१९ मंसिर २०८१, बुधवार

लाल भागिरथाद्वारा पुरस्कृत हुने तीन प्रतिभाको नाम सार्वजनिक

१३ मंसिर २०८१, बिहिवार
Image

मेचीनगर, १३ मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष पुरस्कृत हुने तीन विधाका उत्कृष्ट प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले बिगत पाँच वर्षदेखि सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट राष्ट्रिय प्रतिभा एक जना, कृषि क्षेत्रमा जैविक प्रविधिको सफल प्रयोग गर्ने उत्कृष्ट कृषक एक जना र परिवारमा असल संस्कारको नमुना प्रस्तुत गर्ने गृहिणी एक जनालाई वर्षेनी पुरस्कृत गर्दै आएको छ ।

आज धुलाबारीमा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले पुरस्कृत हुने तीनै जना प्रतिभाहरुको नाम सार्वजनिक गर्नुभयो ।

मेचीनगर वडा नं. ५ की अनिताकुमारी कार्कीलाई लाल भागिरथा उत्कृष्ट कृषक पुरस्कार, मेचीनगर वडा नंं ७ का देबेन्द्रकुमार खरेल (देवेन खरेल)लाई लाल भागिरथा राष्ट्रिय प्रतिभा पुरस्कार र बुद्धशान्ति वडा नं. की रेणुका सङ्ग्रौला चापागाई लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गरिने प्रतिष्ठनका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

तीन वटै पुरस्कारको नगदराशी रु. ३१ हजार रहेको छ । यही मंसिर २० गते लाल भागिरथा बानियाँ प्रतिष्ठानको छैठौं वार्षिकोत्सवका अवसरमा मेचीनगर वडा नं. ११ मा एक समारोहबीच उहाँहरुलाई पुरस्कृत गरिने भएको छ ।

को हो अनिताकुमारी कार्की ?

मेचीनगर नगरपालिका वडा नं. ५ आदर्श टोल निवासी ५७ वर्षीया कार्की शिक्षण पेशाबाट निवृत्त मेचीनगर क्षेत्रकै नमुना कृषक हुनुहुन्छ । उहाँले परम्परागत रुपमा हुँदै आएको निर्वाहमुखी करेसाबारीलाई व्यावसायिक कृषिमा रुपान्तरण गरेर निवृत्त जीवनको सदुपयोग गर्नुभएको छ । पिता पदमबहादुर राउत र माता स्व. रुकमिणी राउतको सुपुत्री उहाँको जन्म वि.सं. २०२४ चैत १० गते उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नं. २ नौलेमा भएको थियो । आईएड तहको औपचारिक शिक्षा हासिल गर्नु भएको उहाँले मेचीनगर–५ को बालकल्याण माध्यमिक विद्यालयमा ३० वर्ष शिक्षण पेशा गर्नु भयो । अग्र्यानिक तरकारी उत्पादनमा विशेष रुचि राख्नु हुने उहाँले आफ्नो ५ कठ्ठा करेसाबारीमा ओडब्ल्यूडीसी प्रविधिबाट जैविक मल प्रयोग गरी दर्जनौं प्रकारका तरकारी, फलफूल र अन्न खेती गर्नु भएको छ । उहाँले अर्गानिक खेतीका लागि सिकेको शिप आफ्ना वरपरका कृषकहरुलाई समेत सिकाउने गर्नुभएको छ ।


को हो देबेन्द्रकुमार खरेल ?

