९ माघ २०८१, बुधवार

राताम्य श्रीलंका

२ मंसिर २०८१, आइतवार
Image

१. श्रीलंकामा संसदीय चुनावको नतिजा सार्वजनिक भएको छ । बामपन्थी गठबन्धनले कूल २२५ मध्ये १५९ सिट जितेर दुई तिहाई बहुमत हासिल गरेको छ । कम्युनिस्ट दल जेभीपी (जनमुक्ति मोर्चा) बामपन्थी गठबन्धन (नेसनल पिपुल्स पावर)को मुख्य घटक हो । जेभीपीको प्रमुख अनुरा कुमारा देशनायिके हुन् । उनले जेभीपी, गठबन्धन र मुलुक तिनवटै क्षेत्रको नेतृत्व गरिरहेका छन् । पार्टीको झण्डा हसिया हथौडा भएको जेभीपीको आफ्नो चुनाव चिह्न ‘घण्टी’ भए तापनि गठबन्धनको चुनाव चिह्न समयसूचक ‘कम्पास’ रहेको थियो ।  

२. त्यहाँ बामपन्थी राष्ट्रपति निर्वाचित भएको पनि भर्खरै हो । अब प्रधानमन्त्री पनि बामपन्थी नै बन्ने छन् । सरकार पनि बामपन्थीहरुकै बन्ने भएको छ । सभामुख पनि बामपन्थी नै छन् । सेनापति र प्रधान न्यायाधीश पनि बामपन्थी सरकारले नै चयन गर्नेछ । कार्यपालिका र व्यवस्थापिकामा बामपन्थीहरुको एकछत्र राज सुरु हुनेछ । 

३. केही वर्षअघि त्यहाँ भएको भीषण जनविद्रोहको जगमा दुनियाँका लागि यो अनौठो परिदृश्य अहिले श्रीलंकाको राजनीतिमा देखिएको छ । त्यसपछि श्रीलंका स्टायलकै विद्रोह बंगलादेशमा पनि भयो । दुबै विद्रोहले ती देशका मुखिया (कार्यकारी प्रमुख)लाई सत्ताच्यूत मात्र गरेको थिएन, देशबाट भाग्न बाध्य तुल्याएको थियो । नेपालमा पनि कतिपयले ‘श्रीलंका स्टायल’को चर्का स्वरहरु सुनाउन थालिसकेका थिए ।

.४. नेकपा एमाले र नेकपा माओबादी केन्द्रले भन्दा पनि धेरै रक्तपातपूर्ण सशस्त्र आन्दोलनको नेतृत्व श्रीलंकाको प्रमुख बामपन्थी राजनीतिक शक्ति जेभीपी (जनता विमुक्ति पेरामुना)ले गरेको थियो । अहिले यो दल लोकतान्त्रिकरणको मार्गमा समाहित भएको छ । जेभीपी नेता अनुरा कुमारा देशनायिके (राष्ट्रपति)लाई बामपन्थी गठबन्धन (नेसनल पिपुल पावर)लाई दुई तिहाई दिलाउने अभियानको सफल नेतृत्व गरेको श्रेय जान्छ ।

५. श्रीलंकामा दुई तिहाई जनादेश पाउनुका पछाडि इमान्दार एवम् जुझारु कम्युनिस्ट नेता अनुरा कुमारा देशनायिकको क्रान्तिकारी छविले काम गरेको छ । उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लड्न सक्छन् र समृद्धिको नेतृत्व गर्न सक्छन् भनेर जनताले व्यक्त गरेको विश्वास नै अहिलेको चुनावी परिणाम हो । 

६. नेपालमा जनताले त्यस्तै विश्वासका साथ नेपाली देशनायिके (केपी ओली र पुष्पकमल दाहाल) नेतृत्वको बामपन्थी गठबन्धनलाई दुई तिहाई जनादेश पहिले नै दिएका थिए । दुईतिहाई तागतयुक्त नेपालको बामपन्थी गठबन्धन जोगिन सकेन ।

७. नेपालका देशनायिकेहरुले सिक्नु पर्ने पाठ धेरै छन् । नेपालमा अझै पनि गठबन्धन हुने हो भने बामपन्थीहरुकै बाहुल्य हुन्छ । जनताले बामपन्थीहरुलाई भ्रष्टाचारविरुद्ध लड्ने इमान्दार राजनीतिक शक्तिको रुपमा भरोसा गरेका हुन्छन् । नेपालमा संघीय, कतिपय प्रदेश र कतिपय स्थानीय सरकारको नेतृत्व बामपन्थीहरुले नै गरिरहेका छन् । तर, तिनीहरुले जनविश्वासलाई शिरोधार्य गर्न सकिरहेका छन् कि छैनन् ? भ्रष्टाचारविरुद्ध लड्न सकिरहेका छन् कि छैनन् ? जनादेशलाई आत्मसात गरिरहेका छन् कि घात गरिरहेका छन् ? नेपाली जनताले बामपन्थीहरुलाई फेरि पनि दुईतिहाई बहुमत दिनु अघि सरकार चलाइरहेका बामपन्थीहरुले गरेको कामको मूल्यांकन अवश्य खोज्ने छन् । किनकि, श्रीलंकामा जस्तो ‘हामीले सरकार बनायौ भने यसो गर्नेछौ र  उसो गर्नेछौ’ भन्ने छुट अब नेपालका देशनायिकेहरुलाई छैन ।

लेखकको बारेमा
Image
मोहन काजी
(विगत तीन दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील हुनुहुन्छ ।)