२३ भदौ २०८१, आइतवार

झापामा बाढीसँगै हात्तीको त्रास, सर्प र चट्याङको पनि उत्तिकै

१९ असार २०८१, मङ्गलवार
Image

झापा, १८ असार । बर्खा याममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ ।

मेचीनगर वडा नं. १२ की ५२ वर्षीया भीममाया राई दुई दिन अघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किदै गर्दा बाटैमा जंगली हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बीएन्डसी हस्पिटलमा उहाँको उपचार सम्भव नभएपछि हाल भारतको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

“दोकानबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासी आक्रमण गर्यो,” घाइते भीममायाका पति डिल्ली राईले भन्नुभयो–“साँझ विहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।” घाइतेको बाँया खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ ।

जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति लगायतका पालिकाको धेरैजसो वडामा दिनभरि खेतमा काम गर्ने किसानहरु हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिदै बस्नु पर्ने अवस्था छ । 

असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुई वटा हात्तीले टंकप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा पाकेको मकै खाएर क्षति पुर्यायो । बर्खाको बेला खेतको काम छाडेर हात्ती धपाउने श्रेष्ठ लगायत गाउँलेको प्रयास असफल भयो । श्रेष्ठले रु. ५० हजारको मकै केही घण्टामै हात्तीले खाएको बताउनुभयो ।

“राति त हात्तीले पहिल्यैदेखि दुःख दिदै आएको हो, अब दिउँसै खेत खेतमै आउन थालेका छन्,” उहाँले भन्नुभयो–“मानो खाएर मुरी उब्जाउने बेलामा ढुक्कले काम गर्न पनि हात्तीले नदिने भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् ।” डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक बर्षको असार १५ गते सम्ममा हात्ती आक्रमणबाट छ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा चार वटा हात्ती मरेका छन् ।  

हात्ती मात्र होइन, बर्खा याममा किसानहरु बाढी र चट्याङको त्रासदीबाट गुज्रिने गरेका छन् । नदीहरुमा पर्याप्त तटबन्धन नहुनु र भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउनुले मनसुनजन्य विपद्ले वर्षेनी जिल्लामा मानवीय तथा भौतिक क्षति पुर्याउने गरेको छ ।

मेची, निन्दा, बिरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले वर्षेनी ठूलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगरमा परिणत गर्दै आएको छ । पालिकाहरुले दिने जाली र बालुवा भरिएका बोराको भरमा कटान रोक्ने प्रयास सार्थक भइरहेको छैन ।

मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा गत असार ३ गते परेको चट्याङले मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराईलाई बर्खाको सुरुवातमै संकट थपिएको छ । एक हल राँगा किन्न रु डेढ लाख ऋण काढ्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

गौरीगञ्ज र कमल गाउँपालिकामा यही असार १२ गते विहान परेको अलग अलग चट्याङले खेतमा काम गरिरहेका दुई व्यक्तिको मृत्यु भएको छ । एक व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भयो । कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको समेत सोही दिन खेतमा काम गर्न जाँदै गर्दा चट्याङको चपेटामा परेर मृत्यु भएको थियो ।

बर्खा याममा सर्पदंशको समस्या समेत बढ्ने गरेको छ । असार ११ गते बेलुका साढे ५ बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको सोफामा विषालु सर्पले डसेको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भयो ।