९ पुष २०८१, मङ्गलवार

झापा कप ः आज चर्च ब्वाइज र एनआरटी भिड्दै

८ पुष २०८१, सोमवार
Image

झापा, ८ पुस ः बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी)बीच प्रतिष्पर्धा हुने भएको छ ।

दुबै टिमले आइतबार खेलमैदान डोमालाल रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा उपाधि जित्ने दाबी गरेका छन् । 

झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो भने इटहरीको राष्ट्रिय जागृतिलाई टाइब्रेकरमा पछि पार्दै एनआरटी क्लव फाइनल पुगेको हो ।

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गर्नुभयो । बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, एनआरटीका प्रशिक्षक जीवन सिंकेमानाले उपाधि जित्ने दाबी गर्दै आफ्नो टिम सन्तुलित रहेको रहेकाले बलियो रहेको बताउनुभयो ।

गत वर्ष फागुनमा भएको छैटौँ झापा गोल्डकपमा चर्च ब्वाइजले बाइमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो । छैटौँ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज यही मंसिर अन्तिम साता इलाम गोल्डकपमा एनआरटीसँग फाइनलमा पराजित भएको थियो । 

चर्च ब्वाइज बी डिभिजन जितेर ए डिभिजन च्याम्पियन बनेको ललितपुरको टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँचपटक शीर्ष लिग जितेको छ ।

प्रिम्याच कन्फ्रेन्समा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा कपका विषयमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । 

आयोजक झापा–११ सहित भारतको जीटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

झापा कपको विजेता टोलीले नगद रु. १० लाख तथा उपविजेताले नगद रु. पाँच लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।