मेचीनगर नगरपालिका वडा नं. ७ काँकरभिट्टा निवासी ५१ वर्षीय देबेन्द्रकुमार खरेलको जन्म वि.सं. २०३२ असार १ गते भयो । उहाँको आमा मैयादेवी खरेल र वुवार पुण्यप्रसाद खरेल हुनुहुन्छ । देबेन्द्रकुमार खरेल मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष हुनुहुन्छ । उहाँ वाइल्डलाइफ फोटोग्राफर, फोटो पत्रकार र संरक्षणकर्मीको रुपमा प्रख्यात हुनुहुन्छ । उहाँले ३४० प्रकारका चराको खोज र ४७७ प्रकारका चराको तस्वीर खिचिसक्नु भएको छ । वि.सं. २०७७ मंसिर ९ गते उहाँले मेचीनगर वडा नं. ७ मा नेपालमै पहिलोपल्ट हरित परेवा (ग्रीन इम्पेरियल पिजन) नामको चरा फेला पारेर त्यसको तस्वीर तथा भिडियो खिच्नु भएको थियो । वि.संं २०७८ पुस ६ गते इलामको सूर्योदय नगरपालिकामा हङरायो (रुफस नेक्ड हर्नबिल) नामक दुर्लभ चरा फेला पारेर तस्वीर र भिडियो खिच्नु भएको थियो । नेपालबाट लोप भइसकेको घोषणा गरिएको उक्त चरा नेपाली लोककथनको रुपमा जीवित रहेको सुनेर उहाँले त्यसको ऐतिहासिक खोज गर्नु भएको थियो । जसको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत प्रकाशित भएको थियो । वि.सं. २०७६ साउन १० गते इलामको रोङमा उहाँले रातो ढाँडे पुष्पकोकिल (स्कारलेट ब्ल्याक फ्लावरपिकर) नामक चराको तस्वीर खिचेर उक्त चराको फोटो खिच्ने पहिलो नेपाली फोटोग्राफरको कीर्तिमान राख्नु भएको थियो । उहाँले मेचीनगर र रोङ पालिकालाई चरा पर्यटनको माध्यमबाट चिनाउने अभियान सञ्चालन गरिरहनु भएको छ ।


को हो रेणुका संग्रौला चापागाई ?

आफ्ना सन्तानको पालनपोषण गर्ने, ज्येष्ठ अग्रजहरुको स्याहार, उपचार र संरक्षण गर्ने नेपालीहरुको परम्परा र संस्कार विश्वमै उदाहरणीय मानिन्छ । नेपाली समाजमा छोरीहरु अर्काको घरमा जाने र वुहारीहरु भित्रिने चलन छ । वृद्धावस्थाका सासु दिलकुमारी चापागाई र ससुरा शिवलाल चापागाईको नियमित उपचार र हेरचाहमा समर्पित ४३ वर्षीया बुहारी रेणुका बुद्धशान्ति वडा नं. ५ निवासी हुनुहुन्छ । उहाँको ससुरा र सासु दुबै जना क्यान्सरको उपचार गराइरहनु भएको छ भने छोरा सौरभ शारीरिक अशक्त हुनुहुन्छ । पति केदारनाथ चापागाई वैदेशिक रोजगारीमा लामो समय रहनुहँुदा रेणुकाले शारीरिक अशक्त छोरा र सासुससुराको उपचार र हेरचाहमा कहिल्यै कमी हुन दिनु भएन । छोरीसरह बनेर सासु र ससुराको स्याहार गरेको देखेर उहाँलाई छरछिमेकीहरुले अत्यन्त धेरै श्रद्धा गर्छन् । शिवसताक्षी वडा नं. १० उहाँको माइती हो । उहाँको वुवा स्व. छविलाल संग्रौला र आमा टंकमाया संग्रौला हुनुहुन्छ । उहाँको जन्म वि.सं. २०३८ फागुन २६ गते भएको हो । उहाँले एसएलसी उत्तीर्ण गर्नु भएको छ ।

दश लाखको अक्षयकोष र अध्यक्षद्वारा घरजग्गा दान

मेचीनगर वडा नं. ११ बानियाँ गाउँमा प्रधान कार्यालय रहेको सामाजिक संस्था हो । यसको स्थापना वि.संं २०७६ सालमा शिक्षासेवी हरिचरण बानियाँको पहलमा उहाँका दाजुभाइ र परिवारद्वारा भएको हो । प्रतिष्ठान सञ्चालनका लागि संस्थापक अध्यक्ष हरिचरण बानियाँले आफु बसिरहेको घर र जग्गा प्रतिष्ठानलाई दिने घोषणा गरिसक्नु भएको छ भने यसले प्रदान गर्दै आएको विभिन्न प्रतिष्ठित पुरस्कार एवम् सम्मानका लागि रु. १० लाखको अक्षय कोष रहेको छ ।

आफ्नो उर्वर उमेर समाज र परिवारको सुख, शान्ति र समृद्धिका लागि व्यतित गर्नु भएको अनुभव र इतिहासका स्रोत रहनु भएको ज्येष्ठ नागरिकहरुलाई समेत प्रतिष्ठानले वर्षेनी सम्मान अर्पण गर्दै आएको छ । आँखा शिविर, अर्गानिक कृषि तालिम लगायतका विभिन्न गतिविधि प्रतिष्ठानले गर्दै आएको छ । 

मंसिर २० गते आयोजना हुने पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीता अधिकारी प्रमुख अतिथि रहनु हुने अध्यक्ष बानियाँले बताउनुभयो ।