो रहने गरेको छ- कर्मचारीले टेरेनन्, काम गरेनन् । जनप्रतिनिधिदेखि कर्मचारीसम्ममा लागेको बानी हो- चिनेका मानिसको काम गरिदिने र अरुलाई पन्छाउने, टार्ने । काम गरे वापत जस खोज्ने । जस लिन आफूलाई केन्द्र भागमा राख्ने । यो सोचले पद्धतिको विकास हुन दिएको छैन । सिष्टममा बसेर कोही काम गर्न रुचाउँदैनन् । स्थापित पद्धति भत्काएर आफूलाई केन्द्रमा राखेर काम गरिदिने र जस लिने जनप्रतिनिधिको सोचले कर्मचारीसम्म पुग्दा पैसा लिएर मात्रै काम गरिदिने चलन बसालेको छ । 

चिनेको मानिसको काम गरिदिएर सफल हुने सङ्कीर्ण सोचले अन्ततोगत्वा नेता कर्मचारी सबैलाई असफल पार्दै लगेको छ । पद्धति बसाउ, सिस्टम बनाउ, नियम अनुसार पाउनु पर्ने र दिनु पर्ने सेवामा सबैलाई समान व्यवहार गर, चिनेको वा नचिनेको सबैलाई मुस्कान सहितको सेवा दिने गर, समान व्यवहार गर । कसैप्रति कुनै भेदभाव नगरौं । यति गर्न कसले रोकेको छ ? रोकेको छ आफ्नै सोचले, काम गरे वापत जस लिनै पर्ने लोभले । जस पाउने लोभले । 

लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)